शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा जीप दुर्घटना : ‘छोरो ऐया भन्छ, आमा खोज्छ, म के भन्ने ?’

स्याङ्जा जीप दुर्घटना : ‘छोरो ऐया भन्छ, आमा खोज्छ, म के भन्ने ?’

अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनलाई सान्त्वनाको भाषा के बुझून् ? वश उनी घरि खेल्छन्, घरि ऐया दुख्यो भन्दै चिच्याउँछन् ।


  • विकास रोकामगर
  • बैशाख ३१ २०७९, शनिबार

पोखरा/ शुक्रबार गाउँभरि भोट हाल्ने उल्लास थियो । वालिङ १४ शिख्र्रेबाट मतदानस्थलसम्म पुग्न मुस्किलले ४५ मिनेट लाग्थ्यो । अर्जुन कुँवर आफूसहित श्रीमति र आमासँग मतदान गर्न जाने तयारीमा थिए । त्यतिकैमा गाउँलेलाई लिन एउटा जिप आइपुगेको खबर सुने ।
कुँवरकी श्रीमति २५ वर्षीया श्रीमति जमुना कुँवर २ जिउकी थिइन् । हिँड्न गाह्रा होला भनेर उनले आमा ४३ वर्षीया पोटकुमारी गुरुङ र भान्जा कुशल कुँवरसँग जिपमा मतदानस्थलसम्म पठाउने निर्णय गरे । उनीहरुको साथमा गत पुसमामात्रै २ वर्ष पुगेको छोरा अनिष कुँवर पनि थिए ।

तर, जब गाडी त्यहाँबाट हिँड्यो केही समयपछि नै उनले अप्रत्याशित खबर सुने, ‘जिप पल्टियो । गाडीमा भएकाहरु बाँच्ने सम्भावना कम छ ।’ कुँवरको होश, हवाश उड्यो ।

‘२ जिउकी भएकी बुढी हिँड्न गाह्रा हुन्छ होला भनेर गाडीमा जाऊ भनेको थिएँ । गाडीमा केही घुमाउरो बाटो पथ्र्यो । तर, हिँडेर सींधै जान मिल्थ्यो,’ कुँवर भन्छन्, ‘जेठ अन्तिममा डेलिभरी केस भएकाले हिँड्नु हुन्न भनेर गाडीमा जाऊ भनेको थिएँ ।’

१४ जनाको मृत्यु हुने गरी सिर्खेबाट मतदानतर्फ गइरहेको उक्त जिप दुर्घटनामा कुँवरले श्रीमति जमुनासहित आमा पोटकुमारीलाई गुमाएका छन् । दुर्घटनामा ३ वर्षे छोरोको शरीरभरि चोट लागेको छ । उनले छोराको थप उपचारका लागि पोखराको गण्डकी मेडिकलमा ल्याएका छन् ।

अनिषलाई भुलाउन हातमा सानो खेलौना दिइएको छ । उनी एकछिन खेल्छन्, रमाउँछन् । तर, शरीरको घाउले धेरै भुल्न दिँदैन । घरिघरि दुख्यो भन्दै आमा खोज्छन् । ‘ऐया भन्छ । रुन्छ । मैले के गर्ने के भन्ने ?’ निरस मुद्रामा कुँवर प्रश्न गर्छन् । अस्पताल आएकाहरु अनिषलाई सान्त्वना दिन्छन् । तर, आफूमाथि परेको वज्रपातको पीडासमेत अनुभूत नभएका उनलाई सान्त्वनाको भाषा के बुझून् ? वश उनी घरि खेल्छन्, घरि ऐया दुख्यो भन्दै चिच्याउँछन् ।

दुर्घटनामा श्रीमति र आमाको मृत्यु भएको भनेर अर्जुनलाई अरुले नै खबर पु¥याइदिएका हुन् । तर, उनलाई विश्वास छैन । एम्बुलेन्सले घाइतेहरु ल्याउँदा पटकपटक त्यतै आँखा सोझ्याउँछन् । तर, प्रत्येक पटक नै उनी फरक अनुहार पाउँछन् । ‘मैले पनि यसकी (छोरा) आमा र मेरी आमाको डेथ भयो रे भन्ने खबर पाएको छु । त्यति क्लिएर बुझ्न पाएको छैन,’ उनी भन्छन्, ‘आफूले देखेपछि पो थाहा हुने हो ।’

वालिङ १४ पञ्चम अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ झर्दैै गर्दा ग २ च ३०२६ नं को जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृत्यु हने सबै एकै वडाका हुन् ।

मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दुर्घटनामा ज्यानै गुमाउनु प¥यो । अहिले वालिङको १४ नम्बर वडा शोकमा छ । जिपमा प्रायः महिलाहरुलाई पठाएर पुरुषहरु भने हिँडेरै जाने स्थानीयको सल्लाह थियो ।

भएका सबै अर्जुनकै वडाका आफन्तहरु हुन् । त्यसमध्ये घाइते भएका १६ वर्षीय कौशल कुँवर उनका भान्जा पर्छन् । मतदान गर्न माइजु (जमुना) भित्र छिरेकोबेला अनिषको कुरुवा बस्ने गरी उनी त्यहाँ जान तयार भएका थिए ।

जिपको छतमा बसेका कौशल गाडी खस्न थालेको चाल पाएपछि उनको खुट्टामा सामान्य चोट लागेको छ । अन्यजस्तो उनको अवस्था भने गम्भीर छैन । ‘मलाई माइजुले बाबु हेर्ने भनेर गाडीमा बसेको हुँ । मेरो त भोट गर्ने बेला पनि भएको छैन,’ दुर्घटनामा घाइते कौशल भन्छन्, ‘छतमा बसेको थिएँ । गाडी खस्न लागेको थाहा पाएपछि हाम फालिहालें । खासै ठूलो चोट लागेको छैन ।’

दुर्घटनामा मृत्यु हुनेहरुमा ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ७० वर्षीया भीमकला कुवर, ४३ की पोटकुमारी कुँवर, ४२ वर्षीय ज्ञानदली कुँवर, ५० वर्षीया मिना कुवर र १४ वर्षीया फुलदेवी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको पोखरामा उपचार भइरहेको छ ।

हाम फालेर बचें : कौशल

बाटो अफरोड थियो । आरालोमै घुम्ती पनि थियो । खास म माइजुको छोरा हेर्न भनेर गएको थिएँ । मतदान केन्द्रमा माइजु भित्र पस्दा बाहिर बाबु हेर्ने मेरो जिम्मा थियो । मेरो त भोटर कार्ड पनि छैन । पछि त्यो घुम्तीमा गाडी लड्नेजस्तो भएपछि मैले हाम फालेको हुँ । हाम फाल्नेबेला मेरो खुट्टामा चोट लागेको छ । खुट्टाको बुढी औंलाबाहेक अरुमा चोट लागेको छैन ।

जिप स्पिड थिएन, सुस्तै थियो । मान्छे जिपको छतमा खासै धेरै थिएनन् । तर, भित्र भने धेरै थिए । ड्राइभरले रक्सी पनि खानु भएको थिएन । उहाँ पनि घाइते भएर अहिले यही अस्पतालमै हुनुहुन्छ । गाडी टर्निङमा खसेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->