बेनी/ झन्डै ३ वर्षदेखि आन्तरिक द्वन्द्वमा फसेको निर्माण व्यवसायी म्याग्दीको विवाद अन्त्य भएको छ । १० औं जिल्ला अधिवेशनबाट दुई समुहमा विभाजित भएर समानान्तर समिति बनाएका संस्थापन र असन्तुष्ट पक्षकोसामूहिक छलफलले सहमति बनेको हो । छलफलमा आगामी चैत्र ११ र १२ गते तोकिएको ११ औं जिल्ला अधिवेशनलाई साझा अधिवेशन बनाउने, फागुन २५ गतेभित्र नविकरण गर्ने तथा नयाँ सदस्यता वितरण गर्ने, दुई पक्षमा विभाजन भएर गरिएका गतिविधि अन्त्य गर्ने जस्ता विभिन्न विषयमा सहमति भएको निर्माण व्यवसायी रविन्द्र कार्कीले बताए ।
उनले यसअगाडीका असहमति र गतिविधिमा दुबै पक्षले खुलेर राखेकाले अब म्याग्दीका निर्माण ब्यवसायीमा कुनै विवाद नभएको बताए । निर्माण ब्यवसायीबीचको विवादका कारण जिल्लामा हुने विकास निर्माणका गतिविधि, ठेक्का प्रक्रियामा समेत असर गरेको थियो । ‘अब निर्माण ब्यवसायी संघले नयाँ जीवन पाउने छ,हामीले सहमतिबाटै सबै काम गर्ने साझा प्रतिबद्धता गरेका छौ’ संघका संस्थापन पक्षका निरोज भण्डारीले भने ।
संस्थापन पक्षले तोकेको निर्वाचनको मितिमा असन्तुष्ट पक्षले समेत सहमति जनाएपछि लामो समयदेखिको विवाद समाधान भएको संघका अध्यक्ष नारायण जिसीले बताए । छलफलमा गोपाल भट्टचनको अध्यक्षतामा रहेको समितिको तर्फबाट संघका पूर्वअध्यक्ष एकेन्द्र रावल, कृष्णकुमार शेरचनका साथै सल्लाहकार कृष्णकुमार विश्वकर्मा, भरतप्रसाद उपाध्याय र संस्थापन पक्षबाट अध्यक्ष जिसी, निरोज भण्डारी, प्रविण शाहीलगायत निर्माण व्यवसायीहरु सहभागी थिए ।





