बेनी/ म्याग्दी जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ । जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलनको घोषणा गरिए पनि यसवर्ष जिल्लामा ६ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । ६९ औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा गतवर्षका नियमित औषधि सेवन गर्ने ३ र यसवर्ष नयाँ ६ जना गरी ९ जना कुष्ठरोगी पहिचान गरिएको स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले बताए ।
जिल्लामा हाल औषधी सेवन गरेका रोगीमा बेनी नगरपालिकामा ३ जना, रघुगंगा गाउँपालिका १ जना, मालिका गापा १ जना र अन्नपूर्ण गापा १ जना रहेका छन् । गत आवमा १ भन्दा बढी कुष्ठरोगी भएको देशैभरका ११ जिल्लामा म्याग्दी समेत परेको छ । ‘नयाँ रोगी भेटिएकाले म्याग्दीमा अझै यो रोग हट्न सकेको छैन,रोग लुकाउनेहरू अन्तिम समयमा उपचारका लागि आउने गरेकाले समस्या भइरहेको छ’ सुवेदीले भने । उनले म्याग्दीमा भेटिएका रोगीको संख्या जनसंख्याको आधारमा गण्डकी प्रदेशमा भित्र कुष्ठरोगका धेरै विरामी भएको जिल्लासमेत भएको बताए ।गण्डकी प्रदेशमा १० हजार जनसंख्यामध्ये उपचारमा रहेका जिल्लामा सबैभन्दा धेरै १ दशमलव १८ रहेकोे तथ्याङ्कले देखाएको छ ।
त्यस्तै गण्डकी प्रदेशमै प्रति १ लाख जनसंख्यामा पत्ता लागेको नयाँ बिरामी दरमा म्याग्दी ६ दशमलव ३३ छ। म्याग्दीका प्रमुख एकनारायण लम्सालले १ प्रतिशतभन्दा माथि कुष्ठरोगी भएको जिल्लालाई जोखिममा राखिएको बताए ।‘जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ,नयाँ बिरामीहरू भेटिनुले समाजबाट बहिष्कृत हुने डरले लुकेर बसेको हुनसक्छ’, प्रमुख लम्सालले भने ।उनले प्रत्यक्ष उपचार नगराएसम्म रोग निको नहुने भएकाले कुष्ठरोगीलाई स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गरेका छन् ।
समाजमा बहिष्कृत हुने त्रासले अझै ग्रामीण क्षेत्रमा रोग लुकाउने गरिएको बताउँदै जिल्लाका सबै स्थानीय तहमार्फत कुष्ठरोगबारे जनचेतनामुलक कार्यक्रमसहितका अभियान सञ्चालन गरिने प्रमुख लम्सालले बताए । कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको स्वास्थ्यकर्मीको भनाई छ । माईकोव्याक्टचोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको औषधि उपचार निशुल्क रहेको छ। कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् । यसैबीच जिल्ला गतबष्र्र एडिस जातको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुका २ सय, यसवर्ष ४० जना बिरामी र किर्नाबाट सर्ने स्क्रब टाइफस परजीविको संक्रमणबाट गतबर्ष ५० जना र यसबर्ष १४ जना पोजेटिभको उपचार गरिएको छ ।





