म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेद्वार भवबहादुर भण्डारीका बिरुद्ध उजुरी परेको छ । उमेद्वार बिरुद्ध दावी बिरोधका लागि निर्वाचन आयोगले दिएको समयमा अध्यक्षका अन्य दुई जना उमेद्वारले उनका बिरुद्ध उजुरी गरेका हुन् ।
भण्डारीलाई सरकारी जग्गा र रकमको अपचलन गरेको आरोप लगाईएको छ । यद्धपी निर्वाचन अधिकृतको कार्यालयले भने के बिषयमा उजुरी परेको भन्ने खुलाएको छैन् ।
नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका भण्डारीका बिरुद्ध नेकपा एमालेको तर्फबाट अध्यक्षका उमेद्वार प्रेम बहादुर कार्की र स्वतन्त्र उमेद्वार सागर भण्डारीले उजुरी गरेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए । ‘हिजो ५ बज्नै लाग्दा दावीबिरोध परेको छ, तर सम्बन्धित उमेद्वारलाई पत्राचार गरिएको छैन्, आज कार्यालय खुलेपछि मात्रै पत्राचार हुन्छ’ सुवेदीले भने ‘सम्बन्धित उमेद्वारले जानकारी नपाई बिषय खुलाउन मिल्दैन् ।’







