पोखरा/ गण्डकी प्रदेश सभामा रहेका ५ दलका नेताहरुले ५ थरी धारणा राखेका छन् । सत्तारुढ चार दलले नै फरक फरक धारणा राखे भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्तारुढ दलका नेताहरुको धारणाले अलमलमा परेको बताएको छ ।
प्रदेश सभाको विहिबार शुरु भएको बैठकमा बोल्दै जनमोर्चा संसदीय दलका नेता पियारी थापाले सरकारको विरोध गरिन् । प्रदेश सरकारले बजेट, कार्यक्रम र कानुन कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गरेकी थापाले एमसीसीको कडा विरोध गरिन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गरेर सरकारले राष्ट्रघात गरेको थापाले आरोप लगाइन् । ‘एमसीसी देशघाती, राष्ट्रघाती छ, यसले देशलाई विखण्डनतिर, सामरिक रणभुमितर्फ लैजान्छ,’ उनले भनिन्, ‘यसलाई जनस्तरबाट खारेज गर्नुपर्छ ।’
एमसीसीसँगै पारित गरिएको ब्याख्यात्मक टिप्पणी अमेरिकाले अस्विकार गरेको भन्दै उनले एकतर्फी ब्याख्या गरेर समस्याको समाधान नहुने तर्क गरिन् ।
अर्को प्रसंगमा थापाले विधेयक बनाएर दराजमा थन्काउने काम मात्र भएको बताइन् । ‘संसदले विधेयक बनाउने मात्र हो कि जनस्तरमा कार्यान्व्यनमा पनि लैजाने हो ?’ थापाले प्रश्न गरिन् ।
यस्तै, जनता समाजवादी पार्टीका संसदीय दलका नेता एवं जलस्रोत मन्त्री हरिशहरण आचार्यले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थामा जानुपर्ने तर्क राखे । ५ बर्ष निर्धक्क सरकार चलाउन र राजनीतिक स्थिरताका लागि यस्तो व्यवस्था लाउनुपर्ने उनको भनाई छ ।
‘एकले अर्काको खुट्टा तान्ने कुसंस्कारबाट राजनीति अघि बढेको छ,’ उनले भने, ‘कुसंस्कार र विकृतिको क्रिडास्थलबाट जोगाउन प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी छान्ने प्रणालीमा जाऔं, यहींबाट सबैले संकल्प गरौं ।’ यसो भयो भने ५ बर्षे कार्यकालबाट सरकार कसैले हटाउन नसक्ने उनको भनाई छ ।
संसदमा २ सिट मात्र भएकाले जसपालाई सानो पार्टी भनेर हेप्ने गरेको उनले गुनासो गरे । उनले जनतालाई दुख दिने संघीयता होइन, सेवा दिने संघीयता ल्याउनुपर्ने बताए ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले एमसीसी पारित गर्दा ब्याख्यात्मक घोषणाले भ्रम चिरेको दाबी गरे । एमसीसी विरुद्ध सडकमा माओवादीले गरेको आन्दोलनका कारण ब्याख्यात्मक टिप्पणी आएको उनले बताए ।
‘हामी सडकमा नगएको भए ब्याख्यात्मक टिप्पणी आउँथ्यो त,’ चुमानले भने, ‘हाम्रो दलका तर्फबाट म यसमा गर्व गर्छु ।’
दुई देशवीचको संझौता पारित गर्दा ब्याख्यात्मक टिप्पणी राख्ने अन्तर्राष्ट्रिय चलन भएको चुमानको दाबी छ । संझौता संशोधन गर्न माओवादीले जोड दिएको भन्दै उनले अमेरिकाले नमानेकाले संशोधन सम्भव नभएको बताए ।
एमसीसी अघि बढाउन भारतीय सहमति आवश्यक भएको भन्दै चुमानले राष्ट्रिय विषयमा सबै शक्तिहरु एकजुट हुनुपर्ने बताए ।
