शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आजका युवाः कि रेलैमा कि जेलैमा !

आजका युवाः कि रेलैमा कि जेलैमा !

भविष्यका देशका कर्णधार अर्काको देशको कर्णधार बन्न कसले प्रेरित गर्दैछ ? राज्य, राजनीतिक व्यवस्था वा समयको प्रवाह कसको दोष छ ? किन खेदिरहेको छ देशले आफ्ना सन्ततिलाई ? देश त अमूर्त छ देश सञ्चालक मूर्त छन् । मूर्तहरुको विवेक कता हराइरहेको छ ?


  • कृष्णराज शर्मा
  • भाद्र २ २०७९, बिहिबार

आजकल समाजको सतही अध्ययन गर्न गाउँघरको शीतल चौतारी, चिया पसल, भट्टी वा अरु त्यस्तै गफाडी ठाउँ पुगिरहनै पर्दैन । अथवा टिभी, रेडियोमा कुनै विद्वान समाजशास्त्रीका अन्तर्वार्ता सुनेर वा समाजशास्त्रीय सैद्धान्तिक ठुल्ठूला पुस्तकका पानापानामा दिमाग चटाउनै पर्दैन । न त, फगत सेमिनार र गोष्ठीमा पुगेर समाजका यावत् कुराबारे र समाजलाई सुसंस्कृत बनाउने नाममा हुने वाईहात कुराहरु नै सुन्न पर्छ ।

यी तमाम कुराहरु छाडेर केबल हाम्रा हातहातमा रहेका मोबाइलमार्फत् मिनेटमिनेटमा देखिने फेसबुकका वाल हे¥यो भने हाम्रो समाजलाई काफी तरिकाले बुझिन्छ । त्यस्ता यावत् कुरा आधुनिक सामाजिक सञ्जालका विभिन्न माध्यमले सहजै हामीलाई स्थानीय समाजदेखि अन्तरर्राष्ट्रिय स्तरका घटना परिघटना बुझ्न र जान्नका लागि आवश्यक पर्ने भिटामिन प्रोटिन लगायतका थुप्रै खुराक सरलतापूर्वक प्रदान गरेको छ । हरेक कुराको सतहगत अध्ययन र गहिरो मनन गर्न कत्ति पनि असजिलो छैन । हामी छर्लंग भइरहेका छौं ।

पृथ्वीको जुन कुनामा बसेपनि अर्को कुनाको राम्रो नराम्रो खबरबाट बेखबर होइँदैन । म अमेरिका हुँदापनि पहिला ेप्राथमिकतामा मेरो स्थानीयता हुन्थ्यो । तु थाहा पाउँथें । त्यसपछि राष्ट्रिय र अन्तिममा अन्तर्राष्ट्रिय हुन्थे । उसैगरी थाहा हुन्थ्यो ।

थाहा पाउने क्रममा ‘फेसबुक’ खोल्यो कि दिनमा दुई तिन्टा फोटोले मेरो ध्यान नराम्ररी खिच्थ्यो । चिनारुमा नै यी फोटोहरु पर्थे । मै हुँ भन्नेले पनि आफ्ना छोराछोरीलाई खादामाला लगाएर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकप्वाइन्ट प्रवेश गर्नु अगाडिको अन्तिम विन्दुमा पुगेर खिचिएका तस्वीरले मेरो मथिंगल खल्बलिन्थ्यो । हुन त चोखो म पनि छैन । यस्तै तस्वीर खिचेर देखाउने र मख्ख पर्ने मध्ये म पनि एक हुँ ।

अहिले म अमेरिकामा आतेजाते गर्ने भएको छु । अहिले नेपाल आएको छु । बागलुङ छु । अमेरिकामा माथि भनिएअनुसार फेसबुक पेजमा त्रिभुवन विमानस्थलका युवा युवतीका बिदाइ दृश्य दिनदिनै देखिरहन्थें । कोही अमेरिका, कोही जापान, कोही अष्ट्रेलिया, कोही युरोप, कोही कोरिया लगायत समुन्द्रपारका मुलुकका लागि जहाज उड्नुअघि आधासञ्चो आधा विसञ्चोजस्ता तस्वीर देखिन्थे ।

प्रस्थान गर्नेको उज्यालो मुहार र बिदाइ गर्ने अभिभावकका मुहार बलपूर्वक हाँसेका देखिन्थे । त्यसमाथि जन्मदिने आमाको मुहारमा अश्रुमिश्रित खिसिक्क मुस्काएको फोटो देख्थें । भनेर नहुने ती दृश्यले मेरो मनमुटु कटक्क खाइरहन्थ्यो । ‘आफू त महादेव उत्तानो पर, कसले देला वर’ भनेजस्तै स्वयं म आफैं त परदेशिएको छु अरुलाई ‘परदेश नजाऊ’ कसरी भन्न सक्थें ?

