बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मलाई होइन कामलाई हेरेर जनताले मत दिन्छन्ः पौडेल

मलाई होइन कामलाई हेरेर जनताले मत दिन्छन्ः पौडेल


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७९, बिहिबार

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा धेरै चर्चामा छ । सत्ता गठबन्धन र नेकपा एमालेबाट यसअघिकै चुनावी मैदानमा रहेर हारजीत व्यहोरेका दुवै जना उमेद्वार चुनावी मैदानमा छन् । हिजो हारजीत पछि दुवै जनाले गरेका कामको मुल्यांकन गरेका मतदाता मतदानका लागि आतुर छन् ।
यसअघिको निर्वाचनमा एमालेको तर्फबाट उमेद्वार भएर निर्वाचन जितेका जनकराज पौडेल आफूले गरेको कामका प्रभावले फेरी जनताको मत पाउने दाबी गर्छन् भने पराजित भएका गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वसन्त कुमार श्रेष्ठ सहानुभति बटुल्न र योजनाको फेहरिस्त सुनाउन छोडेका छैनन् ।
दुबै जना बीचको चुनावी रस्साकसी निकै पेचिलो बनिरहेका बेला उमेद्वारहरुका एजेण्डा के हुन् । हारजीतको आधारहरु के के छन् । किन दिने त यीनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले उत्तर खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले उमेद्वार जनकराज पौडेलसँग गरेको छोटो संवादको सम्पादित अंशः

मेयरबाट राजीनामा दिएर त्यहीं पदको प्रतिस्पर्धामा हुनुहुन्छ । तपाईं नै फेरि यो पदमा कसरी दोहोरिनुप¥यो ?

– यो भन्दा पहिला पनि म मेयर थिएँ । मैले जनचाहना बुझेर पाँच वर्षको अबधिमा काम गरेँ । यो बीचमा साना–ठुला धेरै काम भएका छन् । यसअघि भएका कामको प्रभाव आम सर्वसाधारणमा छ । सोही प्रभावको कारणले पनि होला मलाई मतदाता र हाम्रो पार्टीका नेताहरुले नै फेरी चुनाव लड्नुस् भनेकाले म चुनावी मैदानमा छु । पहिले भएका कामको धरातलमा टेकेर बागलुङ नगरको विकास र समृद्धिका लागि हो मेरो उमेद्वारी ।

तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?

– म एमालेको उमेद्वार हो । एमालेमा मभन्दा धेरै साथीहरु योग्य हुनुहुन्छ । एउटा बलियो संगठित पार्टीमा म जस्ता कयौं योग्य साथीहरु हुनुहुन्छ भन्न हिच्किचाउनु पर्दैन । नेताको अभावले होईन म उमेद्वार भएको, आवश्यकताले मलाई माग्यो त्यसैले म चुनावको मैदानमा छु । मेरा अग्रज नेताहरु, योग्य र अनुभवले खारिएका नेताहरुको सल्लाह सुझावकै आधारमा हामी अघि बढ्ने हो । उहाँहरुमा भएको ज्ञान सिप र योग्यता म मेयर हुँदैमा प्रयोग हुँदैन भन्ने होईन । पार्टीको प्रतिनिधित्व गरेको उमेद्वारले सबैको प्रतिनिधित्व गरेको हुन्छ । पदमा पुगेपछि पनि त्यो कायम रहन्छ ।

बागलुङ नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?

