बागलुङ/भर्खर ३५ वर्षमा हिडेका जोकलाल बुढाको उमेर राजनीतिक क्षेत्रका नेतालाई कच्चा लाग्छ । उनको उमेरका कतिपय विद्यार्थी राजनीतिमा पनि छन् । तर, उनले राजनीतिमा अनौठो फड्को मारेका छन् ।
३० वर्ष नपुग्दै पहिलो इनिङका रुपमा तमानखोला गाउँपालिकाको अध्यक्ष बने । अध्यक्ष बन्दैगर्दा पनि उनी नाममात्रको अध्यक्ष भएनन् । जिल्लाका दश पालिकाको समीक्षा गर्दा उनको नाम अग्र स्थानमा आउँछ । सबैभन्दा जटिल भूगोलको विशेष क्षेत्र मानिएको तमानखोला गाउँपालिकालाई अब्बल बनाउने भूमिकामा छन्,उनी ।
सडक संजालले नछोएको । शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा धेरै पछाडि परेको । गाउँपालिका स्थापना हुँदा झोलामा कार्यालय थियो । कर्मचारी आउनै नमान्ने अवस्थालाई चिरेर खुसी भएर कर्मचारी जाने वातावरण बनेको छ । अहिले तमानखोला विकासले अगाडि बढिरहेको छ । हरेक वडामा स्वास्थ्य संस्था स्थापना हुने नौलो भएन । त्यसबाहेक यहाँको लाममेला, बोङखानी, लावाङ, थास्पुरी, समर, सित्युङलगायतका स्थानमा स्वास्थ्य इकाइ स्थापना भएका छन् । गाउँपालिका तहमा डाक्टरसहितको अस्पताल संचालनमा छ । तीन स्थानमा ल्याब र एक्सरे सेवा संचालनमा छ । गाउँपालिकामा रहेको बोङगादोभान स्वास्थ्य चौकी ल्याब, फार्मेसी सहितको बनेको छ ।
बुढाको दोश्रो इनिङमा तमानखोला थप विकासको उचाइमा पुग्ने धेरैको विश्वास छ । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार बिकासमा तमानलाई अब्बल बनाउने लक्ष्य सारेका छन् । शुरुवाती ५ बर्षमा केही काम अधुरा थिए, अबको ५ वर्षमा सबै काम पूरा गर्नुछ’ बुढा भन्छन्, ‘१० वर्षमा गर्न नसकेको काम मैले चाहेर पनि गर्न सक्दिन ।’ त्यसैले केही गरेर देखाउनै पर्ने दवावमा छन्,उनी । जसरी राजनीतिमा एउटा उचाइ बनाएका छन्, पालिकालाई उचाइमा लैजान पनि उनको भूमिका महत्वपूर्ण बन्नुपर्नेछ ।
२०५६ सालसम्म जोकलाल बुढा सक्रिय राजनीतिमा थिएनन् । उमेरले पनि कच्चै थिए । संसदीय निर्वाचनको प्रचारका क्रममा बोङगादोभानमा कांग्रेस र मसालका कार्यकर्ताबीच झडप भयो । तमान गाउँका धेरै युवा बुथ जोगाउने भन्दै बोङगादोभान झरे । तमानका युवा झर्ने बाटोमा उनको घर थियो । लाइन लगाएर युवाहरु झरेको देखेर उनको मन छोयो । उनीहरुले के काम गरेर फर्किए त्यो त्यति सम्झँदैनन् । तर बुढाको मनमा अनौठो तरिकाले राजनीतिक चेतना पलायो । ‘विद्यालयमा नेविसंघको सदस्य बनिसकेको थिएँ, तर उक्त चुनावी घटनाले राजनीतिक चेत खुलायो’, बुढाले भने, ‘त्यसपछि भने राजनीतिक रुपमा होमिएँ ।’
कक्षा ५ मा पढ्दा नेविसंघ बन्ने लहर थियो । घरमा आमासँग ५ रुपैयाँ मागेका बुढाले पैसा पाएनन् । आमाले नदिएर सदस्य बन्न वञ्चित भएको पीडामा उनका दाइले मलम लगाए । कान्छाबा का छोरा बालकुमार बुढाले दिएको ५ रुपैयाँले सदस्य बनेपछि उनले निरन्तर पार्टीको नेतृत्व र मार्गदर्शनमा चलिरहेका छन् । त्यसो त उनका बाबु धनबहादुर तत्कालीन वडाध्यक्ष थिए । बाबुको राजनीतिले आमा भीममायाले घरधन्दामा दुःख पाएकी थिइन् । त्यसैले छोरा राजनीतिमा नआए हुन्थ्यो भन्ने लाग्थ्यो आमालाई । ‘मलाई बाबुआमाले राजनीतिमा जान हुँदैन भन्नुभएन तर नगए हुन्थ्यो भन्ने आशय थियो’, बुढाले भने, ‘जव म सक्रिय भएर लागें, त्यसपछि भने निरन्तर सहयोग गरिदिनुभएको छ ।’ लाहुरे भए हुन्थ्यो, विदेश गए हुन्थ्यो र पैसा कमाए हुन्थ्यो भन्ने अभिभावकको चाहना पूरा गर्न नसकेको उनले सुनाए ।
