पाकिस्तानको निजी क्षेत्रले श्रम शक्तिलाई उपयोग गर्न पुग्नेगरी रोजगारी सिर्जना गर्न सकेको छैन । जनताको आक्रोश उम्लिने विन्दुमा पुग्दैछ । बढ्दो आपराधिक घटनाक्रमले सामाजिक विखण्डनको संकेत गर्दैछ ।
युक्रेनमाथि रुसको आक्रमणले युरोपभर मात्रै होइन, मध्यपूर्वमा समेत आर्थिक झड्का लागेको छ । दशकौँदेखिको भ्रष्टाचार, कुव्यवस्थापन र अस्थिर शासनका कारण यसै पनि अर्थतन्त्र कमजोर रहेको पाकिस्तान खासगरी जोखिममा देखिन्छ । थुप्रै मुलुकहरु युक्रेनी वा रुसी खाद्यान्न र इन्धनमा निर्भर छन् । तर, पाकिस्तानलाई दुवैको आवश्यकता छ । उदाहरणका लागि जुलाई २०२० देखि जनवरी २०२१ सम्म पाकिस्तान इन्डोनेसिया र इजिप्टपछि युक्रेनी गहुँको तेस्रो ठूलो उपभोक्ता थियो। इन्धनको मूल्यवृद्धिबाट पाकिस्तानलाई ठूलो धक्का लागेको छ । पाकिस्तानको इन्धन आयात लागत २०२० देखि २०२१ सम्ममा ८५ प्रतिशतले बढेर करिब ६ अर्ब डलर पुगेको छ ।
पाकिस्तानका लागि यो निकै ठूलो समस्या हो । पाकिस्तानको आर्थिक वर्षको अन्त्य (३० जुन २०२२) मा उसको व्यापार घाटा बढेर करिब ५० अर्ब डलर पुग्यो । जुन गतवर्षभन्दा ५७ प्रतिशत बढी हो। सहबाज सरिफको सरकारले मे २०२२ मा ८ सयभन्दा बढी विलासी सामानको आयातमा प्रतिबन्ध नलगाएको भए यो घाटा अझ बढी हुने थियो ।
मध्यम वर्गले समेत मुद्रास्फितिको मार झेल्न सकिरहेको छैन । जुनमा मुद्रास्फिति २० प्रतिशतले बढ्यो । पछिल्लो समयको यो सबैभन्दा उच्च दर हो । अन्तर्राष्ट्रिय मुद्राकोषको निर्देशनअनुसार दिइँदै आएको अनुदान अन्त्य भएपछि विद्युत र ग्यास दुवैको मूल्य आकासिएको छ । विश्वभर तेलको मूल्यवृद्धिले बढाएकोभन्दा ज्यादा ।

लेखक : माइकल रुविन
खाद्य असुरक्षा बढिरहेको छ । स्टेट ब्यांक अफ पाकिस्तानका अनुसार ‘खाने तेल र तेलहनको आन्तरिक माग पुरा गर्न आयातमा निर्भरता गएको दुई दशकदेखि बढिरहेको छ । २०२० मा आन्तरिक उपभोग हुनेमध्ये खाने तेलको ८६ प्रतिशत आयात गरिएको थियो । यो अनुपात २००० मा ७७ प्रतिशत थियो।’ जनसंख्या वृद्धिले आयात बढाउने काम मात्र गरिरहेको छ। स्वदेशमै भटमास र पामको तेल उत्पादन गर्ने परियोजनाहरु असफल भएका छन् ।
अर्कोतिर डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउ निरन्तर ओरालो लागिरहेको छ । गएको वर्ष मात्रै ३० प्रतिशतभन्दा बढीले पाकिस्तानी रुपैयाँको अवमूल्यन भयो । यही अवधिमा भारतीय रुपैयाँ चाहिँ ६ प्रतिशतले मात्रै अवमूल्यन भयो । पाकिस्तानी रुपैयाँको भाउ घट्दा मध्यम वर्ग, खासगरी डलरमा बचत गर्न नसक्नेहरुलाई चोट पर्छ। धनीमानीहरु आकर्षक घरजग्गामा लगानी गर्छन्। जसले भाडाबाट आम्दानी मात्र गर्दैन, रोजगारी पनि सिर्जना गर्न सक्छ ।
सिटी ग्रुपको इमर्जिङ मार्केट डिभिजिनका पूर्व प्रमुख रणनीतिकार युसुफ नाजिरको आकलनमा पाकिस्तानको विदेशी मुद्रा सञ्चिती फेब्रुअरीयता घटेर आधा भइसकेको छ । अहिले पाकिस्तानसँग मात्र ६.३ अर्ब डलर विदेशी मुद्रा सञ्चिती छ । यो ‘अधिकतम दबाब’ अभियानमा चेपिएको बेला इरानसँग भएजति नै हो । पाकिस्तानको विदेशी मुद्रामा आएको नाटकीय कमीको कारक इस्लामावाद आफैँ हो । नाजिरका अनुसार पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले अन्य मुलुकलाई भन्दा ज्यादा उद्धार गरेको छ । यसले पाकिस्तानमा गम्भीर सुधार लागू गर्न सरिफ, भुट्टो र खानहरु अनिच्छुक या अक्षम छन् भन्ने देखाउँछ ।
