स्याङ्जा /जिल्लाको आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले ५ वर्षमा समृद्ध आँधीखोला निर्माण अभियानमा उत्साहका पालुवाहरू सृजना भएको जिकिर गरेका छन् । कार्यकालको स्वेतपत्र प्रस्तुत गर्दै अध्यक्ष पौडेलले आफ्नो नीति आफै बनाउने र आफ्नो लागि आफै कानून बनाइ कार्यान्वयन गर्ने लोकतन्त्रको उच्चतम अभ्यास गरिएको पनि बताएका छन् ।
गाउँपालिकाले पाँच वर्षे अवधिमा १७ वटा ऐन,५ वटा नियमावली र ३० वटा कार्यविधि/निर्देशिका बनाएको,प्रथम आवधिक योजना २०७६/०८० निर्माण गर्दै योजनागत विकासको खाका कोरेको,प्रशासनिक भवन तथा वडा कार्यालयहरुको निर्माण,बहुउद्देश्यीय सभाहल र व्यापारिक कम्प्लेक्स,मन्दिर,सार्वजनिक शौचालय तथा बाटो निर्माणलाई उपलब्धीको रुपमा अथ्र्याएको छ ।
अध्यक्ष पौडेलका अनुसार ५ वर्षमा आँधीखोलामा पक्की संरचनासहितको २३.७५ किलोमिटर बाटो कालोपत्रे, ३.५० किमी ढलान, ८ वटा आरसीसी. कजवे, मोटरेवल पुल ४ वटा, स्तरोन्नती सडक पक्की संरचना सहितको १८.७८ किमी र सबै वस्तीहरूमा पुग्ने २७.७ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ ।
प्रदेश सरकारको लगानीमा नागडाँडा कार्कीनेटा सडकको पहिलो खण्डमा पर्ने नागडाँडादेखि सेतिखोलासम्म २.७ किमी र सेतिखोला पुलदेखि सेपतसम्म पक्की संरचना सहितको ७.३ कि.मी लम्बाइ एवं ६.१५ मिटर चौडाइ सहितको जम्मा १० किमी सडक निर्माण तथा सेपतदेखि हिले खोलासम्मको ९.८ किमी निर्माणाधीन सडकलाई पनि ५ वर्षे उपलब्धीको रुपमा गाउँपालिकाले उल्लेख गरेको छ । यसका अलावा ६ वटा विभिन्न सडकहरु निर्माणको क्रममा रहेको पनि अध्यक्ष पौडेलको भनाइ छ ।
कार्यकालमा सिंचाइ, तटबन्ध निर्माण, गोरेटो र झोलुङ्गेपुल निर्माणमा उल्लेख्य प्रगति भएको,भूकम्पपछिको पुनः निर्माण अन्तिम चरणमा पुगेको,सबै घरधुरीमा विद्युत सेवा पु¥याइएको, आत्मनिर्भर कृषिका लागि कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रति विद्यार्थी ५ बिरुवाका दरले जम्मा १० हजार ७ सय एभोकाडोका बिरुवा बितरण र कोल्डस्टोर निर्माण गरिएको पनि गाउँपालिकाले जनाएको छ ।
पर्यटकीय स्थलको पहिचान र प्रवद्र्धृन,दक्ष जनशक्ति उत्पादनको लागि कम्प्युटर इञ्जिनियरीङ र कृषि विज्ञानको पढाइ सुरु,विद्यालयको भवन निर्माण,१२ वटा विद्यालयमा सोलार जडान, ३६ वटा श्रवण कुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक, १९ वटा खोप क्लिनिक, १७ वटा गाउँघर क्लिनिक, १ वटा नागरिक आरोग्य केन्द्र, ५ वटा स्वास्थ्य चौकी, १ वटा प्राथमिक स्वास्थ्य केन्द्र मार्फत नियमित रूपमा सेवा प्रदान गर्नु पनि कार्यकालको सफलता भएको गाउँपालिकाको जिकिर छ ।





