बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शासक होइन सेवक भएर काम गर्छौं : लिला राना

शासक होइन सेवक भएर काम गर्छौं : लिला राना


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७९, शनिबार

यसअघिको स्थानीय तह निर्वाचनमा तेस्रो शक्तिका रुपमा रहेको नेकपा एमालेसँग पहिलो शक्ति बनेको नेपाली कांग्रेस, दोस्रो शक्ति बनेको राष्ट्रिय जनमोर्चा र चौथो शक्ति बनेको माओवादी केन्द्र मिलेर जैमिनी नगरपालिकामा प्रतिस्पर्धा चलिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जैमिनीमा हुने रोचक प्रतिस्पर्धा चासोको बिषय बनेको छ । पहिलो दुई प्रतिस्पर्धी नै गठबन्धन गरेर तेस्रो बनेको प्रतिस्पर्धी सँगको चुनावी जोडघटाउ अंकमा आँकलन सुरु भएको छ । तर जैमिनीको प्रतिस्पर्धा सोचेको जस्तो सहज भने छैन् । गठबन्धनमा सहभागि पार्टीहरु भित्रको बिमतिहरु र एमालेको सशक्त प्रचारका कारण जैमिनीको निर्वाचन पेचिलो बन्दै गएको छ ।
यसअघिको निर्वाचनमा एमालेको तर्फबाट उपप्रमुखका उमेद्वार भएर निर्वाचन जितेका लिला राना नगरप्रमुखको उमेद्वार बनेका छन्भने अघिल्लो निर्वाचन पराजित राष्ट्रिय जनमोर्चाका नेता नरबहादुर पुन यसपटक सत्तारोहणका लागि संघर्ष गरिरहेका छन् । दुबै जना बीचको चुनावी रस्साकसी निकै पेचिलो बनिरहेका बेला निर्वाचनमा होमिँदा उमेद्वारहरुका एजेण्डा के हुन् । हारजीतको आधारहरु के–के छन् । किन दिने त यिनै उमेद्वारलाई मत ? यी र यस्तै विविध बिषयमा हामीले खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ ढोरपाटनकर्मी तारानाथ आचार्यले केही समान प्रश्नहरुसहित जैमिनीमा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार लिलासँग गरेको छोटो संवादको सम्पादित अंशः

 

उपमेयरबाट राजीनामा दिएर मेयर पदको प्रतिस्पर्धामा हुनुहुन्छ । बढुवा भयो भनौकी हजुर नै योग्य हुनुहुन्थ्यो त्यसका लागि र टिकट पाउनुभयो ?

– यो स्वभाविक प्रक्रिया भयो । उपप्रमुख भएको व्यक्तिले स्वभाविक रुपमा प्रमुख पदको दाबी गर्ने कुरा नौलो भएन् । अघिल्लो कार्यकालमा म उपप्रमुख भएको एमालेबाट हो । त्यो बेला हाम्रो पार्टी र मेरा सपना थिए । ती सपना पुरा गर्ने चरणमा हामी हुँदा–हुँदै कार्यकाल सकियो । अधुरा सपना पुरा गर्न, सुरु भएका काम सम्पन्न गर्न र गठबन्धनलाई चुनौती प्रस्तुत गर्न मेरो उमेद्वारी हो । पार्टीले मलाई हिजोका काम, मेरो निष्टा, सिद्धान्त र क्षमता हेरेर उमेद्वार बनाएको हो ।

तपाईं जत्तिकै योग्य अरू व्यक्ति पार्टीमा थिएनन् र ?

– यो त मेरोभन्दा पनि पार्टीको कुरा हो । एमाले जस्तो पार्टीमा योग्य नेता हेरै हुनुहुन्छ । म पहिला उपप्रमुख भएर काम गरेको अनुभवी र पार्टीमा निरन्तर योगदान गरेको व्यक्ति भएका हिसाबले पार्टीले मलाई योग्य उमेद्वारको रुपमा अघि सारेको हो । साथीहरु भित्रबाटै उपप्रमुख भएको व्यक्तिले अब प्रमुखमा काम गर्न सक्छस् भनेर सर्वसम्मत नाम सिफारिस भएपछि म उमेद्वार भएको हो ।

जैमिनी नगरपालिकामा तपाईंको मुख्य तीन प्राथमिकता के–के हुन् ?

