म्याग्दी/म्याग्दीमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन र मालिका गाउँपालिकामा सम्पन्न भएको कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल निल्नु न ओकाल्नु’ भयो । बिहीबार सम्पन्न भएको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेसँगै जिल्लामा सत्ता गठबन्धनको बाँकी सहकार्यमा झड्का लागेको छ।नेकपा एमालेलाई हराउने उद्देश्य राखेर स्थानीय तहमा केही पालिकामा गरिएको तालमेलमध्ये धवलागिरी बाहेक अन्यमा सोचेजस्तो नतिजा नआएको र बेनी नगरपालिकामा माओवादी केन्द्रका भोटहरू एमालेका उम्मेदवारलाई खन्याइएको विषयमा मतभेद भइरहेको अवस्थामा बिहीबार मालिका गाउँकार्यपालिकाको निर्वाचनको दृष्यले समेत तालमेल र सहकार्यलाई पुनर्विचार गर्नुपर्ने अवस्था बनाइदिएको छ ।
पाँचदलीय गठबन्धनले तालमेल गरेर चुनावी मैदानमा होमिनबाट अलग भएको मालिकामा माओवादी केन्द्रले कांग्रेसलाई कार्यपालिकाको निर्वाचनमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।सत्ता गठबन्धनको सहकार्यमा कार्यपालिकाको निर्वाचन भएपनि माओवादी केन्द्रका २ र एकिकृत समाजवादीबाट १ जना र बाँकी ३ जना एमालेबाट निर्वाचित भएपछि तालमेललाई स्थायी रुपमै तोड्ने संकेत देखिएको छ । जिल्लामा कांग्रेस र माओवादी बिचको सहकार्य तोड्दिा फाइदा नेकपा एमालेलाई हुन्छ ।
बेनी नगरपालिका सहित अन्य स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा अबको दृष्य रोचक हुने सम्भावना छ । नेकपा एमालेको मंगला र अन्नपूर्ण गाउँपालिकामा एकल बहुमत छ भने नेपाली कांग्रेसको रघुगंगामा एकल बहुमत छ । रघुगंगामा माओवादी केन्द्र क्लिन स्वीप भएको अवस्थामा कार्यपालिका एक सदस्यमा नेपाली कांग्रेसले सघाउने अवस्था देखिएको छ भने बेनी नगरपालिकामा समेत सत्ता गठबन्धनकै तालमेल छ । मालिकाको दृष्यले धवलागिरीमा छँुदैन भने अन्य स्थानीय तहमा भने पर्ख र हेरको अवस्थामा पुगेको बताइएको छ ।‘माओवादीसँगको सम्बन्ध चिनीभित्रको कमिलाजस्तै भयो,‘सहकार्यलाई इमान्दारिताभन्दा पनि स्वार्थसँग जोड्ने गरिएको छ’ एक नेपाली कांग्रेसका नेताले भने ।
बेनी नगरपालिकामा इमान्दारितापूर्वक उपमेयरमा सहयोग गर्दा समेत माओवादीले वडामा नराम्रो पाठ सिकाएको कांग्रेसका नेताहरुको भनाई छ भने माओवादी केन्द्रको नेताहरुले समेत तालमेलमा कमजोर स्थानमा धकेल्ने र सहज स्थानमा कांग्रेसले पन्छाउन खोजेको अवस्थामा सहकार्यमा असहज भएको बताएका छन् । ‘बागलुङ र पर्वतमा भएको तालमेल यहाँका कांग्रेस नेताले सिक्न सकेनन्,‘कांग्रेसका नेताहरुको दम्भले पार्टीका कार्यकर्ताहरुलाई र जनप्रतिनिधिलाई समेत सम्हाल्न गार्यो भएको छ’ एक माओवादी नेताले भने । सत्ता सहकार्य गरेका दलहरु बिचको एकता बलियो बनाउनुपर्नेमा कांग्रेसबाट समेत इमान्दारितापूर्वक सहकार्य नभएको बताएका छन् ।
