म्याग्दी/ आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा चारदिनका लागि बन्द हुने भएको छ । स्थानीय तहको निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमन लगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि वैशाख २६ देखि ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले नागरिकता, नावालक, राष्ट्रिय परिचय पत्र, राहदानी, पेन्सन लगायतका सेवाहरू जेठ ३ गतेदेखि नियमित हुने बताए ।‘अब निर्वाचन सकिएपछि सेवा नियमित हुन्छ,‘सबै कर्मचारीहरु खटिने भएकाले अन्य कार्यालयमा समेत सेवाप्रवाह नियमित हुदैन’, प्रजिअ रानाले भने । जिल्ला प्रशासन कार्यालयसँगै जिल्लाभित्रका प्रदेश, संघ र स्थानीय तह मातहतका कार्यालयहरूको सेवा समेत प्रभावित भएको छ । कार्यालयमा कार्यरत कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाइएपछि सेवा प्रवाह जेठ महिनादेखि प्रभावकारी हुने बताइएको छ ।





