आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

खराब आन्तरिक व्यवस्थापनले श्रीलंका समस्यामा

खराब आन्तरिक व्यवस्थापनले श्रीलंका समस्यामा

ठूला विकास परियोजनालाई अनावश्यक रुपमा भूराजनीतिकरण गरिनु गलत ।


  • Dhorpatan News
  • जेष्ठ २९ २०७९, आइतबार

श्रीलंकाका परराष्ट्र सम्बन्ध विज्ञ जर्ज कुकले केही वर्षयताको खराब आन्तरिक व्यवस्थापनका कारण श्रीलंका अहिलेको जटिल संकटमा पुगेको बताएका छन् ।

न्युज सोसाइटी नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), यसका अन्तर्राष्ट्रिय अनुभव र नेपाल’ विषयक अन्तक्र्रियामा श्रीलंकाका पूर्वकूटनीतिज्ञ समेत रहेका कुकले त्यस्तो बताएका हुन् ।

‘श्रीलंकाले केही वर्षयता लिएका विकाससम्बन्धी नीति सही थिएनन्। त्यसकै परिणामस्वरुप अहिलेको समस्या आएको हो । अहिलेको संकट आउनुमा ७० प्रतिशत घरेलु बेथिति नै जिम्मेवार छ। कोरोना महामारीले अर्थतन्त्र थला परेकै थियो। त्यसपछि युक्रेन संकटले पनि हामीलाई असर पा¥यो,’ श्रीलंकाले चीनसँग बीआरआई अन्तर्गत लिएको ऋण तिर्न नसकेका कारण अहिलेको संकटमा फसेको हो कि भन्ने प्रश्नमा उनले भने ।

श्रीलंकाले हम्बनटोटा बन्दरगाह निर्माणमा चीनसंग लिएको ऋण तिर्न नसक्दा अहिलेको समस्या भोगिरहेको भन्ने भाष्यको उनले घुमाउरो रुपमा खण्डन गरे । ‘हेर्नुस्, तपाईं कुनै मुलुकसँग परियोजनाका लागि ऋण लिनुहुन्छ भने त्यसमा उसका सर्त अवश्य हुन्छन् । ऋण लिने र दिने मुलुकबीच दुवैलाई लाभ हुने खालको सम्झौता हुन आवश्यक छ। श्रीलंकाले चीनसँग पनि त्यही गरेको छ। अर्को कुरा, विदेशी सहयोग भनेको कुनै निशुल्क भोजन जस्तो होइन,’ कुकले भने ।

नेपालले पनि चीन वा अन्य मुलुकसँग ऋण सहयोग लिँदा आफूलाई अप्ठ्यारो नपर्नेगरी लिनुपर्ने उनले बताए । उनले अमेरिकाले पनि दोश्रो विश्वयुद्धपछि युरोपेली मुलुकको पुनर्संरचनाका लागि ऋण सहयोग दिएको बताउँदै युरोपेली मुलुकले त्यसलाई सही व्यवस्थापन गर्न सकेका कारण विकास गर्न सफल भएको बताए । रणनीतिक मामिलाका जानकार कुकले हम्बनटोटा बन्दरगाह निर्माणको सुरुवाती चरणमा रहेको र त्यसमा अबका दिनमा औद्योगिक पार्कहरु बन्ने क्रममा रहेको बताए । ‘हम्बनटोटा बन्दरगाह दूरगामी महत्वको परियोजना हो । त्यसबाट अबका पुस्ताले लाभ लिने अपेक्षा छ । अर्को कुरा, त्यहाँ अरु देशले पनि अब व्यापार गर्न पाउनेछन्, चिनियाँ कम्पनीको मात्रै नियन्त्रण रहने कुरा सत्य होइन,’ उनले भने ।

चीनसँग श्रीलंकाको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले त्यो टुट्न नसक्ने बताए । ‘चीन एउटा उदाउँदो विश्व शक्ति हो। फेरि, चीनसँगको सम्बन्ध हिजो स्थापित भएको होइन। हाम्रो ६५ वर्षदेखि सघन सहकार्य छ । श्रीलंकाले उसले विकासमा गरेको प्रगतिबाट आर्थिक लाभ लिन चाहेको छ,’ उनले भने । श्रीलंकाले अन्तर्राष्ट्रिय मञ्चमा समेत रुस र चीनबाट सहयोग पाइरहेको उनले बताए । ‘संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच सदस्यमध्ये रुस र चीनले श्रीलंकालाई समर्थन गर्छन् । श्रीलंकाले यो कुरालाई पनि हृदयंगम गरेर सम्बन्ध राख्दै आएको छ नकि कसैको दबाब वा प्रभावमा,’ उनले भने ।

अन्तक्र्रियामा भूराजनीतिक मामिलाका जानकार गेजा शर्मा वाग्लेले नेपालले चीनको बेल्ट एन्ड रोड र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत राष्ट्रिय हित हुनेगरी सहयोग लिनुपर्ने बताए ।

‘चीन हाम्रो छिमेकी मुलुक मात्रै नभएर उदाउँदो शक्तिराष्ट्र पनि हो । उससँग सम्बन्ध राख्नुपर्ने राजनीतिक, आर्थिक र भूराजनीतिक बाध्यता छ । तर हामीले चीनबाट व्यवसायिक ऋण नभएर अनुदानमा जोड दिनु आवश्यक छ,’ वाग्लेले भने । उनका अनुसार ठूला विकास परियोजनालाई अनावश्यक रुपमा भूराजनीतिकरण गरिएका कारण नेपालले अपेक्षाकृत लाभ लिन सकेको छैन । ‘विकास परियोजनामा विदेशी सहयोग लिनु नै राष्ट्रघाती हो भन्ने गरिन्छ । जुन गलत हो। हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई हेर्ने हो,’ उनले भने । पत्रकार अजयभद्र खनालले चीनले सन् २००७ मा लोकतन्त्र पुनर्स्थापना भएयता चिनियाँ व्यावसायिक संस्थामार्फत् नेपालमा आफ्नो भूमिका बढाएको बताए ।

उनले बीआरआई अन्तर्गत चीनसँग व्यावसायिक ऋण लिन नहुने बताए । अर्का पत्रकार विश्वास बरालले बीआरआई अन्तर्गत नेपालमा रेल परियोजना जोड्ने कुरामा चिनियाँहरु नै द्विविधामा रहेको आफूले चिनियाँहरुसँगको कुराकानीमा पाएको बता ए। उनले नेपाल मामिलामा भारत, अमेरिका र पश्चिमा राष्ट्र एकातिर र चीन अर्कोतिर जस्तो वातावरण बनेको बताए । ‘देउवा सरकार बनेपछि चीन सशंकित देखिन्छ । अर्कोतिर अमेरिका र पश्चिमा मुलुक उत्साहित देखिन्छन्। हालैका दिनमा अमेरिकी सैनिक अधिकारीहरुको हुल नै नेपालमा आइरहेका छन्,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->