पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीमा डिजिटल नागरिक सेवा वडापत्र राखिने भएको छ । निजामति सेवा दिवसको अवसरमा बुधबार एक कार्यक्रमबीच श्रव्यदृष्यसहितको डिजिटल नागरिक वडापत्रको शुभारम्भ गरिएको छ । कार्यक्रमको सुरु गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले जिल्ला प्रशासन कार्यालय कास्कीले प्रविधिमा प्रवेशको सुरुवात गरेको बताए ।
उनले वोर्डमा लेखिएर टासिएको नागरिक वडापत्रमा सबैको ध्यान नजाने र टाढाटाढाबाट आउने नागरिकले सामान्य कागजात नपुग्दासमेत दुःख पाउने गरेको सुनाए । उनले जनता आफ्ना समस्या लिएर सरकारी कार्यालय जानुपूर्व आवश्यक पर्ने कागजातका बारेमा पहिला नै सचेत भएमा समस्या नआउने र यसका लागि डिजिटल माध्यम बढी उपोयोगी हुने बताए । मुख्यमन्त्री नेपालीले जानकारीमूलक हरेक सूचना आम नागरिकलाई दिन सके कार्यक्षेत्रमा निकै सहजता हुने धारणा राखे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव रविलाल पन्थले डिजिटल नागरिक वडापत्र केही समयका लागि मात्रै नभइ दीर्घकालिन रुपमा हुनेगरी काम गर्न अनुरोध गरे । उनले श्रव्य र दृष्य यो सामग्रीले कार्यालयको कार्यसम्पादनमा सरलता ल्याउने बताए । उक्त सामग्रीमा प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीकै भनाइ समेत रहेकाले सम्पूर्ण कुरा आधिकारीक देखिने सुनाए ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पहिलो चरणमा श्रव्यदृष्यसहितको डिजिटल नागरिक वडापत्र प्रशासनको प्रङगणमा राखिने बताए । उनले उक्त सामग्री हरेक स्थानीय तहमासमेत पु¥याइ आम नागरिकलाइ सरकारी कामका लागि चाहिने वा आवश्यक पर्ने सम्पूर्ण कागजपत्र पहिले नै तयारी गरि ल्याउने किसिमको काम गराउने बताए ।
उनले हाल भएका नागरिक वडापत्र शिक्षत वर्गले समेत नपढ्ने हुँदा विभिन्न काम काजका लागि के आवश्यक पर्छ भन्ने विषयमा थाहै नहुने समस्या रहेको बताउ । उनले एक पटक नागरिक वडापत्र पढेर आएमा सबै कुरा बुझिने र एकै कामका लागि आवश्यक कागपत्र अपुग भएर पटक÷पटक फर्किनुपर्ने बाध्यता नआउने बताए । उनले डिजिटल बोर्डले नागरिकलाइ आकर्षित गर्नेमा आफु आशावादी रहेको सुनाए । उनले थप सेवा प्रवाह गर्ने हिसाबले सेवा पुस्तिका प्रकाशनको तयारी गरिरहेको बताए ।





