बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

वडाबाटै योजना सम्झौता

वडाबाटै योजना सम्झौता


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७८, सोमबार

तनहुँ/पहिलो पटक नगरपालिकाका कर्मचारी शुक्लागण्डकी नगरपालिका–१० को वडा कार्यालयमा पुगेर योजना सम्झौता गरेका छन् । प्रशासन शाखा, योजना शाखा, नगरका प्राविधिक र बैंकका प्रतिनिधि वडामै पुगेर योजना सम्झौता गरेका हुन् ।
वडाबासीलाई योजना सम्झौता गर्न नगरपालिकाको केन्द्रमै धाउनुपर्ने परिपाटीको अन्त्य गर्न वडा कार्यालयमै पुगेर योजना सम्झौता गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए । यसरी वडा कार्यालयबाट योजना सम्झौता हुदाँ योजना कार्यन्वयनमा सहज हुने उनले बताए ।
‘नगरपालिकाको कार्यालयबाट नियमित योजना सम्झौता भईरहन्छ । यसपाली नगरपालिकामा वार्षिक कार्यक्रम कार्यन्वयन पुस्तिका बनाएर काम गरिएको छ । पुस्तिकामा कुन योजना कहिलेसम्म सम्पन्न गर्ने भनेर तोकिएको छ । वडामै गएर योजना सम्झौता गर्दा हामीलाई पनि लक्ष्य अनुसार योजना सम्पन्न गर्नलाई सजिलो हुन्छ,’ उनले भने । वडाबासीलाई नगरपालिकाको केन्द्रमा पुग्नपर्ने झन्झट पनि हट्ने लम्सालले बताए ।
असारे विकासलाई रोक्न वार्षिक कार्यक्रम कार्यन्वयन पुस्तिका तयार पारेर काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘कुन योजना कहिले, कसरी, कहाँ, कस्का लागि गर्ने भनेर पुस्तिकामा उल्लेख छ । योजनाबद्ध तरिकाले काम हुन्छ । कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउँछ । पूँजीगत खर्चको गति पनि बढाउँछ । अर्थतन्त्रलाई चलायमान बनाउँछ । तोकिएकै मितीमा काम हुदाँ प्रभावकारिता बढ्छ’, न्यौपानेले भने ।
जनतालाई नगरपालिका कार्यालयको शाखा शाखामा र बैंकमा भौतारिँदाको सास्ती हटाउनलाई वडामै गएर योजना सम्झौता गर्न थालेको उनले बताए । नगरपालिकाको केन्द्र दुलेगौँडाबाट टाढा पर्ने वडा नम्बर १, १०, ११ र १२ को वडा कार्यालयमै पुगेर योजना सम्झौता गरिने उनले जानकारी दिए । नियमित रुपमा भने नगरपालिकाको कार्यालयबाट योजना सम्झौता भईरहेको छ ।
वडा कार्यालयमै योजना सम्झौता गर्न नगरपालिका आएपछि सेवाग्राहीलाई रहात मिल्यो । शुक्लागण्डकी १० मा एकैदिन १८ वटा योजना सम्झौता भएको वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार चालु बर्षमा वडाले ३८ योजना सञ्चालन गर्दैछ । यसअगाडी पनि नगरपालिकामा पुगेर सम्झौता भएर केही योजनाको काम सुरु भईसकेको उनले बताए । वडामै नगरपालिका आएर योजना सम्झौता गर्दा उपभोक्ताले संघियताको मर्म अनुसार सिंहदरबारको अधिकार गाउँमै आएको महशुस गर्न पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->