बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अब हामी गठबन्धन, एमाले होइन एक हौँं, हरेक निर्णय सर्वसम्मत हुन्छ : महानगर प्रमुख आचार्य

अब हामी गठबन्धन, एमाले होइन एक हौँं, हरेक निर्णय सर्वसम्मत हुन्छ : महानगर प्रमुख आचार्य


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ११ २०७९, बुधबार

पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।
अन्तिम परिणाम घोषणा नभए पनि आचार्यले ६ हजार हाराहारी मतान्तरले जित्ने निश्चित भएको छ । एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै आचार्य पोखराको १५ औं मेयर बनेका हुन् । उपमेयरमा भने गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङसँग पराजित भइन् ।
नवनिर्वाचित मेयर आचार्यले घोषणा भएअनुसार नै पाँच वर्षभित्र पोखरामा मेट्रो रेल चल्ने दाबी गरेका छन् । सुशासन, पोखरा बसपार्क व्यवस्थापन, ल्याण्डफिल्ड व्यवस्थापन उनका मुख्य योजना लगायत विषयमा नवनिर्वाचित मेयर आचार्यसँग गरिएको कुराकानीः

चुनावको परिणाम अपेक्षित नै हो ?

मैले चुनाव हुनुभन्दा पहिल्यै १५ देखि १८ मतले गठबन्धनले जित्छ भनेको थिएँ । १४ देखि १६ हजार मत बदर भएको सुन्नमा आएको छ ।
उम्मेद्वार नभएको दलको चिन्ह पनि मतपत्रमा राख्ने भनेर अन्तिममा निर्णय भयो । पहिलो छाप कलममा बाँकी सबै रुखमा भनेर गठबन्धन भएका १६ वटा वडामा प्रचार गरेका थियौँ । अन्तिममा हामीले पहिलो रुख छोड्नपर्छ भन्न जानै भ्याएनौँ । त्यो मत पनि जोड्ने हो भने हाम्रो मत २० देखि २५ हजारको बीचमा छ । बदर नै स्वीकार्दा पनि ६ हजारको हाराहारी मतान्तरले जितेका छौँ ।
उपमेयरमा केही मत नपुग्दा सँगै निर्वाचित गर्न सकेनौँ । परिणामलाई स्वीकार्नेबाहेक विकल्प छैन । मेयर र उपमेयर सेट नै नआउँदा म दुःखी छु । चुनाव लड्दासम्म म, उपमेयर र वडा जनप्रतिनिधि दलका थियौँ । सपथ ग्रहण गरेपछि हामी सबै पोखराका नागरिकको साझा प्रतिनिधि हुनेछौँ । कुन पार्टीका थियौँ, कसले भोट दिएको थियो भन्दा पनि सबैले भोट दिनुभएको बुझेर अगाडि बढ्ने छौँ ।
कोपिला रानाभाट सँगै भएको भए जुन हामीले योजना बनाएका थियौँ त्यो कार्यान्वयन गर्न सजिलो हुन्थ्यो । कोपिला जीलाई म महानगरमा सल्लाहकारको रुपमा सँगै राखेर लैजान्छु । त्यसकारण हामी टिममा नै रहन्छौँ ।

पोखरामा एकीकृत समाजवादीबाट मेयरबाहेक अरु जनप्रतिनिधि हुनु हुँदैन । गठबन्धन नै भए पनि नगरसभा अल्पमतमा पर्ने देखिन्छ, यसले असर गर्ला नि ?

यो गठबन्धन हामीले पाँच वर्र्षलाई गरेका हौँ । माथि जेसुकै भए पनि यो पाँच वर्ष कायम रहन्छ । पोखरा बनाउने कुरामा सबैको साझा निर्णय हुन्छ । घोषणापत्रमा एमाले र हाम्रा शब्द फरक होलान् । आशय एउटै छन् ।
नगरसभामा हामीले नचाहिने इस्यु लैजान्नौँ । सबैको कुरा पोखरा बनाउने नै हो । नगरसभा प्रत्यक्ष प्रसारण हुन्छ । नचाहिने कुरामा विरोध गरेर जनताको अगाडि नाङ्गिने काम कसैले गर्नुहुन्न । हाम्रो बोर्डको सबै निर्णय सर्वसम्मत गर्ने मेरो प्रयत्न हुन्छ । त्यहाँ कुनै स्वार्थ राखिँदैन । स्वार्थ नराखी काम गरिन्छ भने अल्पमत, बहुमत भन्न पर्ने कुरा छैन ।
त्यस्तो हो भने काठमाडौँ, धनगढी, जनकपुर, धरानको मेयर एक्लै हुनुहुन्छ । म पार्टीबाट आएको हो । एमालेबाट आएका साथी हिजो सँगै काम गरेकाहरु हुनुहुन्छ, त्यसैले उहाँहरुलाई सम्बोधन गर्न मलाई गाह्रो छैन । गठबन्धनमा त मसँगै आएको भएँ । उहाँहरुको अंशहंश साथमै छ । पाँच वर्ष काम गर्ने भनेर साझा घोषणा पत्र बनाएका छौँ । त्यो घोषणापत्र लागु गर्न गठबन्धनभित्र अल्पमत राख्नुपर्ने कुरै भएन ।

घोषणापत्रमा मेट्रो रेलको परिकल्पना गर्नुभएको छ । सम्भव छ ?

