पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बजेटमा शाहसिक पर्यटकीय खेलहरुलाई जोड दिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजानिक गरेसँगै प्रदेश सरकारले पोखरामा रहेको प्याराग्लाइडिङको विकल्पको सम्भाव्यता अध्ययनसमेत गर्ने भएको छ । प्याराग्लाइडिङको उत्कृष्ट गन्तव्य रहेको पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै संचालन नहुने सम्भावना रहेको छ । विमानस्थलकै कारण अब पोखरामा प्याराग्लाइडिङको उडानमा ठूलो समस्या आउन लागेको हो । यहाँको सराङकोट हवाइ रुटमा पर्ने भएकाले उडान रोकिँदैछ भने यही समस्या समाधान गर्न प्रदेश सरकारले पोखराको चिनारी र पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेको प्याराग्लाइडिङको विकल्प खोज्ने घोषणा गरेको हो ।
२०७५ सालमा इन्डोनोसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमात्रै पदक हासिल गरेको थियो । एसियाली खेलकुदको इतिहासमा नेपालले २० वर्षपछि पदक जितेको थियो । पुरुष तर्फको क्रसकन्ट्री इभेन्टमा नेपालले रजत प्राप्त गरेको थियो ।
तर, पछिल्लो समय प्याराग्लाईडिङ उडान हुने वा नहुने भन्ने अन्योलता छाइरहँदा आगामी आर्थिक वर्षको बजेटले भने प्याराग्लाइडिङ अन्यत्र सार्ने सम्भावना बढेको छ । गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गरी थप पर्यटकीय गतिविधि बढाउने बताए । उनले गण्डकी प्रदेशभित्र रहेका साहशिक पर्यटन प्रवद्र्धनका सरकारले जोड दिने बताए । ‘गण्डकी प्रदेशभित्र क्यानोनिङ्ग, न्यानोपी वाकिङ्ग, जलयात्रा, जिपलाइन, बन्जीजम्प, बिच पर्यटन तथा वाइल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाई प्याराग्लाइडिङ्गको वैकल्पिक स्थानको खोजी गरी थप पर्यटकीय गतिविधि बढाइने छ’ उनले भने ।
यस्तै प्रदेशमा एक स्थानीय तह एक प्रमुख पर्यटकीय पदमार्ग निमार्ण गरिने घोषणा भएको छ । धार्मिक स्थल रिडीदेखि लिगलिगकोटसम्म गण्डकी टे«ल, व्यास गुफा छाब्दी कर्लुङ रामकोट बन्दीपुर हिलेखर्क छिम्केश्वरी पदमार्ग, बेलढुङ्गा पञ्चकोट, हटिया बुढिकोट गोर्खा पदमार्ग, देवघाट मौलाकाली देवचुली नरम पुवाकोट नारीभञ्ज्याङ दाउन्ने महाभारत पदमार्गलगायतको सम्भाव्यता अध्ययन गरी पदमार्ग विकास गुरुयोजना निमार्ण गर्नका लागि आवश्यक बजेटको व्यवस्था भएको उनले बताए ।
खेलकुदको बजेट ३६ करोड ९ लाख : नवौंमा स्वर्ण विजेतालाई नगद पुरस्कारदेखि खेलाडी बिमासम्म
गण्डकी प्रदेश सरकारले खेलकुदतर्फ ३६ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । परिषदका लागि २५ लाखको विनियोजन भएको छ । चालु आर्थिक वर्षमा खेलकुदमा २९ करोड बजेट विनियोजन भएको थियो । केन्द्रले पाँच करोड र प्रदेशले २४ करोड विनियोजन गरेको थियो । तर, अहिले भने बजेटमा वृद्धि भएको छ । गण्डकी प्रदेश सरकारले खेलकुदमा ३६ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले असोजमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेता खेलाडीलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ । गण्डकी प्रदेशमै आयोजना हुने प्रतियोगिताका लागि प्रदेश सरकारले आवश्यक बजेटको समेत विनियोजन गरेको छ । बुधबार आगामी वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री रामजी प्रसाद बरालले नवौंमा स्वर्ण विजेता र प्रदेशस्तरीय वा राष्ट्रियस्तरका प्रतियोगितामा प्रदेशबाट सहभागि जनाउने खेलाडीको विमा गर्ने बताए । ‘ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको छु’ उनले भने, ‘राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरेको छु ।
राष्ट्रिय तथा प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीहरूको बिमा गर्ने व्यवस्था मिलाएको छु ।’ खेलकुद पूर्वाधारको निमार्णमा जोड दिई पोखरा रंगशाला विभिन्न कभर्डहल र प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता संचालन गर्न सक्ने गरी नेपाल सरकारसँगको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नति गर्न व्यवस्था भएको बताए ।
प्रदेश भित्रको खेलमैदानको निमार्ण मर्मत तथा स्तरोन्नती गर्न आवश्यक बजेटको व्यवस्था गरेको र एक स्थानीय तह एक खेल मैदानलाई निरन्तरता दिएको जानकारी दिए । प्रदेश भित्र खेलकुद पूर्वाधार विकासका लागि रु. १५ करोड विनियोजन गरिएको छ ।
साहसिक खेलको प्रवद्र्धन एवम् प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटन प्रवद्र्धन गर्ने व्यस्था गर्ने उनले बताए । प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गर्नेसमेत उनले बताए ।





