शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाँझो जमिनमा तितेपाती खेती

बाँझो जमिनमा तितेपाती खेती


  • ढोरपाटन संबाददाता
  • माघ ५ २०७८, बुधबार

स्याङ्जा/ धार्मिक र औषधीका रुपमा प्रयोग हुने तितेपाती स्याङ्जामा व्यवसायिक रुपले खेती गरिएको छ । खेतबारी लगायत जताततै त्यसै उम्रने तितेपातीको व्यवसायिकताको थाहा नपाएर खेर गइरहेका बेला स्याङ्जामा एक महिलाले यसलाई व्यवसायिक खेती गरेकी हुन् ।
पुतलीबजार नगरपालिका १४, आमडाँडाकी सुनिता क्षेत्रीले अहिले जापनिज जातको तितेपाती खेतबारीमा लगाएकी हुन् । कोरोनाको कारण क्षेत्रीले सञ्चालन गरेको हस्तकला व्यवसाय बन्द भएपछि बाँझो जमिनमा तितेपाती खेती गरेकी हुन् । ‘बजारको ग्यारेन्टी पाएपछि बाँझो जमिनमा तितेपाती खेती सुरु गरेकी हुँ,’ क्षेत्रीले भनिन् ।

बाँदरले लगाएको बालीनाली नष्ट गरेपछि खेती गर्न छाडेको जमिनको सदुपयोग गरेको महिला उद्यमी क्षेत्रीले बताइन् । विभिन्न जिल्लामा तालिम दिएर धेरै महिलालाई उद्यमी बनाउन सफलता हासिल गरेकी क्षेत्रीले तितोपाती खेतीलाई व्यवसायिक बनाउने अभियानमा जुटेको बताइन् । ‘बाँदरको समस्याले गर्दा खेतबारी बाँजो राख्न बाध्य भएको छ,’ उनले भनिन्, ‘तितेपातीको बिक्रि गर्ने जिम्मेवारी काठमाडौंस्थित कम्पनीले लिएको छ ।’

खेतबारी बाँजो राख्न भन्दा यसबाट आम्दानी हुन्छ भने किन नलाउने भनेर खेती गरेको क्षेत्रीले बताइन् । अहिले १० रोपनी जमिनमा तितेपाती लगाएको बताउँदै क्षेत्रीले आयुर्वेदिक औषधीका रुपमा प्रयोग हुने तितेपाती लगाएको दुई दुई महिनामा काट्न मिल्ने बताइन् ।
तितोपातीको धुलो बनाएर जापान पठाउने गरिएको बताउँदै क्षेत्रीले स्याङ्जाका बाँदर पीडित किसानका लागि यो तितेपातीको खेती उत्तम भएको सुनाइन् । नेपालमा पाइनेभन्दा अलि चाम्रो र पातीको पछाडिको भाग सेतो रङको रहेको र सुकाएको तितेपाती ५० रुपैयाँ किलोमा बिक्रि भएको क्षेत्रीले सुनाइन् ।

चुरा, पोतेको डिजाइन बनाउन महिलाहरुलाई तालिम दिने उद्यमी महिलाले तितेपाती लगाएकोमा छिमेकीहरु पनि दंग परेका छन् । युवा प्रतिभा पुरस्कार २०७७ बाट गण्डकी प्रदेशबाट उत्कृष्ट छनोट पर्न सफल क्षेत्रीले महिलालाई उद्यमी बनाउन सके मात्रै समृद्धि हुने दाबी गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->