तनहुँ/ तनहुँमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएकालाई बुधबारदेखि बुस्टर खोप दिन थालेको स्वास्थ्य कार्यालय तनहुँका सुचना अधिकारी शंकरबाबु अधिकारीले बताए ।
बुधबार पहिलो दिन १ सय ३२ जनालाई बुस्टर खोप लगाइएको उनले जानकारी दिए । स्थानीय तहको स्वास्थ्य शाखा मार्फत नै बुस्टर खोप अभियान चलाइएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंससेविका, सुरक्षाकर्मी, जनप्रतिनिधि, एम्बुलेन्स चालक, सञ्चारकर्मी लगायतलाई बुस्टर खोप दिदैछौं,’ उनले भने ।
पूर्ण मात्राको खोप लगाएकालाई बुस्टरका रुपमा तेस्रो खोप लगाइने उनले जानकारी दिए । अधिकारीका अनुसार अबदेखि बुस्टर खोपलाई निरन्तरता दिइनेछ । जिल्लामा एक लाख ७० हजार १७० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
६८ हजार ८६० जनाले पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको पर्खाइमा छन् । ३१ हजार ७६८ जना बालबालिकाले मोर्डना खोप लगाएको तथ्यांक छ । ३६ हजार ९५५ जनालाई मोर्डना खोप लगाउने लक्ष्य थियो ।
यस्तै जिल्लामा कोरोना संक्रमणको ग्राफ दैनिक उकालो चढ्दो छ । बुधबारमात्रै एकै दिन ८३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २३० जनाको कोरोना परीक्षण गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यासको कोभिड अस्पतालको ल्याबमा गरिएको पिसीआर परीक्षणबाट चार जना संक्रमित थपिएका हुन् । एन्टिजेनबाट ४५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । ३४ जना पोखरामा भएको परिक्षणमा संक्रमित पहिचान भएका हुन् ।
योसहित तनहुँमा २ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो लहर सुरु भएपछि तनहुँमा पाँच हजार ५ सय ५५ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको छ । पाँच हजार २ सय ५१ जनाले कोरोनालाई परास्त गरेका छन् । १३० जनाको बैशाखयता कोरोना संक्रमणले ज्यान लिएको छ ।