‘चुमानले प्रदेश सरकार मन्द गतिमा चलेको भन्दै आलोचना गरेका छन् सरकार कहाँ अड्कियो, कहाँ अलमलियो ?,’ उनले भने, ‘बार्षिक योजना, बजेट कार्यान्वयन भइराखेको छैन ।’
सरकारले कानुन कार्यान्वयन गर्न नसकेको समेत चुमानले बताए । प्रदेश सभाले ५ बर्षमा बनाएको कानुन कार्यान्व्यन नभइकन प्रदेश सांसदको समय गुज्रिने हो कि भन्ने चिन्ता लागेको उनको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सत्तारुढ दलका नेताहरुका कुराले आफुलाई अलमलमा पारेको बताए । सत्तारुढ जनमोर्चाका नेता पियारी थापाले एमसीसी राष्ट्रघाती संझौता भनेको भन्दै गुरुङले राष्ट्रघात हो भने किन सरकारलाई समर्थन दिएको भनेर प्रश्न गरे ।
जसपाका नेता एवं मन्त्री आचार्यले प्रत्यक्ष निर्वाचित कार्यकारी मागेको भन्दै अहिलेकै संघीय गणतन्त्रको संविधान पूर्ण रुपमा कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले भने, ‘प्रदेशले औचित्य पुष्टी गर्न पाएको छैन, अहिले नै राष्ट्रपतीय प्रणालीको वकालन गर्ने, जुन व्यवस्था राम्रो भनेर ल्यायो, त्यसैलाई राम्रोसँग लागु नगर्दै अर्को विकल्प खोज्ने ?’
प्रदेश सरकारले प्रभावकारी काम गरेर संघीयता विरोधीलाई जवाफ दिनुपर्ने गुरुङको भनाई छ । उनले प्रदेश बच्चा रहेको भन्दै उठ्न नपाउँदै हिड्न सकेन भनेर कल्पना गर्नु गलत भएको टिप्पणी गरे । उनले सांसदहरु नेताको दास भएको आरोप समेत लगाए ।
‘साच्चिकै हामी नेताको दास हो, हिजो राष्ट्रघात भनेर उफार्ने, आगन आगनमा अमेरिकी सेना नाच्छ भन्ने,’ उनले भने, ‘भित्र साठगाठ गरेर पास गरेको थाहा छैन, कार्यकर्ता सडकमा लडिराखेछ ।’ उनले सांसदहरुले आप्mनो कुरा बोल्न नसक्ने र बोल्ने हिम्मत पनि नगरेको बताए ।
राष्ट्रिय जनमोर्चा भनेको नेकपा मसाल भएको भन्दै उनले भिक्षा माग्ने सङ्लो रुपमा जान लजाएर जोगीको भेषमा आएको टिप्पणी गरे । ‘टाउको जमिनमुनि गाडेर खुट्टा देखाउने कति अवैज्ञानिक हो ?’ उनले भने ।
जनताको आशा र भरोसा जगाउन सक्ने पार्टी र नेतृत्व नै सफल हुने गुरुङले बताए । गण्डकी सरकारले प्रदेशबासीको विश्वास र भरोसा जित्न सक्नुपर्ने उनले बताए ।
केहीलाई झण्डा हाल्न र गाडी चढ्नका लागि संघीयताको बदनाम गरेको समेत गुरुङले आरोप लगाए । चार दलीय गठबन्धनमा कांग्रेस नेतृत्वको सरकारले प्रदेशका सांसदलाई गाडी र सुविधा बढाएको थियो । प्रदेशमा राखिएको थ्रेस होल्ड हटाएर २ जना सांसद भएका पार्टीलाई पनि संसदीय दलका नेता र सचेतकका रुपमा गाडीसहित सुविधा थपेका थिए ।
विहिबारदेखि शुरु भएको प्रदेश सभाको विधेयक अधिवेशनमा १४ वटा विधेयक संशोधन र केही विधेयक पारित गर्ने योजना छ । बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।