– मलाई एउटा इच्छा छ । हामीले तयार गरेको जनशक्तिले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकोस् । मैले पाँच वर्ष काम गर्दा महशुस गरेको कुरा के हो भने अब हामीले शिक्षालाई प्राथमिकतामा राखेर सुधारका काम थाल्नुपर्छ । त्यसैले मैले पहिलो काम शैक्षिक सुधारको गर्नेछु । जसका कारण हाम्रो जनशक्ति प्रविधियुक्त र समय सापेक्ष होस् । सोही अनुसारका पूर्वाधार आवश्यक सुधार गर्ने योजना छ । जसका लागि आवासिय विद्यालयको योजना मैले बनाएको छु । सामुदायीक विद्यालयमा आवासिय सुविधा हुँदा शिक्षामा धेरै सुधार भएको हुने छ ।
दोस्रो प्राथमिकता मैले स्वास्थ्य क्षेत्रको सुधारलाई दिने छु । हामीले यो बीचमा स्वास्थ्य क्षेत्रमा धेरै कामहरु गरेका छौं । अझै समयसापेक्ष स्वास्थ्य क्षेत्रको सुधार आवश्यक छ । त्यसका लागि हामीसँग निर्धारित योजना छन् । त्यो काममा हामी लाग्ने छौं ।
तस्रो कुरा पूर्वाधारको विकास र रोजगारी सिर्जना हो । हाम्रा विकासे काममा हाम्रै जनशक्ति परिचालन गर्ने परिपाटीको विकास गर्ने योजना छ । रोजगारी पनि हुने र विकास पनि हुने वातावरण हामी बनाउँछौं । दक्ष जनशक्तिको पहिचान र परिचालन गर्ने योजना छ ।

निर्वाचित हुनुभयो भने पाँच वर्षपछि बागलुङ नगरबासीले के–के फरक पाउलान् त ?

– हामीले पाँच वर्षको बीचमा धेरै फरक महशुस जनतालाई गराईसकेका छौं । अबको पाँच वर्षमा प्रविधियुक्त प्रशासन, झण्झटरहित प्रशासन विकास भएको जनताले देख्न पाउने छन् । पाँच वर्षको बीचमा यहाँका जनताको जीवनस्तरमा सुधार भएको हुने छ । नगरपालिका पूर्वाधारयुक्त सामाजिक विकासका क्षेत्रमा फड्को मारेको हुने छ । पर्यटनको हव बन्ने छ । अहिले पनि देशभरका नगरपालिकामा बागलुङ नगरपालिका चर्चित नगरपालिका हो । पाँच वर्षमा फेरी पनि नगरलाई आर्थिक, सामाजिक र पूर्वाधार विकासका क्षेत्रमा नमुना नगरको रुपमा जनताले पाउने छन् ।

अघिल्लो चुनावमा पनि तपाईंको पार्टीको यस्तै प्रतिबद्धता थियो । तर, जनताले सोचे जति काम गर्नु भएन भन्छन् ।

–अघिल्लो पटकको चुनावमा पनि मैले धेरै गर्छु भनेको होईन् । जे गर्छु भनेको थिएँ त्यो पुरा गरेको छु । अझै भनौं मैले प्रतिबद्धता गरेको भन्दा धेरै ठुला काम भएका छन् । मैले फगत आश्वासनहरु जनतालाई बाँडेको थिईन् र यसपटक पनि बाँड्दिन । यो पटक पनि हामीले बोलेका कुरा गरेर देखाउँछौं ।
कार्यकालको पहिलो दुई वर्ष संघ र प्रदेशले समयमा कानून नबनाईदिएका कारणले अल्झिने र पछिल्लो दुई वर्ष कोभिडका कारणले प्रभावित हुँदा त हामीले यतिका धेरै काम गर्न कसेका छौं भने अबका वर्षमा त्यस्ता बाधा नआउलान् । आए भने पनि हामीले जसरी पहिलो कार्यकालमा ऐतिहासिक फड्को मारेका छौं, त्यसैगरी अब पनि काम गर्ने छौं ।

कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?

– सबैले बुझेको एउटा कुरा के हो भने जनक पौडेल विकासप्रेमी नेता हो । उसले जनचाहना विपरितका काम गर्दैन र विकासका निमित्त उसले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गदैन । मैले अघिल्लो कार्यकालमा पनि आफ्नो पार्टी र प्रतिस्पर्धि पार्टी सबैका कार्यकर्तालाई समान व्यवहार गरेको छु । अरु पार्टीको ठाउँ, टोल भनेर बिभेद गरेको छैन । हामीले गरेका काम हेर्न जानुस् न समान वितरण भएको पाउनुभएन भने भन्नुहोला । एमाले र जनकलाई होईन आम मतदाता, अन्य पार्टीका कार्यकर्ताले समेत हामीले गरेको कामलाई हेरेका छन् । शुभकामना बधाई दिएका छन् र अब मत दिनेछन् । यसमा शंका गर्ने ठाउँ नै छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->