शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीको रघुगंगा बाल श्रममुक्त गाउँपालिका

म्याग्दीको रघुगंगा बाल श्रममुक्त गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७८, मंगलबार

म्याग्दी/म्याग्दीको रघुगंगा गाउँपालिकाका सबै वडा बालश्रममुक्त वडा घोषणा गरिएको छ । सबै प्रकारका बालश्रमिकको अवस्था पहिचान गरी शून्यमा झारेर बालश्रममुक्त घोषणा गर्ने अभियान अन्तरगत वडा नं २ भगवतीलाई घोषणा गरे संगै ८ वटै वडालाई घोषणा गरिएको हो ।

बालश्रममुक्त गाउँपालिका बनाउनका लागि स्थलगत सर्वे, बालश्रमिको तथ्यांक संकलन तथा सम्भावित जोखिममा रहेका बालबाकिलाको पहिचानसहित विभिन्न प्रकारका चेतनामुलक अभियान सञ्चालन गरिएपछि वडा नं. १ बेगखोलाबाट अभियान सुरू गरिएको थियो ।

स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिवद्धता जनाएर बालश्रममुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । ‘पालिकाभित्र कुनैप्रकारको बालश्रमिक छैनन् । जोखिममा रहेका बालबालिकाको पहिचान भइसकेको छ,’ उनले भने ।

उनले ८ वटै वडामा १ सय ५० जना जोखिममा रहेका बालबालिकाको पहिचान गरी सहयोग गरिएको बताए । ‘बालश्रमिक भेटिए गाउँपालिकाले आवश्यक संरक्षण गर्छ । यो घोषणासँगै विभिन्न कार्यक्रमहरु समुदायस्तरमै पुग्छ,’ गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने । उनले जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको र उनीहरुका अभिभावकहरुलाई दीगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको बताए ।

बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान अनुसार सबै वडाहरुलाई बालश्रममुक्त घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बताइन् । उनले सबै वडाहरु बालश्रममुक्त घोषणा भएकाले आगामी दिनमा घोषणाको व्यवहारिक कार्यान्वयनमा समेत लाग्न सबै सरोकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिइन् ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख सावित्रा सुवेदीले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको बताइन् ।

विपन्न भएका कारण बालश्रमिक हुनपुगेका बालबालिकालाई निशुल्क भर्ना अभियान सहित शैक्षिक अभिभावकत्व समेत ग्रहण गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।

नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको अन्तिममा छनोटमा परेको थियो । नेपाल सरकारले सुरू गरेको बालश्रमिक मुक्त अभियान अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका गत आवको २० पालिकामा छनोटमा परेको थियो । यो अभियानसँगै रघुगंगा म्याग्दीको पहिलो बालश्रम मुक्त पालिका भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->