दुई वटा ताल जोड्ने कुरा गरेका छौँ । पाँच वर्षभित्रमा त्यो देख्नुहुन्छ । उज्यालो हुन्छ भन्ने हेर्न बिहानसम्म कुर्न पर्छ । पहिला गुर्छ भनेको काम नगरिएकाले यिनले गर्लान् र भन्ने आशंका छ । हामी जे भनेका छौँ, त्यो गर्छौँ । त्यसमा सबै पोखरेली जनताको साथ रहने छ ।

मतगणना हुँदाहुँदै काठमाडौँ गएर मन्त्रीहरु भेटेर आउनुभयो के–के माग्नुभएको छ ?

म निर्वाचित हुन्छु भन्ने थाहा थियो । कहाँबाट कति भोट आएको छ, जितको सम्भावना कति छ भन्ने सबै उम्मेदवारले आकलन गर्छन् । हाम्रो टिमले पनि गरिरहेको थियो । हाम्रो भोट आकलन गर्न बनेको टिमले गरेको सर्वेक्षण अहिलेसम्म एकदमै सही छ ।
संघ सरकारको बजेट १५ जेठमा आउँदै छ । महानगरको सबै संयन्त्रसँग बुझ्दा ल्याण्डफिल्ड साइट व्यवस्था नगरी भएको छैन । पोखरामा नयाँ विमानस्थल नचलाइ भएको छैन । त्यसको वैकल्पिक कुरा छैन भनेपछि अहिले काम नभए एक वर्ष कुनुपर्ने हुन्छ ।
काठमाडौँ गएर अर्थमन्त्री ज्यूलाई भेटेँ । सहरी विकास मन्त्रालयबाट त्यसलाई फलोअप गर्नुपर्ने रहेछ । मेयरको उम्मेद्वार चुनावको मतगणना नै छोडेर आएपछि सदाशयता देखाउनुभयो । पोखराको ल्याण्डफिल्डलाई सुरुमा केही रकम विनियोजन गर्ने र पछि आवश्यकताअनुसार गर्ने गरी प्रक्रियामा गएको छ । यो खुसीको कुरा हो ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियोस् भनेर नीति तथा कार्यक्रममा राख्दिन अनुरोध गरेँ । अर्थमन्त्री, पर्यटनमन्त्रीले त्यसलाई स्वीकार गर्नुभएको छ । मलाई लाग्छ त्यो काम भएर आउँछ ।

पहिलो बजेटका योजना प्राथमिकता के हुन्छन् ?

मेगा प्रोजेक्ट पहिलो बजेटमा आउँदैन । सुशानका लागि कार्यालयलाई सिस्टममा ल्याउनेलाई जोड दिन्छौँ । बजेट कति पाउँछौँ, प्रमुख कार्यकारी अधिकृत, महाशाखा प्रमुकको ब्रिफिङ लिनुप¥यो । अहिलेको बजेटले कस्तो काम गरेको छ, के परिमार्जन गर्नुपर्छ, हामीले भनेका कार्यक्रमलाई कसरी लागु गर्न सकिन्छ, एक महिना महानगरपालिकालाई पढेर बजेट बनाउँछौँ ।
गौरवका आयोजना अध्ययन गर्नुपर्ने हुन्छ । हामीले हालको पोखरा बसपार्कलाई सिटी बसपार्क बनाउने भनेका छौँ । त्यसका लागि चाहिने के हो भन्ने पहिलो बैठककै एजेण्डा बनाउँछौँ । पोखरा छिर्नेबित्तिकै बनाउने भनेको बसपार्कलाई चाहिने पूर्वाधार, अध्ययनको काम यो बजेटमा सुरु गर्छौँ । पोखरालाई दुई महिनाभित्र पार्किङ व्यवस्थित बनाउँछौँ । सशुल्क भएको ठाउँमा शुल्क तिर्नुपर्छ, सशुल्क नभनेको ठाउँमा पर्दैन ।
राजस्व उठाउन धेरै ठाउँ छन् । उठाउने ठाउँ खोज्न प¥यो । त्यसको व्यवस्थापन गर्छौं । भित्रि सडकमा एउटा साइडमात्रै पार्किङ हुँदा समस्या भयो भन्ने गुनासो छ । पार्किङबारे ट्राफिकले प्लान बनाएर ल्याउनुहुन्छ त्यसलाई पनि पहिलो बैठकमा छलफलको विषय बनाउँछौँ ।

अब तपाईंले बनाउने बजेट र तपाईंको अन्तिम बजेटमा कति फरक हुन्छ ?

कम्तीमा ४ गुणा बढ्छ । (चालु आवमा पोखराको बजेट ६ अर्ब २७ करोड रुपैयाँ बजेट)

पहिलो निर्णय के गर्नुहुन्छ ?

पोखरा महानगरपालिका अभिभावक होस् भन्ने अनुभूत सबैलाई होस् भनेर जन्मदेखि मृत्युसम्म जति दर्ताका प्रक्रिया हुन्छन्, त्यसलाई नि:शुल्क गर्ने पहिलो निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->