पोखरा\पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाललाई थप हवाई रुट दिन भारतीय समकक्षी ज्योतिरादित्य सिंधियासँग प्रस्ताव गरेको बताएका छन् । प्रस्तावमा भारतका उड्डयनमन्त्री सिंधिया सकारात्मक भएकाले छिट्टै रुट पाउने मन्त्री आलेले बताए । ‘मैले तीन महिनाअघि भारत जाँदा पनि समकक्षी सिंधियासँग प्रस्ताव गरेको थिएँ, हिजो (शुक्रबार) हैदरावादमा भेट्दा पनि छलफल गरेको छु’, उनले भने, ‘छिट्टै हवाई रुट प्राप्त गर्ने कुरा तपाइहरुलाई जानकारी गराउन चाहन्छु ।’
भारत सरकार र विङ्स इन्डिया २०२२ हैदरावादमा आयोजना गरेको सम्मेलनमा भाग लिएर मन्त्री आले शुक्रबार काठमाडौं फर्केका थिए । चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण समारोहका लागि आफू रातारात हैदरावादबाट काठमाडौं फर्केको मन्त्री आलेले बताए । चीनको २२ अर्ब ऋणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनिया सरकारी कम्पनी सिएएमसीईले निर्माण गरेको हो । विमानस्थलको चाबी चीनका विदेशमन्त्री यीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा शनिबार परराष्ट्रमन्त्री नारायण खड्कालाई हस्तान्तरण गरेका थिए ।विमानस्थल हस्तान्तरणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न रुटको समस्या नहुने दावी गरे । नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा जाँदा भारतले विभिन्न रुट दिए पनि नेपाल भित्रँदा सिमराबाहेक अन्य रुट नदिएको मन्त्री आलेले बताए ।
‘हामी यहाँबाट अन्य देशमा उडान गर्दा महेन्द्रनगर, कञ्चनपुर हुँदै टनकपुर हुँदै जान्छौं तर त्यही रुटबाट फर्कन पाएको अवस्था छैन’, उनले भने, ‘नेपालबाट बाहिर जान दिएको रुटबाट नेपाल भित्रन दिन पनि मैले भारतका समकक्षीलाई अनुरोध गरेको छु ।’नागरिक उड्डयन प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान नेपाल भित्रन भारतले थप रुट दिनेबारे २०७५ असार २ गते सहमति भएको थियो । नेपाल नागरिक उड्डयन प्रािधकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच भएको सहमति पत्रमा भारतले नेपाललाई थप ४ वटा हवाई रुट दिने उल्लेख भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।सम्झौता २०१८ सेप्टेम्बर भित्र लागू हुने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन । भारतले सिमराबाहेक अन्य स्थानबाट हवाई रुट नदिँदा नेपालमा निर्माण सकिएको भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन अन्यौलमा छ । भारतले संझौता अनुसार रुट दिएमा महेन्द्रनगर, जनकपुर, नेपालगञ्ज र विराटनगर रुट प्रयोग गर्न सकिने प्राधिकरणका ती अधिकारीले बताए । अहिले नेपालबाट बाहिरिँदा महेन्द्रनगर, विराटनगर, भैरहवा र जनकपुरको बाटो भएर हवाइजहाज बाहिरिन्छन् । तर, यी बाटोबाट जहाज नेपाल आउन भारतले रुट अनुमति दिएको छैन ।
भैरहवाको गौतमवुद्ध, निजगढ र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र महेन्द्रनगर रुटबाट उच्च उचाईमा उडान भर्न भारतले प्राविधिक अध्यन गर्न समेत सहमति जनाएको थियो । तर एयर रुट दिनेबारे भारतीय पक्षले अहिलेसम्म औपचारिक जानकारी नगराएको प्राधिकरणले जनाएको छ । यी एयरपोर्टबाट एसियाका विभिन्न गन्तव्यमा उडान भर्ने उनले बताए । भारतले सिमराबाहेक थप हवाई रुट नदिएमा यी दुबै विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान भर्न कठिनाइ पर्ने उडड्यन क्षेत्रका जानकारहरु बताउँछन् । पोखरा विमानस्थलका बारेमा अध्यन गरेका अध्येता डा. दिनेश प्रसाइले रुट लिन सरकारले ढिलाई गरेको बताए । ‘एयर रुट लिन सरकारले अगाडीनै गृहकार्य गर्नुपथ्र्यो’, प्रसाइले भने, ‘यसबारे सरकार गम्भीर नै भएन ।’
फोर डी मोडलमा बनेको पोखरा विमानस्थलमा १५० देखि १८० जना यात्रु बोक्ने न्यारोबडी जहाजले मात्र उडान भर्न सक्छ । ‘भारतले एयर रुट नदिएमा यात्रा लामो हुने भएकाले महँगो पर्न जान्छ’, प्रसाइले भने, ‘त्यसमाथि न्यारोबडी जहाज भन्ने वित्तिकै थोरै यात्रु हुने भएकाले थप महँगो पर्छ ।’पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न भारतसँग वार्ता गरेर छोटो दूरीको रुट लिनुको विकल्प नभएको प्रसाइको निष्कर्ष छ । आन्तरिक उडान मात्र संचालन गर्न पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नपर्ने भन्दै उनले विमानस्थल संचालन गर्न खर्च घटाउनुपर्ने बताए । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान भए पनि नभए पनि चीनको एक्जिम बैंकको २२ अर्ब त तिर्नैपर्छ’, प्रसाईले भने, ‘सरकारले ठुला पूर्वाधारमा लगानी गर्दा संचालनबारे समयमै सोच्न सकेन ।’





