बागलुङका दश स्थानीय तहमध्ये आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको निर्वाचन पेचिलो बन्दैछ । पाँच दलीय गठबन्धन र नेकपा एमालेका बीचमा हुने प्रतिस्पर्धामा केही बागी उमेद्वार र गठबन्धनभित्रको असन्तुष्ट पक्षका कारण जिल्लाभर जस्तै गलकोटमा पनि चुनावी परिणामको आँकलन कसैले गर्न सकिरहेका छैनन् ।
गलकोटमा दुई पक्ष बीचमा हुने प्रतिस्पर्धाका लागि एमाललेको तर्फबाट युवा नेता पूर्ण काउचा उमेद्वार छन् । निर्वाचनमा होमिँदा उनका एजेण्डा के हुन् । हारजितको आधारहरु के–के छन् । किन दिने त यिनै उमेद्वारलाई मत ? विविध विषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले काउचासँग गरेको छोटो संवादको सम्पादित अंश ।
गलकोटको मेयरमा तपाई कसरी योग्य हुनुहुन्छ ?
–पहिलो कुरा त गलकोटका जनताले इतिहासमा पहिलोपटक सूर्य चिन्हमा मतदान गर्न पाउँदैछन् । सूर्य चिन्हमा मतदान गर्न पाउँदा जनतामा देखिएको उत्साह र हर्ष म यहाँको नगरप्रमुख बन्न योग्य भएको प्रमाण हो । हामीले गलकोटमा लामो समयदेखि हेरिरहेका छौं, यहाँ राजनीतिलाई सेवाभन्दा धेरै पेशा बनाईएको छ । राजनीति सेवा हो भन्ने प्रमाणित गर्नका लागि म गलकोटको प्रमुखका लागि योग्य छु । मैले हालसम्म गरेको सेवा र आगामी दिनमा समेतसुविधा नलिने गरी गरेको घोषणा म मेयर बन्न योग्य भएको प्रमाण हो ।
तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?
–पार्टीमा कयौं साथीहरु म भन्दा योग्य र सक्षम हुनुहुन्छ । म नगरप्रमुख बन्नु भनेको हाम्रो पार्टीभित्रका योग्य र सक्षम साथीहरु पाखा लाग्नु भन्ने होईन । उहाँहरुमा भएका अनुभव र क्षमताको हामीले भरपुर प्रयोग गर्छौं । म त पात्र मात्रै हो । काम गर्ने भनेको सबै साथीहरु मिलेर गर्ने हो । पछिल्लो समय युवा पुस्तामा एउटा माग छ त्यो हो युवाको नेतृत्व । साथीहरु सबैको सल्लाह र परामर्शबाटै म उमेद्वार बनेको हो । हामीमा कुनै समस्या भएर वा साथीहरुको चित्त दुखाएर म उमेद्वार भएको होईन् ।
गलकोट नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?
–पहिलो कुरा त नगरले पहिलो कार्यकालमा आफ्नै भवन बनाउन सकेन् । हामीले गर्ने पहिलो काम प्रशासनिक भवन निर्माण र सुशासन कायम गर्ने हो । कार्यालय सञ्चालन र व्यवस्थापन राम्रो भएपछि मात्रै जनताका दिनानुदिनका काम गर्न सकिन्छ ।
हाम्रो दोस्रो प्राथमिकता भनेको नगरको प्रशासनिक भवनसम्म आउनका लागि जनतालाई सहजता प्रदान गर्नु हो । गलकोट नगर भनेर के गर्नु अहिले पनि पाण्डवखानीका जनतालाई नगरको कार्यालय आउन चार घण्टा समय लाग्छ । हामीले नगर बस सञ्चालन गरेर सर्वसुलभ यातायातको व्यवस्थापन गर्ने छौं । यो सँगै पूर्वाधार निर्माणका काम त जोडिएरै आउने कुरा भए । हामी पूर्वाधारमा गलकोटलाई अब्बल बनाउँछौं ।
मध्यपहाडी लोकमार्गले चिरेको हाम्रो गलकोटमा ट्राफिक व्यवस्थापन र पार्किङको चरम समस्या छ । हामीले देखको गर्नैपर्ने तस्रो काम यहीं हो । हामीले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छौं । हामीले गर्ने चरणबद्ध कामहरुको बिषयमा सोहीअनुसार काम गर्ने हो । झुटा होईन थोरै तर गर्न सकिने र गर्नैपर्ने काममा हामीले जनतालाई जानकारी गराएका छौं ।
तपाईं निर्वाचित हुनुभयो भने पाँच वर्षपछि गलकोट नगरबासीले के–के फरक पाउलान् ?
–गलकोट ऐतिहासिक ठाउँ हो । बागलुङ चिनाउँदा पहिले गलकोट भनेर चिनाउनुपर्ने अवस्था अहिले पनि छ । पाँच वर्षपछि हामीले गलकोटलाई पर्यटनको हब बनाएर छोड्छौं । यहाँका संस्कृतिका पहिचान, प्रबद्र्धन र सुदृढिकरण भएको हुने छ । पूर्वाधारले सम्पन्न, सुशासनमा अब्बल र आफ्नै स्रोतसाधन भएको नगरका रुपमा विकास गरेर छोड्ने छौं । अहिलेभन्दा दोब्बर काम गरेर छोड्छौं । औद्योगिक विकास, कानून पूर्ण भएको, आयस्रोत भएको र रोजगारी सिर्जना भएको नगरको रुपमा गलकोट रहने छ ।
कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?
–अनुभवले खारिएका पाका उमेद्वार यसअघिको निर्वाचनमा यहाँका जनताले छानेकै हुन् । खै के भयो त परिर्वन ? म त युवा हुँ, समाजसेवी हुँ, जनतको सेवक हुँ । हिजोकाले काम गरेनन्, दोहोरिएर आए । यस्तो अवस्थामा यहाँका जनता निराश छन् । जनताको निराशालाई आशामा बदल्ने सक्षम उमेद्वार म नै हुँ । अझ हेरौं न विपक्षीहरुको गठबन्धन र त्यसबाट सिर्जना भएका समस्या अनि जनतामा रहेको निराशा । यस्तो बेलामा म जस्तो जनसेवकलाई मत नदिए कस्लाई दिने ? एमाले काम गर्ने भिजन भएको पार्टी हो । त्यहिं पार्टीको योजनासहितको भिजन भएको उमेद्वार हुँ । त्यसैले पहिलो पटक सूर्यमा मतदान गर्न पाएका हाम्रा जनताले दिल खोलेर म र हाम्रो पार्टीका सबै उमेद्वारलाई मत दिने वातावरण छ ।





