पोखरा/ पोखरामा लामो समयदेखि व्यवसाय गर्दै आएका भारतीय नागरिक अचेत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका ७ मा प्रकाश फर्निचर संचालन गर्दै आइरहेका प्रकाश चौधरी उनकै फर्निचर पसलमा अचेत अवस्थामा भेटिएका हुन् ।सोमबार बिहान अवेरसम्म पनि पसलमा नदेखिएपछि छिमेकीरुसुत्ने कोठामा पुग्दा उनी रक्ताम्य अवस्थामा भेटिएका थिए ।
स्थानीय दिपेश बरालका अनुसार उनको टाउकोमा गम्भीर चोट थियो । चौधारीको मेट्रोसिटी हस्पिटल सिर्जनाचोकमा उपचार भइरहेकोमा थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको छ । उनको टाउकोमा प्रहार गरिएको दाउरा र अन्य सामान प्रहरीले बरामद समेत गरेको छ । घटना कतिबेला भएको हो र कसले गरेको एकीन अझै हुन सकेको छैन । भारत उत्तर प्रदेश, गोपालपुर घर भएका चौधारी बिगत १२ वर्ष अघिदेखि पोखरा मासबार बस्दै आएका थिए । पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बरालले राति सुतेको समयमा चौधरीमाथि प्रहार भएको हुन सक्ने बताए । उनले घटना किन घट्यो भन्ने कुरा थाहा नभएको बताए । ‘घटना भएको थाहा पाए लगत्तै म पनि पुगेको थिएँ । त्यही फर्निचरमा सुत्ने रहेछन् । प्रहरीले मुचुल्का गरेपछिमात्र म निस्किएँ’, उनले भने, ‘एक्लै बस्ने देखियो । परिवार कोही भेटिएन । परिवारलाई खबर पु¥याउने काम भएको छ ।’ घटना लगत्तै प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ । प्रहरीले ४ जनालाई प्रारम्भिक अनुसन्धानका लागि बोलाएर सोधपुछसमेत गरेको छ । तर घटना कसले घटाएको भन्ने खुलिसकेको छैन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले घटनाबारे अनुसन्धान भइराखेको जानकारी दिए । ‘घटनाको बारेमा हामीले अनुसन्धान गरिरहेका छौं । अहिले केहि खुल्न आएको छैन’, उनले भने ।





