आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन

पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगर बनेपछि पहिलो पटक जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको ५ वर्ष पुग्नै लागेको छ । यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका ५ वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगरबारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखराबारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।

महानगरको यो कार्यकाल संघीयता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको जिसीले दाबी गरे । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्नेगरी संघीयता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ । यो अवधिमा संघीयता कार्यान्वयन र समृद्धिको जग बसेकाले अब आउने नेतृत्वलाई काम गर्न सहज हुने उनको विश्वास छ ।

कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गरेका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो ५ वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखराबारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्गनिर्देश गर्ने भनाइ सुवेदीको छ ।

संघीयता कार्यान्वयनको यो ५ वर्षमा महानगरले लय समातेकाले आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने सुवेदीले बताए । तथ्यांक वा कुनै पनि विषयको जानकारी, सूचनालाई अभिलेखीकरण गर्न स्थानीय तहले प्राथमिकता राखेर काम गर्नुपर्ने सुझाव उनको छ । महानगरका प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए ।

पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ती र भविष्य, यो पाँच वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखरा बारेमा दिएका विचारका साथै यो पाँच वर्षमा ३३ वटै वडामा भएका कामहहरुलाई समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->