बेनी, १६ साउन– म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगरी फर्किएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुगेका थिए ।
आवश्यक समन्वय र विवादपछि पालिकाले कार्कीलाई हाजिर नगराएपछि बागलुङ फर्किएका छन् । साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर हाजिर हुन पुगेका कार्कीलाई मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले हाजिर गराउन नसक्ने पत्र दिएर पठाइएको थियो । मङ्गलाका प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाको सरुवा भएपनि पत्र प्राप्त भइनसकेको अवस्थामा एक्कासी नयाँ कार्यालय प्रमुख आएपछि समन्वयको अभाव भन्दैहाजिर नगरी फिर्ता गरेको कार्कीको भनाई छ । ‘मैले समन्वय गर्नुपर्ने कारण छैन,मन्त्रालयको दिएको जिम्मेबारी अनुसार पुगेको थिएन’,कार्कीले भने । बागलुङको काठेखोला गाउँपालिकाका प्रशासकीय अधिकृत कार्कीलाई मन्त्रालयले मङ्गलामा सरुवा गरेर पठाएको थियो । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतको गतिविधिबाट कार्यसम्पादनमा समस्या हुने देखेर सहमतिमै फिर्ता गरेको बताए ।
‘मन्त्रालयले एक जनालाई भनेर अर्कालाई सरुवा गरेर पठाएको छ, यहाँ हुनुभएका हाकिमलाई समेत सरुवाको पत्र प्राप्त भएको छैन’, अध्यक्ष रोकाले भने । प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादनले नै गाउँपालिकाको गतिविधि देखिने भएकाले समन्वयको अभाव महसुस गरेको अध्यक्ष रोकाको भनाइछ । पालिकाभित्रको छोटो छलफलले भविष्यमा थप मनमुटावको संकेत देखिएपछि सरुवा भएर आएका कार्कीले नै लिखित कागज दिन अनुरोध गरेपछि गाउँपालिकाले उपलब्ध गराएको थियो । प्रशासकीय अधिकृत ढुङ्गानाको सरुवा भएपछि गाउँपालिकाले सूचना अधिकारी राजेन्द्र आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । म्याग्दीमै पहिलो स्थानीय तहको निर्वाचनपछि कार्यसम्पादनमा असहज हुने अवस्था देखिएपछि रघुगंगा गाउँपालिकाले समेत एक प्रशासकीय अधिकृतलाई फिर्ता गरेको थियो ।