– सुन्दर र समृद्ध जैमिनी बनाउने मेरो योजना छ । पूर्वाधारमा स्तरीय सडक, प्रशासनिक भवनहरु बनाउने, स्वास्थय संस्थाका भवन तथा अन्य भवनहरु बनाउने मेरो प्राथमिकताको कुरा हो । जैमिनीलाई कृषि र पशुपालनका क्षेत्रमा व्यवसायीकरण भएको नगरको रुपमा विकास गरेर मासु, दुध, अण्डा र फलफुलमा आत्मनिर्भर नगरपालिका बनाउने योजना छ । कृषि तथा पशुपालनलाई व्यवसायीक बनाउने र आयको स्रोतका रुपमा विकास गर्ने । पर्यटनका क्षेत्रमा विकास गर्ने र रोजगारी सिर्जना गर्ने तथा कला संस्कृति र हाम्रा परम्पराको संरक्षण र प्रबद्र्धनमा बिशेष जोड दिने योजनामा छु ।

निर्वाचित हुनुभयो भने पाँच वर्षपछि जैमिनी नगरबासीले के–के फरक पाउलान् त ?

– म निर्वाचित भएर आउँदा जैमिनी सुशासनयुक्त नगरपालिका भएको हुने छ । यहाँ कृषि र पशु विकासका क्षेत्रमा महत्वपूर्ण काम भएका हुनेछन् । खानेपानी, शिक्षा, स्वास्थ्य र सिंचाईको क्षेत्रमा अहिले अधुरा रहेका काम पुरा भएको अवस्था हुने छ । यहाँको प्रशासन झण्झट नभएको प्रशासन, प्रबिधियुक्त प्रशासनका रुपमा विकास भएको हुने छ ।
हामी शासक होईन सेवक भएर काम गर्ने छौं । जिल्लामै पहिलो सेवक जनप्रतिनिधि भएको नगरका रुपमा विकास भएको हुने छ । सबै स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु हुने छ । देश विदेशमा सिप सिकेका युवाहरुलाई अनुदान, सहयोग तालिम लगायतका कार्यक्रममार्फत उत्पादनमा जोडिएको हुने छ । विदेशमा भएका नेपालीको गुनासो सुन्ने प्रवासी डेस्कको स्थापना हुने छ । हाम्रो पार्टीको प्रतिबद्धता अनुसारका योजना, स्मार्ट विद्यालय, अनुभुती हुने गरी काम भएको नगरका रुपमा विकास हुने छ ।

अघिल्लो चुनावमा पनि तपाईंको पार्टीको यस्तै प्रतिबद्धता थियो । तर, चुनावपछि चुपचाप बस्नुभयो ।

– त्यसो होईन, हामीले जैमिनी नगरपालिका सुन्यबाट बनाउन सुरु गरेका हौं । सबै काम त भएनन् होला । स्रोत साधन हेरेर पनि कुरा गर्नुपर्छ । पहिला दुई वर्ष कानून र पछिल्ला दुई वर्ष कोभिडले खायो । औषतमा हामिले प्रतिबद्धताको नजिक पुगेर काम गरेका छौं । सडक नभएका ठाउँमा सडक पुगेका छन् । प्रशासनिक भवन बन्ने काम सुरु भएको छ । विद्यालय, स्वास्थ्य संस्था, घरबास, कृषिमा विकास, सामाजिक विकास, प्रबिधियुक्त प्रशासन, सुकुम्बासी समस्या समाधान, फुसका छाना बिस्थापन लगायतका हाम हामीले भनेकै काम थिए । पालिका मुकाम कुश्मीशेरा बजारको विकासले समग्र नगरको सुधारको झल्को दिएको छ ।

कार्यकर्ताहरूले भोट दिन्छन् नै होला, पार्टी बाहिरकाहरूले तपाईंलाई किन मत दिने ?

– अहिलेको मेरो प्रतिस्पर्धी उमेद्वार जो हुनुहुन्छ उहाँ सत्ता गठबन्धनको तर्फबाट उमेद्वार हो । सत्ता गठबन्धन स्वार्थहरुको झुण्ड मात्रै हो । न योजना न विचार पाँचथरी विचार भएकाहरुको समुहले कस्तो काम गर्ला ? यो अलोकप्रिय, अलोकतान्त्रिक र अपवित्र छ । त्यो नै मैले मत पाउने आधार हो । गठबन्धनका बिरुद्धमा सारा नेपाली जनाता छन् । गठबन्धनको विकल्प एमाले हो र त्यसको उमेद्वार म हो । म जत्तिकोे स्पष्ट अडान, भिजन भएको उमेद्वार जनताको मतको कदर गर्नसक्ने उमेद्वार हो । नेकपा एमालेले अघि सारेको उमेद्वार भएकाले देशको विकास, राष्ट्रियताको रक्षा र समृद्धिको संवाहक पार्टीको उमेद्वारलाई जनताले नहिच्किचाइकन मत हाल्नुहुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->