
बागलुङ/ खेल क्षेत्रलाई राज्यले बेवास्ता गरेको खेल क्षेत्रका अगुवाले बताएका छन् । जिल्ला भलिबल संघको ५ औं जिल्ला अधिवेसनको क्रममा खेल क्षेत्रका अगुवाले संघ र जिल्ला तहमा बजेट नदिइकनै राखेप र मन्त्रालयले मनोमानी गरेको समेत आरोप लगाए ।
अधिवेसनको उद्घाटन गर्न आएका भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले खेलाडीको जीवनमा समेत राख्यले खेलवाड गरेको टिप्पणी गरे । ‘खेल जितेको केही दिन वाहवाह बनाउने, त्यसपछि वास्ता नगर्ने’ गुरुङले भने, ‘खेलाडीको जीवन सुरक्षा र परिवारको अवस्थामा राज्यले नहेर्ने हो भने खेल क्षेत्र पलायन हुन सक्छ ।’ उनले हामी दिन आएका हौं भन्ने भावना बोक्दा–बोक्दै पनि राज्यले खेलाडीको संरक्षणसमेत नगरेको बताए ।
कार्यक्रममा संघका क्षेत्रीय उपाध्यक्ष नविन कुमार गुरुङले रेफ्रीको लाइसेन्स नविकरणसमेत नगर्ने राज्यबाट खेल क्षेत्रमा के काम होला ? भनेर टिप्प्णी गरे । राज्यले समयमा संरक्षणका काम नभएमा खेलाडी उत्पादन र खेल क्षेत्र बिस्तारै लोप हुने उनको भनाइ छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले डिपिआर बनेको खेल मैदान बनाउन पनि राज्यले साथ नदिएको बताए । उनले आसन्न राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा गर्ने तयारी भएपनि पूर्वाधार र प्रशिक्षणमा कुनै बजेट नदिएको बताए । चालु बर्ष बिनियोजन भएको ३० लाख रुपैयाँ काम नभएर फिर्ता भएको भन्दै राज्यको कर्मचारीतन्त्रबाट समेत खेल क्षेत्र उपेक्षामा परेको बताए ।
बाङगेचउर खेल मैदानलाई रंगाशाला बनाउने काममा चालु बर्ष सरकारले ३० लाख बजेट बिनियोजन गरेको थियो । उक्त बजेटले काम थाल्ने भनेर ठेक्का प्रक्रिया थालेपछि राष्ट्रिय खेलकुद परिषदले कार्यक्रम रद्द गराएको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका सदस्य ताराप्रसाद शर्मा, राष्ट्रिय भलिबल संघका पदाधिकारीहरु राजकुमार गुरुङ, नविन कुमार गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





