बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भिमादको मोहोरियामा घरघरै धारा

भिमादको मोहोरियामा घरघरै धारा


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७८, आइतबार

तनहुँ/ भिमाद नगरपालिका ९, मोहोरियाकी रुञ्चीमाया रानासँग आधा रातमा राँको बालेर पानी खोज्दै कुवाँ धाएको लामो अनुभव छ । परिवारका सदस्य र वस्तुभाउलाई गाग्रीमा पानी बोकेर पु¥याउन मुस्किल थियो उनलाई ।
हरेक दिन खानेपानीको जोहोमा सास्ती भोगेकी ६५ वर्षीया रानाको घरको दैलोमा खानेपानीको धारा जोडिएको छ अहिले । दैलोमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ उनलाई । पहिले भोगेका दुख बिर्साउँछ दैलोको धाराले ।
‘ऊबेला बिहान ३ बजे उठेर राँको बाल्दै कुवाँमा पानी भर्न जान्थ्यौँ । पालो कुरेर बस्थ्यौँ । अहिले घरमा खानेपानीको धारा देख्दा सपना जस्तै लाग्छ । यस्तो दिन आउँला भनेर कहिल्यै सोचिएन्,’ उनले भनिन् ।

उनको अनुभवमा महिलालाई घरमै पानीको धारा पाएपछि त्यो भन्दा सुख केही हुदो रहनेछ । घाँसदाउरा, ढिकीजाँतो र खानेपानी बोक्दा धेरै दुख भोगेको उनले बताइन् । पानीको जोहोमा घन्टौं बिताउनु नपर्ने भएकाले दैलोमा भएको खानेपानी धाराले दुख बिर्साएको रुञ्चीमायाले बताइन् ।

उनलाई जस्तै खानेपानीको जोहो गर्न सजिलो भएको छ मोहोरियावासीलाई । यहाँका प्रत्येक घर घरै खानेपानीको धारा जडान गरिएको छ । कुवाँ पधेरो र खोल्सीमा पानी खोज्दै धाउने बाध्यताको अन्त्य त २०६५ सालमा गर्न खोजिएको थियो । त्यतिबेला स्याङजाको राम्चेबाट खानेपानी ल्याएर गाउँका १० घर बराबर एउटा घारा जडान गरिएको थियो ।

बिहानको समयमा मात्र आउने पानीले गाउँलेको मागलाई भरथेग गर्न मुस्किल हुन्थ्यो । स्थानीयको भनाइअनुसार पानीको धारा त ‘कलह धारा’ बन्यो । ‘टोल टोलमा धारा भएपनि विहानको समयमा मात्रै पानी आउँथ्यो । पर्याप्त नहुने भएकाले लाइन कुरेर नबसे पानी नपाउने समस्या थियो’ मोहोरिया पिपलडाँडाकी देवीमाया रानाले भनिन् ।

उनका अनुसार अहिले घर घरै धारा भएपछि न पालो कुर्नुपर्ने झन्झट छ न त कसैसँग पानीको विषयमा झगडा नै हुन्छ । ‘जति बेला चाहियो उतिबेला घरकै धारा खोलेर पानी भर्न पाईएछ । पानी भर्नलाई पालो पर्खन नपरेपछि घरधन्दा बेलामै सकिदो रहेछ’, उनले सुनाइन् ।

एक ग्रागी पानीले दिन कटाएकी देवीमायाले चाहे जति पानी पाएकी छन् । घरकै धारामा प्रशस्त पानी आउन थालेपछि गाउँलेले तरकारी फलाउन थालेको उनले बताइन् ।
पुरानै राम्चेको मुलबाट ल्याएको नयाँ योजनाको पानीले गाउँलेलाई रहात दिलाएको छ । ५.५ किलोमिटर टाढाबाट ल्याएको पानी प्रशस्त पुगेको उपभोक्ताहरु बताउँछन् । पानीको मुल नजिक पुरानो २० घनमिटरको ट्यांकीलाई मोहोरिया खानेपानी योजनाले प्रयोग गरेको छ ।

नौ र दुई घनमिटरको दुई/दुई वटा, छ र पाँच घनमिटरको एक÷एक वटा नयाँ ट्यांकी बनाएर ११२ घरमा घरघरै खानेपानी धारा जडान गरिएको छ । तीन स्थानमा सार्वजनिक धारा जडान गरिएको मोहोरिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवीनकुमार रानाले बताए ।

रानाका अनुसार ४८ लाख ७१ हजार १२५ रुपैयाँ लगानी गरेर घरघरै खानेपानीको धारा पु¥याईएको हो । एक घर एक धारा जडान गर्न मोहोरियावासीले स्थानीय सरकारले भन्दा बढी लगानी गरेका छन् ।
भिमाद नगरपालिकाले १७ लाख ४० हजार ६८ रुपैयाँ बजेट खानेपानी योजनालाई उपलब्ध गराएको अध्यक्ष रानाले जानकारी दिए । स्थानीय उपभोक्ताले घरधुरीका हिसाबले संकलन गरेर २५ लाख ७७ हजार ३५७ रुपैयाँ लगानी गरेका छन् ।

घरधुरी उठाएको रकमले अपुग भएपछि पाँच लाख ५३ हजार ७०० रुपैयाँ बराबरको जनश्रमदान समेत गरेको अध्यक्ष रानाले बताए । ‘हामीलाई घरघरै पानीको धारा आवश्यकता थियो । नगरपालिकाले बजेट छुट्याइदिएपछि त्यो भन्दा बढी हामीले नै लगानी ग¥यौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->