बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मानवसेवा आश्रमको भवन बनाउन १ करोड ६० लाख खर्च

मानवसेवा आश्रमको भवन बनाउन १ करोड ६० लाख खर्च


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

बागलुङ, १४ साउन– मानव सेवा आश्रमको आफ्नै भवन निर्माणले गति लिएको छ । निर्माणको क्रममा गत आर्थिक बर्षमा आश्रमको भवन निर्माण समितिले गरेको खर्च बिवरण शुक्रबार सार्वजनिक गरेको छ ।
पत्रकार स्नेह मिलन कार्यक्रममार्फत् खर्च सार्वजनिक भएको हो । गत आर्थिक बर्ष आश्रम निर्माणमा ९८ लाख ४६ हजार रुपैयाँ खर्च भएको देखिएको छ । निर्माण समितकी कोषाध्यक्ष सुनिता श्रेष्ठले उक्त खर्च सार्वजनिक गरेकी हुन् ।
सामाजिक विकास कार्यालयको ४६ लाख ६३ हजार, बागलुङ नगरपालिकाको ८ लाख ५१ ह्जार, जैमिनी नगरपालिकाको १० लाख ५३ हजार रकम खर्चेर आश्रमको भवन निर्माण भएको हो । त्यस्तै म्याग्दीको रहुगंगा गाउँपालिकाको १ लाख ९४ हजार, जलजला गाउँपालिकाको ६ लाख ६४ हजार, विभिन्न व्यक्तिको सहयोगबाट १२ लाख १७ हजार तथा आश्रमको हेटौडा शाखाबाट १० लाख रकम सहयोग प्राप्त भएको समते बताइएको छ ।
कुल १२ करोड ५० लाख रुपैयाँमा तीन वटा ब्लक बनाउने योजना अनुसार अहिले सम्म दुइ वटा ब्लकको काम भैरहेको हो । ‘हामीले अहिलेसम्म १ करोड ६० लाख रकम खर्चेर भवन बनाइसकेका छौ’, निर्माण समितिका अध्यक्ष शिव खड्काले भने, ‘दाताहरुको सहयोगले महान कार्य सम्पन्न गर्न सकिने भयो ।’ काम थाल्दा हातमा पैसा नै नभएपनि क्रमश साथ र सहयोग पाएको उनले बताए ।
चालु बर्षका लागि पनि सामाजिक विकास मन्त्रालयको ५० लाख, ताराखोला र बडिगाड गाउँपालिकाको १२ लाख, बेनी नगरपालिकाको ४ लाख, गलकोट नगरपालिकाको ५ लाख, बरेङ गाउँपालिकाको ६ लाख ५० हजार सहयोग आउने निश्चित भैसकेको हो । त्यस्तै सिवाईसी सहकारीले कर्मचारीको प्रतिदिन एक रुपैयाँको दरले ८ लाख ६४ हजार रकम सहयोग गरेको खड्काले जानकारी दिए ।
यहाँ दर्जन बढी मानिसले अक्षयकोषका लागि समेत रकम संकलन गरिरहेका छन् । कार्यक्रममा सामाजिक अगुवा देववहादुर श्रेष्ठले २५ हजार रुपैयाँ सहयोगको घोषणा समेत गरे । उनले कार्यक्रमको उद्घाटन गर्दै मानव सेवामा रकम खर्चन सबैलाई आग्रह गरे । ‘बजारमा ५ तले घर बनेका छन्, घरमा गयो भने दुइ जना मात्रै बस्छन्’ उनले भने, ‘करोडौं खर्चेर घरहरु सुनसान बनाउनुभन्दा मानव सेवा आश्रममा केही रकम खर्चनु राम्रो हुन्छ ।’ आजकल भ्रष्टाचार समेत अरब रकममा हुन थालेको भन्दै सामाजिक सेवाको भावना मर्दै गएकोले मानव सेवा आश्रमले केही भावना जगाउन सहयोग गरेको उनको तर्क थियो ।
भवन निर्माण समितिका अध्यक्ष शिव खड्काको अध्यक्षता सचिव निर्मलबहादुर श्रेष्ठको संचालन र आश्रमकी संचालक सुमिरा लामाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । आश्रममा अहिले ४६ जना असहाय मानिसहरु बस्छन् । आश्रम बिभिन्न मानिसको दानमुठीको भरमा संचालनमा आएको छ । आश्रम हाल निजी संस्थाको घरमा बसिरहेको छ । आफ्नै भवन बनेपछि निरयघाट स्थित मानवसेवा आश्रमको भवनमा सर्ने लक्ष राखिएको खड्काले जानकारी दिए ।
आश्रमसँगै उक्त स्थानमा रहेको महादेव मन्दिर व्यवस्थापन गर्ने, वृद्दाश्रम बनाउने, खानेपानीका धारा व्यवस्थापन गर्ने र धार्मिक पर्यटक समेत भित्रयाउने लक्ष्य राखेर काम भएको श्रेष्ठले जानकारी दिए । त्यसकालागि सबैको चासो र साथ पाएमा छिटै आश्रम सार्न सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->