अन्तर्राष्ट्रिय समुदायको धैर्य पनि क्षीण भएर गइसकेको छ । सुधार गर्छौँ भन्ने पाकिस्तानको बाचालाई अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वास गर्दैन । त्यसैले ऊ थप सहयोग गर्न अनिच्छुक छ । फाइनान्सियल एक्सन टास्क फोर्सले (एफएटीएफ) ले माग गरेअनुसार इस्लामावादले सुधार गर्न अनिच्छा देखाएको छ । यसले पाकिस्तानको वित्तीय क्षेत्रको अँध्यारो पक्षसँग उसको इन्टर सर्भिसेस इन्टेलिजेन्स एजेन्सी (आईएसआई)को कति घनिष्ट सम्बन्ध छ भन्ने देखाउँछ ।
केही पाकिस्तानी उदारवादीहरुले अमेरिकासँगको रोकिएको व्यापार तथा लगानी ढाँचा सम्झौता फेरि सुरु गर्ने प्रयास गरेका थिए। तर, त्यो सफल भएको छैन । खासगरी पाकिस्तानको कमजोर नियामक अभ्यास, आपूर्ति सञ्जाल व्यवस्थापन, तथ्यांक संरक्षण र बौद्धिक सम्पत्तिको अधिकारका विषयमा वासिंगटनले चिन्ता व्यक्त गरेको छ ।
एकपछि अर्को पाकिस्तानी नेताले सुधारमा अनिच्छा देखाउनुको एउटा कारण थियो– चीनले सुनाएका परीकथा स्वीकार गर्न सजिलो हुन्छ भन्ने विश्वास उनीहरुलाई भयो । पाकिस्तानको आर्थिक रक्षक हुनुको सट्टा बेइजिङले चाइना–पाकिस्तान इकोनोमिक करिडोर (सीपेक) लाई पाकिस्तानलाई कज्याउने संयन्त्र बनायो । जुन परियोजना वर्तमान प्रधानमन्त्रीका दाइ नवाज सरिफले सुरु गराएका थि ए। ‘हाम्रो मित्रता हिमालभन्दा अग्लो, सागरभन्दा गहिरो र महभन्दा मिठो छ,’ सरिफले भनेका थिए। तर, सीपेक पाकिस्तानको आर्थिक वृद्धि गर्ने साधन बनेन, बरु बोझ बनेको छ ।
पाकिस्तानी सरकारको आम्दानी चिनियाँ उर्जा उत्पादकहरुको ग्यारेन्टी बस्दैमा खर्च हुन्छ । जबकि पाकिस्तानमा अझै विद्युत कटौती हुने गर्छ। गएको चार वर्षमा सबैभन्दा बढी चिनियाँ अनुदान तथा सहयोग प्राप्त गर्ने मुलुक पाकिस्तान नै हो । तथापि सीपेकको काम छिटपुट मात्रै हुने गर्छ ।
पाकिस्तानले चाँडै ‘बृहत् अर्थशास्त्रीय अस्थिरता’ सामना गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी विश्व बैंकले दिएको छ । त्यसलगत्तै सामाजिक अस्थिरता सुरु हुनसक्छ । पाकिस्तानको निजी क्षेत्रले श्रम शक्तिलाई उपयोग गर्न पुग्नेगरी रोजगारी सिर्जना गर्न सकेको छैन । जनताको आक्रोश उम्लिने विन्दुमा पुग्दैछ । बढ्दो आपराधिक घटनाक्रमले सामाजिक विखण्डनको संकेत गर्दैछ ।
श्रीलंकाको पतनले यो क्षेत्रलाई चिन्तित तुल्याएको छ। तर, पाकिस्तानको पतनले विश्वलाई नै चिन्तित पार्नुपर्छ । दशकौँसम्म राज्यको असफलताले पाकिस्तानमा भयानक परिदृश्य उत्पन्न गरेको छ। त्यस्तो परिदृश्यको स्वाद पाकिस्तान र बाँकी विश्व दुवैले चाखिसकेका छन् । किनभने पाकिस्तानको पुरानो राजधानी तथा वित्तीय केन्द्र कराँची हिंसा, अतिवाद र चरम गरिबीको चपेटामा परेको छ भने
अफगानिस्तानसँगको सीमा रहेका अनेकौँ क्षेत्रमा पाकिस्तानी अधिकारीहरुले नियन्त्रण गुमाएका छन् । पाकिस्तानको आणविक हतियारको सुरक्षाका विषयमा अमेरिका, भारत र इरान चिन्तित हुनु स्वभाविक छ । किनभने पाकिस्तानी सैन्य अधिकारीहरु पनि संघर्षरत छन् । पाकिस्तानी सम्भ्रान्तहरु यथार्थलाई अस्वीकार गरेर बाँचिरहेका छन् । आफूहरु बाँचेको सुखीसम्पन्न जीवन समग्र समाजबाट अलगथलग छ र त्यो स्थायी छ भन्ने विश्वास उनीहरुलाई छ । तर, त्यो सत्य होइन। भ्रम टुट्दैछ । र, त्यसको नतिजा राम्रो हुनेछैन ।
(नेसनल इन्ट्रेस्टबाट)





