शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ऋषि प्रपन्नाचार्यको सपनाले बनेको शालग्राम संग्रहालय

ऋषि प्रपन्नाचार्यको सपनाले बनेको शालग्राम संग्रहालय


  • कोपिला कँडेल
  • भाद्र ११ २०७९, शनिबार

बागलुङ/ सवा लाख शालग्राम शिला रहेको शालग्राम संग्रालय सहितको तिरुपति बालाजी धाम मुक्तिनारायण मन्दिर कुँडुले फेदीको धार्मिक तथा पर्यटकिय संरचना निर्माणमा स्वामी ऋषि प्रपन्नाचार्यको नाम अग्रस्थानमा आउँछ ।

२०४२ सालमा पर्वतको जलजला गाँउपालिका ५ मा पौडेल परिवारमा जन्मिएका स्वामी ऋषि प्रपन्नाचार्य वैवाहिक गृहस्थी जीवन त परै जाओस् उनले बाल्यकाल ७ वर्षकै उमेरमा गृह त्यागेर धार्मिक काममा लागे । कुँडुले फेदीमा गुरुकुल शिक्षा लिएर धार्मिक तथा सामाजिक अभियानमा लागेका ऋषि प्रपन्नाचार्य स्वामी कमलनयनचार्य उत्तराधिकारी युवा हुन् ।

जलजलामा पौडेल परिवारमा जन्मिएका ऋषि पछिल्लो धार्मिक अभियान्ता हुँदा स्वामी ऋषि प्रपन्नाचार्यको नामले परिचित छन् । अनन्त श्रीविभुषित बैकुण्ठबासी स्वामी श्रीधराचार्य र अनन्त श्रीविभुषित १ हजार ८ स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबालाई आफ्नो प्रेरणाको स्रोत मान्दै उनीहरुकै पदचापमा हिँडिरहेका छन् ।

गुरुकुलमा संस्कृत पढाउने मातापिताको आज्ञा पालनाका लागि स्वामी श्रीधराचार्यको सानिध्यमा बाल्यकालमै पुगेका स्वामी प्रपन्नाचार्य सच्चा, सन्त, शान्त, त्यागी, तपस्वी, निस्वार्थ रुपमा समाजमा छुट्टै पहिचान बनाएका छन् । ‘वेद् जानेको गुरुसँग जानू’ भन्ने मान्यता अनुसार पिताजीको आज्ञाले गुरुकुलमा आएको हुँ’, उनी भन्छन ।

स्वामी श्रीधराचार्यसँगै मुक्तिनाथ वेद्विद्याश्रम कँुडुले फेदीसहित मुक्तिनाथ मन्दिर, गलेश्वर पुलाश्रम लगायतका स्थानमा रहेर अध्ययनसँगै ६ वर्ष गुरु सेवा गरे । ‘६ वर्षे गुरुसेवालाई आफ्नो ठूलो सौभाग्य ठानेको छु,’ स्वामी प्रपन्नाचार्यले ढोरपाटनसँग भने, ‘स्वामीजीले मलाई गुरुकुलमै छोडेर आफू अन्य आश्रममा जान खोज्दा म जबर्जस्ती रोएर उहाँकै छत्रछाँयामा पुग्थें । करिब १४ वर्षको उमेरसम्म कसैको मृत्यु देखेको थिइनँ ।’

स्वामी श्रीधराचार्यको स्वर्गबास पहिलोपटक अनुभव गरे । स्वर्गबास हुनुभन्दा १ महिना पहिले देखिनै स्वामीले ‘तिम्रो र मेरो छुट हुँदैछ । तिमीले वेद्को अनुसरण गर्न कहिल्यै नछाड्नू’ भन्दै स्वामीजीले यही अन्तिम वचन दिएर ढोडेनीको ओढारबाट बिदाइ हुनुभयो,’ उनले विगत सम्झे ।

स्वामी श्रीधराचार्यको स्मरण स्वरुपनै शालग्राम संग्रहालय निर्माण गरिएको हो । ‘कोही पतिपत्नी र छोराछोरीको लागि बाँच्छन् भने म गुरुको लागि बाँच्नुपर्छ भनेर उहाँले देखाएको बाटोनै हिँडेको छु,’ भन्छन्, ‘मैले अरु ठूलो काम केही गरेको छैन । तर स्वामीको बाटो छाडेको छैन ।’

कालीगण्डकीको शालग्राम जुटाएर निर्माण गरिएको संग्राहालय अहिले नेपालमा मात्र नभएर विश्मै चर्चित हुन पुगेको छ । स्वामी श्रीधराचार्यको निधनपछि उनका प्रिय शिष्य स्वामी कमलनयनाचार्यलाई मन्दिरको उत्तराधिकारी सुम्पिएको थियो । हाल सो जिम्मेवारी कमलनयनाचार्यबाट ऋषि प्रपन्नाचार्यमा सरेको छ ।

ऋषि प्रपन्नाचार्यले सनातन वैदिक धर्मको रक्षा गर्न, कालिगण्डकीको सभ्यता बचाउन, धार्मिक संरचना मार्फत पर्यटकीय क्षेत्रको विकास गर्न, गाईको संरक्षण गर्नु आफ्नोमात्र नभएर सबैको कर्तव्य भएको बताउँछन् ।

कलियुगमा ज्ञान, साधना, भगवानको भजनकीर्तनसहित मानवीय सेवा र राष्ट्रियताको रक्षाले मात्र जीवनलाई सार्थक बनाउन सकिने विश्वासमा उनीमा छ । ‘पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको तीव्र प्रभाव बढ्दै गएकोप्रति मेरो चिन्ता छ,’ उनी भन्छन्, ‘हामी हाम्रो संस्कृति र सभ्यता अनुसार चल्नुपर्छ । जसरी आमासँगको सम्बन्ध कसैले टुटाएर टुट्दैन, त्यसैगरी नेपालको आफ्नो सनातन धर्म पनि टुट्न सक्दैन ।’

संग्रालयमा संरचना निर्माण भइरहेका छन् । विभिन्न समयमा हुने महायज्ञ, ब्रम्हायज्ञ, धार्मिक अनुष्ठान, भजनकीर्तन लगायतका धार्मिक क्रियाकलापबाट उठ्ने गरेको रकम र राज्य पक्षबाट हुने गरेको सहयोगले नै विभिन्न संरचना निर्माण भइरहेका छन् । अहिले शालग्राम संग्रहालय अवलोकनका लागि देश तथा बिदेशबाट विशिष्ट हजारांै व्यक्तिहरु आउने गरेका छन् । ऋषि प्रपन्नाचार्यको अग्रसरतामा अहिले आश्रममा बैष्णव युवा समाज, बैष्णव महिला समितिलगायतका संगठनसमेत निर्माण भएका छन् । उनको यो अभियानलाई सफल बनाउन बैष्णव सम्प्रदाय मात्र नभएर सबै क्षेत्रका युवाहरु सक्रियतापूर्वक लागेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->