स्थानीय तहको कार्यपालिकाको निर्वाचनमा देखिएको दृष्यले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तीन दल एक्लै चुनावी मैदानमा देखिने वा केन्द्रमा तालमेल भएपनि जिल्लामा कांग्रेसका कार्यकर्ताले माओवादीलाई र माओवादीकाले कांग्रेसलाई सघाउने वातावरण कमजोर भएको बताएका छन् । तालमेलको दृष्य मतगणनास्थलमा देखिएपछि सत्ता गठबन्धनका नेताहरुमा सहकार्यभन्दा पनि अलग अलग उपस्थिती हुने सम्भावना देखिएको छ । स्थानीय तहको निर्वाचनमा जिल्ला नेतृत्वको अपरिपक्काको कारण गठबन्धनको हातमै पुगेका केही पालिकाहरू गुमेको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मालिका आफ्नो पोल्टामा पार्न खोज्दा अन्य धवलागिरी र बेनी नगर,अन्नपूर्ण गाउँपालिकामा तालमेल भयो । दुबै पार्टीका यूवा नेताहरूको अडान फेर्न नसक्नु जिल्ला नेतृत्वको कमजोरी भन्दै दुबै पार्टीका नेताहरुले आलोचना गर्ने गरेका छन् ।
मालिकामा माओवादी फ्लोर क्रस
म्याग्दीको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरीएमालेलाई सहयोग गरेको छ । आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनको बहुमत रहेको कार्यपालिकामा नेकपा एमालेबाट प्रतिक्षा विक,मनकुमारी पुन, विजय भएका छन् भने नेकपा माओवादी केन्द्रबाट दलबहादुर खड्कथोकी, देवी पटेल र एकिकृत समाजवादीबाट अनुप गौचन विजय भएका छन् । स्थानीय तहको निर्वाचनमा तिक्ततापूर्ण सम्बन्ध रहेको सत्ता गठबन्धनले कार्यपालिकामा सहकार्य गरेपनि मतदान प्रक्रियामा माओवादीले एमालेलाई सघाएको छ ।माओवादी र एमालेबीचको सहकार्य पनि आश्चर्यजनक देखिएको छ । गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष खरमाया विटालु र निर्वतमान कार्यपालिका सदस्य गौमती चापागाईलाई भने पराजित गरिएको छ ।
विटालु कार्यपालिका हुँदै जिल्ला समन्वय समितिमा आउने तयारी थियो । पार्टीले उपाध्यक्षको टिकटमा चलाखी गरेपनि विटालुले पार्टीलाई जिताउन निरन्तर फिल्डमा सक्रिय भएपनि कार्यपालिकामा प्रतिनिधित्वमा असहयोग गरिएको छ । कार्यपालिकामा अनुभवी भन्दा पनि नयाँलाई अवसर दिन खोजेजस्तै गरी एमालेबाट समेत प्रतिनिधित्व भएको छ । यता सहमति बाहिर गएर नेकपा माओवादीले राजनीतिक इमान्दारिता उल्लंघन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ भने नेकपा माओवादीले भने प्रतिक्रिया दिएको छैन।जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको सहकार्यलाई समेत मालिकामा भएको गतिविधिले झस्काएको बताइएको छ ।
कार्यपालिका सदस्य निर्वाचनमा एमालेको १७, कांग्रेसको १५ र माओवादीको ५ गरि ३७ जना मतदाता रहेका थिए । निर्वाचन पूर्व नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए । तालमेल गर्दा एमालेसंग मतदाता संख्या १७ र उनिहरुसंग २० पुगेको थियो । नेकपा माओवादीले फ्लोर क्रस गर्दा नेकपा एमालेका ३ जना सदस्य विजयी भएका हुन । १५ सदस्य रहेको कार्यपालिकामा नेकपा एमालेको ८ सदस्यसहित बहुमत पुगको छ । कांग्रेसको ३, माओवादीको ३ र एकिकृत समाजवादीका १ जना सदस्य रहेका छन ।