मजस्ताले उनीहरुलाई के सुझाव सल्लाह र उपदेश दिनु ? ‘किन च्याउरिइस् मरिच आफ्नै राग’ले भनेझैं म चाउरिन्थें । भित्रभित्रै घुटुघुटु आँशु पिउँदै लाइक कमेन्ट केही नगरी ‘जाऊ बाबु जाऊ ! जाऊ नानी जाऊ ! तिम्रो देशले नै तिमीलाई धपाउँछ त तिमी किन बस्छौ ? शुभकामना छ जाऊ’ भन्थें ।

कहिल्यै नरोकिने विदेश प्रवाहको बाढी देखेर मनमनै गम्थें– यस्तै हो भने आउँदो बीस वर्षमा देशको भविष्य के होला ? म गम्भीर भएर घोत्लिन्थें । भविष्यका देशका कर्णधार अर्काको देशको कर्णधार बन्न कसले प्रेरित गर्दैछ ? राज्य, राजनीतिक व्यवस्था वा समयको प्रवाह कसको दोष छ ? किन खेदिरहेको छ देशले आफ्ना सन्ततिलाई ? देश त अमूर्त छ देश सञ्चालक मूर्त छन् । मूर्तहरुको विवेक कता हराइरहेको छ ?

अहिलेको राष्ट्रिय राजनीति र परिवेश देखेर मेरो मनमा उब्जेका यस्ता प्रश्नका उत्तर भेटाउनु भनेको आफैंलाई डिप्रेसनमा लैजानु हो । विसञ्चो हुनुवाहेक सञ्चै छु भन्ने आधार देख्दिनँ ।

परदेशबाट घर आएको भालिपल्ट यसो घरको धूरीबाट वरिपरिका बस्ती हेर्छु । फोटो खिच्छु । दुई वर्ष पहिले खिचेका फोटो दाँज्छु । एकदम बदली देख्छु । बस्ती बाक्लिएको छ । हर्लक्क बढेको छ । मसँगै बसेका एक मित्रले मेरो बजारगाउँतिर आँखा डुलाउँदा अचम्म मान्थे ।

‘डाँडाकाँडा रंगीन बनेछन् । ढलान घर भित्ताभित्तामा बनेछन् । कति राम्रो विकास भएछ, साँच्चै सिंहदरबार बनाउन सुहाउँदा बस्ती बनेछन् है !’ मित्र भन्दै सुनाएँ । तर, उनैले खिन्न हुँदै र त्यो गाउँबस्ती देखाउँदै गाउँको हालत सुनाए – ‘के गर्नु गाउँमा घरहरु टन्नै थपिएका छन् । बाहिर होहल्ला धेरै छ तर शून्य छ गाउँ । बुढाबुढी बाहेक केटाहरु कोही छैनन् । अहिले ऊ…त्यो गाउँमा जानुस् त तपार्इंलाई फुर्तीसाथ को हो ? के हो ? भनेर बोलाउने र सोध्ने मान्छे नै छैनन् । वृद्धवृद्धा र नौलो मान्छे देखे चुम्म बस्ने केटाकेटी मात्रै छन् । घरमात्र बनाएर के गर्नु गाउँ सुनसान बनेपछि ?’

उनले अझै जोडदिएर भने– ‘एकाध अल्झेका युवाहरु बाहेक गाउँमा बुढाबुढी र बालबालिका मात्रै छन अरु सबै विदेशिए !’

त्यसो त, आजभन्दा बाह्र वर्ष पहिले पनि यही कुरा हुन्थ्यो । गाउँमा पुरुषयुवा मलामी छैनन् । आईमाई मलामी जान थालेकाछन् । त्यो बाह्र वर्ष अगाडिको माथीको फोटोले अहिले उनले गरेको कुरालाई काट्नै सक्दैन्थ्यो ।

यसै मेसोमा सरकारी गठबन्धनमा लागेका हाम्रा बागलुङे एकजना पाका नेताले आफ्नो लोकप्रियता खस्कँदै गएपछि केही समय पहिले पुरानो लोकप्रियता फर्काउन बाध्य भएर सत्य बोलेछन् । उनको लोकप्रियता फक्र्यो, फर्केन थाहा छैन । कमसेकम यसअघि पनि उनलाई ‘थाहा’ त थियो । तर, गठबन्धनमा घुस्रेपछि थाहा पाउन छाडेका थिए ।

