आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज हस्तान्तरण गरिदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज हस्तान्तरण गरिदै

पूरा नभएका संरचना बनाउँदै गरिने


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७८, शनिबार

पोखरा\चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन् ।
भर्चुअल माध्यममा आयोजित कार्यक्रममा चीनका विदेशमन्त्री यीले प्रधानमन्त्री देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । विमानस्थल हस्तान्तरण गर्न आयोजित कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले शनिबार पोखरा आउँदैछन् ।
चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो । विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो । राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भिने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजना प्रमुख मुनकर्मीले बताए ।
‘विमानस्थल हस्तान्तरण भए पनि बाँकी काम पूरा गर्न समस्या हुँदैन’, उनले भने, ‘तोकिएको समय अगावै आयोजनाका सम्पूर्ण काम सकिन्छ ।’
नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनिया कम्पनी सिएएमसीईलाई दिएको थियो । कम्पनीले सरकारले दिएको म्यादभन्दा ६ महिना अगावै आयोजना निर्माण गरेर सरकारलाई हस्तान्तरण गर्ने बताउँदै आएको थियो । कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ बर्ष म्याद थपिएको थियो । मुनकर्मीका अनुसार यसै वर्षको जुलाई १० अगावै आयोजनाका सम्पूर्ण काम सकिनेछ ।
हालसम्म विमानस्थलको २५ सय मिटर रनवे, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, पेरीफेरी रोड, ट्याक्सी वे लगात ठूला निर्माणका सम्पूर्ण काम सकिएको छ । विमानस्थलमा आवश्यक इलेक्ट्रिक सामग्रीहरु समेत जडान भइसकेको आयोजना प्रमुख मुनकर्मीले बताए । अहिले विमानस्थलभित्र नहर व्यवस्थापन, टर्मिनल भवनदेखि जहाजसम्म यात्रु आउजाउ गर्ने बाटोलगायतका काम भइरहेको छ ।
फोर डी मोडलमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५० देखि १८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले उडान भर्न सक्छन् । छोटो दूरीका न्यारोबडी जहाजले यस विमानस्थलको सिङ्गल अप्रोच अर्थात् पूर्वबाट मात्र अन्तर्राष्ट्रिय उडान भर्न सक्छ ।
विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर र ४ वटा ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनेका छन् । विमानस्थलबाट कम्तिमा दैनिक ६ वटा अन्तर्राष्ट्रिय र ४८ वटा आन्तरिक उडान भर्न सकिने नेपाल नागरिक उड्यन प्राधिकरणले दावी गरेको छ ।
अहिले आन्तरिक उडान मात्र संचालनमा रहेको पोखरा विमानस्थलबाट दैनिक कम्तिमा ३० वटा र पिक सिजनमा १ सय जति उडान भइरहेका छन् ।
विमानस्थल निर्माणको काम सकिएपनि संचालन गर्न नेपाल सरकारले समाधान गर्नुपर्ने समस्या भने ज्यूँकात्यूँ छ । विमानस्थल संचालन गर्न अवरोध मानिएको रिठेपानी डाँडा कटान, पोखराका नाली र नहर व्यवस्थापन र ल्याण्डफिल साइट व्यवस्थापनको काम बाँकी रहेको मुनकर्मीले बताए ।
उनका अनुसार रिठ्ठेपानी डाँडा काट्न पूरक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएको छ । अब डाँडा कटानको काम थालिने मुनकर्मीले बताए । विमानस्थल संचालन गर्न रिठ्ठेपानी डाँडा कम्तिमा ४० मिटर काट्नुपर्ने प्राविधिक अध्यनको निष्कर्ष छ ।
पोखरभरका फोहोर फालिने ल्याण्डफिल साइट र ढल तथा नहर व्यवस्थापनको काम भने शुरु नै हुन सकेको छैन । ढल र नहर व्यवस्थापन गर्न प्रदेश सरकार मातहतको सिंचाई विभाग र ल्याण्डफिल साइट परिवर्तन गर्न पोखरा महानगरलाई आयोजनाले विगत ३ बर्षदेखि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म प्रगति हुन सकेको छैन ।
विमानस्थलको पश्चिमतर्फ रहेको ल्याण्डफिल साइट परिवर्तन नगरे चराका कारण विमानस्थल संचालन गर्न समस्या आउने मुनकर्मीले बताए । ‘हामीले एउटै समस्या ३ वर्षदेखि प्रदेश सरकार र पोखरा महानगरलाई भन्दै आएका छौं’, उनले भने, ‘तर अहिलेसम्म केही प्रगति देखिँदैन ।’
नाली तथा नहर व्यवस्थापन गर्न सिंचाई डिभिजन कार्यालय पोखराले ४० करोड रुपैयाको स्टिमेट तयार पारेर प्रदेश सरकारलाई बुझाइसकेको छ । तर, प्रदेश सरकारले अहिलेसम्म बजेटको व्यवस्था नगर्दा विमानस्थल पुग्ने नाली र नहरका पानी डाइभर्सन हुन नसकेको कार्यालय प्रमुख किरण आचार्यले बताए । उता, पोखरा महानगरले भने ल्याण्डफिल साइट परिवर्तन गर्न जग्गाको खोजी गरेको बताए पनि अहिलेसम्म सार्न सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->