पोखरा/ पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्यन्यायाधीश डिल्लीराज आचार्यले जुराइदिएका हुन् ।
२०६८ सालमा जागिरको सिलसिलामा पोखरा रहँदादेखि आफूले संकलन गरेका र लेखेका कवितालाई एकीकृत रुप दिँदै आएका आचार्यले अन्य कविता पनि समेटेर ‘काव्यरसमा पोखरा’ नामक कृति बाहिर ल्याएका हुन् ।
कृतिमा २०१० सालदेखि २०७८ सालसम्म पोखराबारे लेखिएका कविता संग्रह गरिएको छ । टिप्पणीकार डा जगन्नाथ रेग्मीका अनुसार अग्रज, अनुज र समकालीन कविका कविता रहेकाले ग्रन्थ सङ्ग्रहणीय छ । अतिथित्रय पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् ।
मेयर आचार्यले डिल्लीराजको कविता कृति आगामी पुस्ताका लागि नयाँ प्राप्ति हुने धारणा राखे ।नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखराले सबैलाई कवि बन्न प्रेरित गरेको उल्लेख गरे ।नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसचिव तीर्थ श्रेष्ठले ५० वर्ष पछिको पोखरा मोदी, मादी र आँधी बीचको पोखरा हुने आँकलन गरेको बताए । कृतिका स्रष्टा डिल्लीराज आचार्यले पोखराको साहित्य, कला र संगीतका माध्यमबाट उल्लेख्य आयआर्जन गर्न सकिने भएकाले त्यतातर्फ पनि ध्यान दिन महानगरलाई सुझाए ।





