यसअघिको स्थानीय तह निर्वाचनमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेसँग पहिलो शक्ति बनेको नेपाली कांग्रेस, दोस्रो शक्ति बनेको राष्ट्रिय जनमोर्चा र चौथो शक्ति बनेको माओवादी केन्द्र मिलेर जैमिनी नगरपालिकामा प्रतिस्पर्धा चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जैमिनीमा हुने रोचक प्रतिस्पर्धा चासोको बिषय बनेको छ । पहिलो दुई प्रतिस्पर्धी नै गठबन्धन गरेर तेस्रो बनेको प्रतिस्पर्धी सँगको चुनावी जोडघटाउ अंकमा आँकलन सुरु भएको छ । तर जैमिनीको प्रतिस्पर्धा सोचेको जस्तो सहज भने छैन् । गठबन्धनमा सहभागि पार्टीहरु भित्रको बिमतिहरु र एमालेको सशक्त प्रचारका कारण जैमिनीको निर्वाचन पेचिलो बन्दै गएको छ ।
यसअघिको निर्वाचनमा एमालेको तर्फबाट उपप्रमुखका उमेद्वार भएर निर्वाचन जितेका लिला राना नगरप्रमुखको उमेद्वार बनेका छन्भने अघिल्लो निर्वाचन पराजित राष्ट्रिय जनमोर्चाका नेता नरबहादुर पुन यसपटक सत्तारोहणका लागि संघर्ष गरिरहेका छन् । दुबै जना बीचको चुनावी रस्साकसी निकै पेचिलो बनिरहेका बेला निर्वाचनमा होमिँदा उमेद्वारहरुका एजेण्डा के हुन् । हारजीतको आधारहरु के–के छन् । किन दिने त यिनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले जैमिनीमा गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका नेता नरबहादुर पुनसँग गरेको छोटो संवादको सम्पादित अंशः
जैमिनी नगरमा यसअघिको निर्वाचनमा पराजित हुनुभएको थियो । फेरी पनि हजुर नै मेयरको उमेद्वारमा कसरी योग्य हुनुहुन्छ ?
– मैले अघिल्लो निर्वाचन हारेको होईन् । त्यो त एउटा प्राविधिक कारण मात्रै थियो । जनताले अनुमोदन गर्दागर्दै पनि १ सय ६ मतान्तरले मैले हारेँ । धेरै मत बदर भएका थिए । अहिलेको निर्वाचनमा पनि मेरो चाहना वा मागले होईन जनताको माग र हाम्रो गठबन्धनको मागले म उमेद्वार भएको हो । जनताले नै मागेपछि योग्य र अयोग्यको कुरै भएन् । म जनता, पार्टी र गठबन्धनले मागेकाले उमेद्वार भएको हुँ ।
तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?
– पार्टीमा अरु थिए, थिएनन् भन्ने कुरै भएन् । म भन्दा योग्य धेरै साथीहरु छन् पार्टीमा तर जनताको माग, पार्टीको विश्वासले म उमेद्वार भएको हो ।
जैमिनी नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?
– हाम्रो गठबन्धनले नै निर्णय गरेर प्राथमिकता तय गरेका छौं । दुईवटा कुरामा हाम्रो बिशेष प्राथमिकता रहने छ । पहिलो कुरा छ जैमिनीका नगरबासीको जीवनस्तर सुधार गर्नका लागि हाम्रा कार्यक्रम रहने छन् । उत्पादनमा हाम्रो जोड रहने छ । हरेक क्षेत्रमा बिशेषज्ञसहितको समुहले कार्यक्रम तयार गर्ने, त्यसको गुरुयोजना तयार गर्ने र सोहीअनुसार काम गर्ने हाम्रो प्राथमिकता हो । गठबन्धनमा सोहीअनुसार सहमति भएको छ । सेवा प्रबाह सन्तुलित र समानुपातिक बनाउनेमा हाम्रो जोड रहने छ ।
तपाईं निर्वाचित हुनुभयो भने पाँच वर्षपछि जैमिनी नगरबासीले के–के फरक पाउलान् त ?
– हामी यो पाँच वर्षमा पाँच दलिय सहमतिकै आधारमा काम गर्ने छौं । पहिलो कुरा त नगरपालिका सिस्टममा चलेको हुने छ । हामीले नगरलाई सिस्टममा लैजाने सहमति गरेका छौं त्यहि मिसनमा लाग्छौं । सहमतिअनुसार प्रतिबद्धता तयार भएको छ । प्रतिबद्धता पत्रमा उल्लेख भएअनुसारका काम गरेको अवस्थामा हुने छौं ।
कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?
– मलाई भोट दिनका लागि, हाम्रो गठबन्धनका उमेद्वारलाई भोट दिनका लागि हामीले भनिरहेका छौं । रष्ट्रियता, गणतन्त्र र संविधानको रक्षाका लागि हो जनताले हामीलाई भोट दिने । प्रतिगमनको बिरुद्धमा हामीलाई भोट दिने काम जनताको हो । हामी जनजीविकाको पक्षमा लड्छौं त्यसैले हामीलाई भोट दिनुपर्छ ।





