शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पढाइमा बाधक बन्यो गरिबी

पढाइमा बाधक बन्यो गरिबी


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७८, बुधबार

म्याग्दी/बेनी नगरपालिका४,सिंगा (रादिकुलो) कि सोनी थापा चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन्। स्थानीय धौलागिरि माविमा कक्षा ६ मा अध्ययनरत थापा परीक्षामा उच्च अंकका साथ विद्यालयमै सर्वोत्कृष्ट घोषित भइन् ।
१२ वर्षीया सोनी कक्षा एकदेखि प्रथम हुँदै आएकी छन् । यस वर्षको प्रथम त्रैमासिक परीक्षामा उनले ३.५जिपिए ल्याएर पुरस्कृतसमेत भइन् । विद्यालय भर्ना भएको पहिलोवर्षदेखि नै कक्षामा सधैं प्रथम भएर आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएकी छन् ।
तरउनै जेहन्दार, अध्ययनशील र अनुशासित थापाको घरमा पढ्ने उचित वातावरण नै छैन।सुकुम्बासी जीवन बिताइरहेका थापा परिवारको नियमित कमाइ छैन । यसले छोरीको पढाइ खर्च त परको कुरा, बिहानबेलुकी हातमुख जोड्न समेत धौधौ पर्ने गरेको छ ।
परिवारमा हुने हरेकदिनजस्तो घर झगडाले पनि थापाको पढाइमा समस्या भइरहेको छ । आमाले मजदुरीबाट कमाएको पैसासमेत बुबाले खोसेर रक्सीमा उडाउने गरेको आरोप छ । सम्पत्तिको नाममा एक टुक्रा जमिनसमेत छैन । प्रयोगविहीन अवस्थामा रहेको पुरानो एकतले ढुंगाको घरमा अहिले उनीहरुको बास छ । त्यही घर पनि झरी पर्दा चुहिन्छ । जाडोमा सिरेटो पस्छ ।
दुईछाक पेटभरि खान नपाउने,विद्यालय जाने कपीकलम,पोशाककोअभावले छटपटिएकी सोनीले आफू विद्यालयबाट प्राप्त पुरस्कार,सहयोगबाटै अध्ययनलाई निरन्तरता दिएको सोनीकी आमा पूर्णकली थापामगरले बताइन्।‘श्रीमानलाई रक्सीबाहेक केही चाहिँदैन । मैले कमाउन नसक्दा भोकभोकै सुत्छौं,’ उनले भनिन् ।
थापाले गरिबीकै कारण ३ छोरीले बीचमै पढाइ छोडेर बिहे गरेको र एक छोरालाई मुस्ताङमा निशुल्क पढ्ने व्यवस्था मिलाइदिएकाले सहज भएको बताइन् ।‘एउटा छोरीलाई स्कुलमा लाग्ने खर्च जुटाउन समेत सकेको छैन । पढाइ राम्रो भएकाले धेरै चिन्ता लाग्छ,’ भावुक भइन्, ‘अरू छोरीले सात कक्षाभन्दा माथि पढ्न सकेनन ।’
कान्छी छोरीलाई उच्च शिक्षासम्मको पढाइका लागि थापाले सहयोगको याचना समेत गरिन् । यता विद्यालयका शिक्षक खोमनाथ पौडेलले पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुँदै जाने बताए । बिदाको दिनमा पनि धेरै समय पठनपाठनमै ध्यान दिने गरेको पाइएकाले अतिरिक्त कक्षासहित उपयुक्त रेखदेख भएमा मावि तहमा जिल्लामै राम्रो नतिजा ल्याउन सक्ने शिक्षक पौडेलको भनाइछ ।
शिक्षक पौडेलकै पहलमा बेनीस्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाले पोशाक, न्यानो कपडा र झोला सहयोग गरेको थियो ।छिमेकी एवं धौलागिरि मावि व्यवस्थापन समितिका अध्यक्ष भगवान खड्काले बालिका विद्यालयकै नमुना विद्यार्थी भएको बताए।‘अभावै–अभाव भएपनि सधैं विद्यालयमा जान्छिन् । आमाबुबा बीचको झगडा र मनमुटावले समेत समस्या भइरहेको छ,’उनलेभने ।
उनले विद्यालय समय बाहेक समयतालिका बनाएर अध्ययन गर्ने सोनीको मेहनतबाट दंग परेको बताए।गरिबको घरबाट जन्मिएको डाक्टर भएको हेर्ने चाहना रहेकाले सहयोग अभियान सञ्चालन गर्नुपर्ने बताए । गरिबी र घरायसी अवस्थाका कारण बालिकाको शिक्षादिक्षामा गम्भीर असर गरेकाले उनलाई गरेको सहयोग खेर नजाने बताए ।
हेरचाह, पालनपोषण र शिक्षामा सरोकारवाला निकायबाट सहयोगको अपेक्षा गरिएको छ । स्थानीय युवा नेता समेत रहेका खड्काको पहलमा छोरालाई मुस्ताङको प्राविधिक शिक्षालयमा निशुल्क पढ्ने व्यवस्था मिलाइएको छ । जाडो महिना गतिलो कपडा, राति ओढ्ने÷ओछ्याउनेसमेत नहुँदा समस्या छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->