स्याङ्जा/ आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छोडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ३७ पोका भुरा ल्याएर आँधीखोलाको विभिन्न १० ठाउँमा छोडेको हो ।
माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताए ।
नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुने उनाउँदै पौडेलले जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व नहुने बताए ।
जलारी समुदायको जीवनयापनको आधार भएको माछा भएको र यसको लागि उत्पादन संरक्षणमा गाउँपालिकाले विशेष चासो दिएको पालिका उपाध्यक्ष शर्मिला पौडेलले बताइन् ।
खोलामा साना भुरा छोड्दा बकुल्लो लगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढि रहेकाले १५ देखि २५ ग्रामका माछा छोडिएको हो । खोलामा हेडे २५ हजार, गर्दी २५ हजार, ठेड २५ हजार र सहर जातका २५ हजार गरी एक लाख माछा खोलामा छाडिएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत रोशन लामिछानेले बताए ।
यस्तै पालिकाले अर्को सुचना नभए सम्म खोलामा जाल हान्ने, ढडिया थाप्ने, करेण्ट लगाउने, विषादी हाल्ने जस्ता कुनै पनि तरिकाले आँधीखोलामा माछा मार्नसमेत बन्द गरेको जनाएको छ ।





