शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सरसफाई सिक्न वालिङ केन्द्र

सरसफाई सिक्न वालिङ केन्द्र


  • ढोरपाटन संबाददाता
  • फाल्गुन १२ २०७८, बिहिबार

स्याङ्जा/ वालिङ नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई केन्द्र अहिले सिकाई केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।

स्मार्ट सिटीको अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिकाहरु, फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न संघ संस्थाहरुको अध्ययन गर्ने थलोको रुपमा विकसित हुँदै गएको हो । आर्थिक वर्ष २०७१/०७२ बाट फोहोर मैला संकलन कार्य थालेको नगरपालिकामा हालसम्म नगरपालिका÷गाउँपालिका तथा फोहोर मैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने पाँच सय बढी विभिन्न संघ संस्थाहरुले अध्ययन अवलोकन गरिसकेको तथ्याङ्क वालिङ नगरपालिकामा रहेको छ ।

फोहोरलाई नदी, खोला किनारमा थुपार्ने कार्यले वातावरण प्रदुषित भएको भन्दै विरोध भइरहँदा वालिङ नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतकोरुपमा विकास गरेपछि यसको प्रक्रियाका बारेमा बुझ्न आउनेको संख्या बढ्दै गएको हो । फोहोर मैला व्यवस्थापन चूनौतीका रुपमा देखिइरहेका बेला त्यसको व्यवस्थापनकाबारेमा यहाँ आएर अध्ययन अवलोकन पश्चात आफ्नो ठाउँमा कार्यान्वयन गर्ने संघसंस्थाहरु धेरै नै छन् ।

वालिङ नगरपालिकाले गरेको फोहोर मैला ब्यवस्थापनको सुरुवाति चरणदेखि हालसम्मका प्रक्रियाहरुका बारेमा एक दर्जन पालिकामा पुगेर सरोकारवालाहरुलाई प्रशिक्षण दिईएको वालिङ नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख पदमप्रसाद पाण्डेले बताए । वालिङ नगरपालिकाले फोहोर मैला सङ्कलन, वर्गीकरण र व्यवस्थापन कसरी गर्दै आएको छ भन्नेबारेमा प्रशिक्षण दिएको पाण्डेले बताए ।

वालिङ नगरपालिकाले विशेष गरी बजार क्षेत्रका वडाहरुमा गठन गरिएको सरसफाई उपसमितिले आ–आफ्नो टोलमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्दै आएको छ । फोहोर मैलाका क्षेत्रमा अन्य ठाउँहरुमा नीजि क्षेत्रसँगको साझेदारीमा काम भइरहेको छ भने पछिल्लो समय वालिङ नगरपालिका आँफैले व्यवस्थापन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।

नगरपालिकाले फोहोर मैलाका क्षेत्रमा अगाडि बढाएको वालिङ मोडेल, कुहिने/नकुहिने/सिसाजन्य फोहोर सङ्कलन गरी ‘ईण्डष्ट्रियल वेस’ मा लैजाने र कुहिनेबाट कम्पोष्ट मल बनाउनु, सरकारी स्वामित्वमा वा सरकारको अगुवाई पहलकदमी रहने गरी सेवामा आधारित हुनु र अधिकतम् प्रविधिको प्रयोग गरी पुनः प्रयोग गर्नुले नै वालिङ फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा पृथक अनि अब्बल भएको भट्टराईले दावी गरे । देशका विभिन्न शहरमा फोहोर मैलाको उचित ब्यवस्थापन नभएकैकारण चुनौति र समस्या झेलिरहँदा वालिङ नगरपालिकाले भने फोहोरमैलाको ब्यवस्थापन २४ लाख आम्दानी गरेको उनले बताए ।

वालिङ नगरपालिकाको सरसफाई केन्द्र शैक्षिक थलोकोरुपमा विकसित हुँदै गएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यहरुकाबारेमा जान्न बुझ्न देशका विभिन्न ठाउँबाट यहाँ आउने र फर्केपछि आ–आफ्नो ठाउँमा यही मोडेलकोरुपमा काम थाल्ने गरेकाले पनि सिक्ने थलोकोरुपमा विकसित भएको बुझ्न सकिने उनको धारणा रहेको छ । सरसफाई केन्द्र शैक्षिक थलोकारुपमा विकसित हुँदै गएको छ भने त्यस सँगसँगै स्रोतको उपयोगिता, आय आर्जनको स्रोत र एकीकृत ब्यवस्थापनका दृष्टिले देशकै नमूना बनाउने अठोटकासाथ अगाडि बढेको नगर प्रमुख खाँणले बताए । नगरपालिकाको प्लान्ट सञ्चालनमा आएपछि नेपालकै एकमात्र एकीकृत फोहोर प्रशोधन केन्द्र बन्ने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->