हालै, भाइरल हुनलाई उनले ‘युवाजति विदेश पठाएर नेपाललाई वृद्धाश्रम बनाइएको छ’ भनेर कुनै यौटा मञ्चमा यथार्थ बोले भन्ने मैले ठानेको छु । उनको भनाइ सुनेर धेरै स्तब्ध भए । म पनि भएँ । मैले मस्तिष्कमा युवाबारे मोही मथ्नु र उनको बाणी बाहिरिनु सँगसँगै प¥यो । जे भएपनि देशको यथार्थ कहेकोमा उनलाई मनमनै धन्यवाद दिएको थिएँ ।

विवाह गरेर बच्चा जन्मेदेखि हिजोआजका दम्पत्तिलाई पीरलो यही छ कि बच्चाको भविष्य के होला ? हामी कसैलाई विश्वासै छैन कि आफ्नो देशको सरकारले आफ्ना जन्मँदै गरेका नागरिकको पूर्ण ग्यारेन्टी दिन्छ भनेर । अरु त अरु गाँस, बास, कपासको ग्यारेन्टी दिन हजारौं नेपाली युवाहरुलाई ज्यान फाल्न लगाएर सरकारमा पुग्नेहरुले त नापेनन् भने अरुको के कुरा गर्ने ?
यस्तो अवस्थामा हाम्रो देशको भविष्य थाम्ने हाम्रा सन्तति देशमा अडिएनन् भने भोलिको हाम्रो नेपाल कसले थाम्ला ? लुटन मात्र जान्ने ‘ड्यामेज’ ठेकेदार दलाल र दादागिरीहरु देशमा हावी भएपछि विदेशी परचक्रीहरुले भोलिका दिनमा के के गर्ने होलान् ? अनुमान मात्र गर्न सक्छौं । भन्न केही सक्दैनौं ।

अहिलेका युवा पंक्तिलाई अरु देशको कमाईले पनि पुग्न छाडेको छ । येन, वन रिंगेट्, दिनार, रियल, युरो, पाउन्डआदि मुद्राले कुनै अर्थ दिँदैन । अर्थ छ त केवल डलरको । डलरले संसार पिटेको छ । मान्छेको दिमाग यही डलरमा जुवाडेले तास फिटेझैं फिटेको छ । र, धमाधम अमेरिका जानेको लर्को बढेको छ ।

तर, अमेरिका जान त्यति सजिलो पनि छैन । वैध तरिका भनेको कि डिभी, लोटरी कि अध्ययन भिसा नै हो । नत्र, अवैध रुपमा स्थलमार्ग भएर अमेरिकी सीमाना पार गर्नु नै हो । स्थलमार्गमा ६०, ७० लाख खर्चेर हुत्तिने युवाहरुको लस्कर डरलाग्दो छ । युवाहरु दलालको शरण पर्दै ‘मरे ज्यानै त जाला बाँचे श्रीमतीका घाँटीमा सुनका माला’ भन्दै हाम फालेका छन् ।

दलालहरुले पैसाको लोभमा ‘बाँचे मेरो पोई, मरे बुढीको छोरो’ भन्दै धमाधम घचेटिरहेका छन् । सरकारलाई हाइसञ्चो छ । ‘कुचोले गर्ने बतासले ग¥यो’ ह्वाट् मतलब ?

म नेपाल आएकै अर्को दिन एकजना भाइ त्यही अवैध बाटो समातेर देश छोडेछन् । उनका लागि वैधता यो जुनीमा त के अर्को जुनीमा पनि असम्भव लाग्यो होला । त्यसैले यो उपाय अपनाए । मैले मेरा साथीभाइको जमघटमा यसरी अमेरिका हानिएका थुप्रै युवाबारे सुनें, बुझें । कोही सफल कोही असफल । सफल हुनेहरुको कमाइ र फेसबुकका फोटा देखेर असफल हुनेहरु खिन्न देखिन्थे । भाग्यलाई दोष दिन्थे । तर हिम्मत र आँट राख्नेहरुको जोशमा पटक्कै कमी छैन ।