मैदानमा होमिएपछि भने बुढाले राजनीतिक यात्रालाई निरन्तरता दिएका छन् । आमाबाबुको साथले सफलतामा अगाडि बढ्दैछन् । उनी अझै अविवाहित छन् । विवाह गरेर राजनीतिलाई सम्मान गर्ने र बुझ्ने पत्नी नपरे सफलता बीचैमा रोकिने बताउँछन् । अविवाहित हुँदा उचाइमा छिटै पुग्न सकेको उनको अनुभव छ । नेविसंघको राजनीति यात्राले उनलाई पार्टी राजनीतिको केन्द्रमा पु¥याइसकेको छ । अघिल्लोपटक टिकट पाउँदा कुरेर बस्नुपर्ने बुढा अहिले टिकट वितरण गर्ने स्थानमा पुगेका छन् । नेविसंघको जिल्ला सदस्य, क्षेत्रीय र जिल्ला उपाध्यक्ष, केन्द्रीय प्रतिनिधिसमेत उनले सम्हाले । त्यसपछि सिधै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा दुइपटक र पार्टी क्षेत्रीय सभापतिमा एकपटक चुनाव जित्दा आँफूभन्दा पाका नेतालाई पराजित गरेका बुढा युवा भएर मात्र सफलता नहुने बताउँछन् । युवा भनेको उमेरले मात्र हैन, प्रविधिमा अब्बल बन्नुपर्छ । सबैलाई नेतृत्व दिनेले आँफू सक्षम र सूचना प्रविधिमा पनि सक्षम बन्नु पर्ने बताए । ‘अगुवा नेतृत्वले प्रविधिमा खेल्न सकेन, त्यसैले धेरै पछाडि छन्’, उनले भने, ‘प्रविधि र टेक्नोलोजीमा जान नसकेमा उमेरको युवाले पनि केही गर्न सक्दैन ।’ उनले युवा उमेरले मात्र देश बिकास नहुने भन्दै हरेक नेतृत्व अब प्रविधिमा अब्बल, राजनीतिमा संगठित र चलायमान बन्नुपर्ने सुझाव दिए ।
पुराना नेतालाई सम्मान गर्ने, युवाले काम गरेर देखाउने उनको चाहना छ । ‘पुराना र नयाँबीचको द्वन्द्वले राजनीति चुस्त बन्नुपर्छ, नकि धरासायी’ बुढा भन्छन्,‘त्यो कर्मचारीतन्त्रमा पनि लागू हुन्छ ।’ प्रविधिमा अभ्यस्त नभएकोले तीन दिनसम्म एउटा पत्र बनाउन नसक्ने कर्मचारीबाट विकासको संभावना नहुने बताए । प्रविधिमैत्री नभएमा प्रमुख प्रशासकीय अधिकृत समेत नटिक्ने भन्दै उनले कर्मचारीभन्दा सक्षम भएर जान नसके जनप्रतिनिधि पनि फेल हुने देखेका छन् ।
बिद्यार्थी संगठनबाहेक उनले मगर विद्यार्थी संघ, विभिन्न परियोजना, व्यवसाय र विकास निर्माणमा अनुभव बटुलने मौका पाए । त्यो मौकाले समाजको अबस्था चिन्ने मौका पाएको उनले बताए । मानव अधिकार तथा शान्ति समाज, एम्नेष्टी इन्टरनेशनल लगायतका संस्थामा उनी सदस्य भए । रेडक्रसको संस्थापक भएर तमानमा स्थापित गर्न भूमिका खेले । तमानमा सडक संजालले जोड्ने कामदेखि तमानखोला लघुजलविद्युत आयोजनाको अध्यक्ष भएर एकैपटक दुइ आयोजना उद्घाटन गराउने काममा पनि उनले भूमिका खेले । विद्यार्थी राजनीतिमा प्रशिक्षण गर्न हिँड्दा उनले धेरै पढने मौकासमेत पाए ।
औपचारिक शिक्षा स्नातकमात्र भएपनि उनले संगठन र प्रशिक्षण गर्दा धेरै अध्ययन गरेका छन् । विकासका मोडल समेत अध्ययन गरेका बुढाले तमानको आफ्नै जलाशययुक्त जलविद्युत परियोजना बनाउने सपना पनि बुनेका छन् । शिक्षा, स्वास्थ्य र भौतिक विकासमा गुणस्तर बढाउने उनको चाहना छ । कम्तिमा ३ स्थानमा नमूना पढाइ, आवासिय विद्यालय स्थापना गरी परिणाममुखी बिकास दिने लक्ष्यमा अगाडि बढेको बुढा बताउँछन् । भन्छन्, ‘विकासको मोडल देखाउने हो, त्यसकालागि नेतृत्व नै सफल बन्नुपर्छ ।’





