पोखरा – २०६८ सालको जनगणना अनुसार गण्डकीबाट विदेशिनेको सख्ंया ३ लाख २२ हजार थियो भने अहिले ४९ हजार ४५० महिलासहित २ लाख ८७ हजार ४५० जना बाहिरिएको तथ्याङ्क छ ।
सहरी जनसंख्या बढेको छ । यो ६६.०८ प्रतिशत छ । तर यसले सहरी गरिबी बढाएको छ । लुम्बिनी वृद्धिदर बढी छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालबाट विदेशिएकाहरुको संख्या २१ लाख ६९ हजार ४७८ पुगेको छ । तीमध्ये ४ लाख ६ हजार १६३ अर्थात् १८.७२ प्रतिशत महिला छन् । दश वर्षअघि नेपालबाट विदेशिनेको संख्या १९ लाख २१ हजार ४९४ थियो । २ वर्ष कोभिडका कारण विदेशिने जनसंख्या घट्यो । १० वर्षअघि विदेशिने महिलाको संख्या २ लाख ३७ हजार ४ सय थियो भने अहिले यो ७१ प्रतिशतले बढेको छ । अर्थात् रोजगारीको सिलसिलामा विदेशिने महिलाको संख्या बढ्दो छ ।
यसले एकातिर जनसंख्या वृद्धिमा असर पु¥याएको छ भने अर्कोतर्फ पारिवारिक संरचना खल्बल्याएको छ । मनाङ र मुस्ताङबाट विदेशिनेको संख्या राष्ट्रिय तथ्याङ्कमै कम छ । आर्थिक वर्ष २०७८÷०८९ मा गण्डकीबाट ६७ हजार २३१ जना विदेशिएका छन् । तीमध्ये ३ हजार ४४४ जना महिला छन् । १५ देखि २४ वर्षसम्मका युवाहरुको बेरोजगारी दर बढी छ ।
आर्थिक वर्ष २०७८/०७९ को चैतसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी स्याङ्जा ११ हजार २८९ र तनहुँबाट ११ हजार ८०६ जना बाहिरिएका छन् । स्याङ्जालाई प्रशासक उत्पादन गर्ने मेसिन मान्छि । स्याङ्जा र तनहुँजस्ता जिल्लाबाट धेरै जनशक्ति विदेशिनु भनेको दक्ष जनशक्तिको कमी हुनु हो ।
अर्कोतर्फ, यसले नेपालमा सम्भावनाहरु खुम्चँदै गएको इंगित गर्ने समाजशास्त्रीहरुको मत छ ।
गण्डकीमा रोजगारका क्षेत्रहरुको विकास नहुनुले पनि विदेशिनेको संख्या बढेको हो । गण्डकीको श्रम बजारले ३ लाख ३२ हजार ३७२ जनालाई रोजगार दिएको तथ्याङ्क छ । सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने ५१ हजार पुरुषको संख्या जोड्दा पनि प्रदेशले सबैलाई रोजगारी दिन सकेको देखिँदैन ।
नेपाल मानव विकास सूचकाङ्क २०१२ का अनुसार गण्डकी प्रदेशमा १५ वर्ष देखि ५९ बर्षको काम गर्ने सक्रिय उमेर समूहमा १३ लाख ६७ हजार ७३८ जनसंख्या रहेको थियो भने त्यसमध्ये १० लाख ७३ हजार ८५८ (७८.५ प्रतिशत) आर्थिक रुपले सक्रिय रहेको छ । अहिले यो संख्या बढेको गण्डकी नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गिरिधारी शर्माको भनाइ छ ।
गण्डकी प्रदेशमा १५ देखि ५९ वर्ष उमेरका जनसङ्ख्या मध्ये ३० प्रतिशत जनता अर्धबेरोजगार छन् । गण्डकीको प्रतिव्यक्ति आय १४ सय ३७ डलर त छ तर यहाँ आयमा असमानता बढी छ । तल्लो २० प्रतिशतको उपभोग्य क्षमता ६.९ प्रतिशत हुँदा उपल्लो १० प्रतिशत र तल्लो ४० प्रतिशतको आयमा गिनी कोफिसियन्ट १.४१ छ । यो देशकै उच्च हो । जसले गर्दा यहाँको जनशक्ति विदेशिएको छ । उनीहरुले नेपाल भित्रने कुल विप्रेषणमध्ये १४.४ प्रतिशतको योगदान भने गरेका छन् ।