एकजना युवा भाइ भन्थे – ऊ गयो म पनि अमेरिका जाने हो । जे होला होला म त जाने हो अंकल भन्छन् । हैट् के हो यस्तो ? देख्दादेख्दै हामफाल्ने ? भुक्तभोगीहरु जो अमेरिका पुगेर पनि फर्कन विवश युवाहरुले सुनाएका कहाली लाग्दा अनुभव सुनाउँथे मैले ।

तर, यस्ता अनुभव सुनाउनु उनका लागि बाटो लागेकालाई अल्झ्याउने अपशकुन हुन् । खुट्टा छेक्ने त्यान्द्रा र ठेस लाग्ने ढुंगामात्र हुन् । उनले त गज्जबले उखानै हालेर भने–कि जंगे जेलमा कि जंगे रेलमा ! म त गएँगएँ ! के गर्ने, जंगे जेलमा पुगे त ठिकै थियो समुन्द्री भेलमा विलिन हुन्छ र पो पीर लाग्छ !

एउटा जिप चालक भाइ गाडी रोकेर विदेश जानेहरुका कहानी कान थापेर ध्यानले सुन्दै थिए । उनले दैनिक राम्रो कमाइ गर्दा रहेछन् । गाउँको बाटोको दूरी अनुसार पचास रुपैयाँको भाडा पर्नेमा कच्चीबाटोको कारण तीनसय रुपैयाँ सरकारीदर असुल्दा पनि उनले विदेशकै कमाइमा लोभिएका रहेछन् । नपाएर पो ! पाए त म पनि विदेश जान्थें भन्दै आफ्नो काममा असन्तुष्टि पोखे र उनी बाटो लागे ।
उनले आफ्नो जिप स्टार्ट गरेर अगाडि बढ्दा उनको गाडीको पछाडि ढालामा यौटा ट्रक साहित्य लेखाएका रहेछन् । मैले धन्न पढ्न भ्याएँ । लेखिएको थियो– ‘उमेर सानो ठूलो सोच, पैसा बिना जिन्दगी बोझ् !’
सारा संसार यही पैसोमा रुमलिएको कटु सत्य लुकाएर लुक्दैन । समय असाध्य महंगो भयो । अब त धनी हुन भन्दापनि जीवनयापन गर्न पनि सामान्य आर्थिक स्रोतले पुग्दैन । हाम्रो देशमा मात्रै होइन अरु महादेशका देशहरुमा पनि यही अवस्था छ । यो विश्वव्यापी अवस्थाबाट नेपाल अछुतो रहने कुरै भएन ।

सानो उमेरमै बढ्दो महत्वाकांक्षाले गर्दा अभावका जिन्दगी जीउन युवाहरुलाई कठिन बनेको कारण आज जीवन मरणका वैदेशिक यात्रा दिनानुदिन तिव्र बनेका छन । हामीकहाँ सन्तोषम् परमम् सुखममा सुख शान्तिका उच्च मनोबल राख्ने सोंचलाई भ्रष्ट दलाल र तस्कर बनेर रातारात फड्को मार्नेहरुले हुतिहारा बनाइदिन्छन । प्रकाश सपुतको गीतको टुक्काले सन्तोषमा बस्नेहरुलाई सान्त्वना त दिन्छ तर मनले मान्दैन । ‘देश भन्नु त के रैछ र चार किल्लाको माटो, त्यही माटो’नि उसकै रैछ जो छ टाँठो बाठो !’ टाँठो बाठो हुन नसक्नेहरुको विकल्पनै परदेशिनु हो ।

यस्तो अवस्थामा भविष्यमा देशको काँध थाप्ने युवालाई कसरी रोक्न सकिन्छ भन्ने राष्ट्रभक्त देशप्रेमीहरुले बेलैमा विचार पुर्याउन सकिएन भने बचेखुचेको आधाआधी देशपनि रहने छैन । देशको झण्डा चार किल्ला सिमाना र संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हुँदैमा देश ‘देश’ नहुन पनि सक्छ ।

अर्थात् देश पराधिन र अरुको खटनपटनमा पुग्नु देश नहुनु सरह नै हो । युवा लगायत विदेशमा रहेका सबैलाई स्वदेशमै सन्तोषपूर्वक जीवनयापन गर्ने सामाजिक मूल्यमान्यताको माहौल सिर्जना गर्नु आजको टड्कारो अपरिहार्य आवश्यकता हो । अन्यथा विकाउहरुको हातमा देश पुग्नेछ । हिजोको आजै राजतन्त्र फाल्नेहरुले पछुताउन पुगेजस्तै पछुताउनै नपाइने अर्को पछुतो नबनोस् !

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->