बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रायडाँडाको पहिरो नियन्त्रण गर्न कठिन (फोटो फिचर)

रायडाँडाको पहिरो नियन्त्रण गर्न कठिन (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७९, सोमबार

बागलुङ/ डाँडै पहिरो खसेपछि जोखिममा परेको बागलुङ नगरपालिका–११ को रायडाँडास्थित रामतोलामा नगरप्रमुख र उपप्रमुखसहित सुरक्षा निकाय पुगेका छन् । एक साताअघि खसेको पहिरो अनुगमन गरेर बस्तीको सुरक्षाबारे टोलीले योजना बनाउने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । पहिरोले रामतोलाको गैराघर भन्ने स्थानमा एक दर्जन घर जोखिममा परेका छन् ।

पहिरोले रामतोलाको बस्तीमा जोखिम पर्नुको साथै खानेपानी र बिद्युतका पोल पनि बगाएको छ । ‘पानीका दुई वटा ट्यांकी नै बगेकोले खानेपानीको हाहाकार छ’ स्थानीय ढालनाथ शर्माले भने, ‘हामी त घर न घाटको भएका छौं, अब कहाँ बस्ने, के खाने ?’

उनले दुःख गरेर बनाएको घर गोठ भत्केपछि नयाँ बनाउने चिन्ताले सताएको बताए । उनले अनुगमन टोलीसँग पनि रुँदै आफ्नो दुखेसो पोखेका थिए ।
जिल्ला दैवि प्रकोप उद्दार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश ढकालले पनि पहिरो अनुगमन गरेका छन् । टोलीमा समितिका अन्य पदाधिकारी तथा सुरक्षा प्रमुखहरु थिए । पहिरोले दुई वटा खानेपानीका ट्यांकी बगाएपछि ७ दिनदेखि तल्लो रामतोला बस्तीमा खानेपानीको अभाव भएको हो । बिजुली नभएपछि स्थानीयले झाडी फाँडेर नयाँ पोल गाड्ने र तार टाँग्ने काम गरिरहेका छन् ।

यहाँका दर्जनौ विद्युतका पोल ढलेकोले जतासुकै तार लत्रेको देख्न सकिन्छ । तल्लो रामतोला सातादेखि अन्धकार रहेको स्थानीय नन्दकली केसीले बताइन् । ‘अहिले टोली आएको छ भनेर घरमा आइयो, नत्र हामी गाउँ छाडेर बसेका छौं’ केसीले भनिन्, ‘अनुगमन आएका टोली देख्दा रमाइलो लाग्यो, नत्र रित्तो घरमा आउन मनै लाग्दैन ।’ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको थियो । पहिरोले ११ घरका बासिन्दा सातादेखि घरमा बस्न सकेका छैनन् । केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन् । पहिरोले बग्ने डरले अधिकांस घरका बासिन्दाले घर खाली गरेर अन्यत्र सरेर बसेका हुन् ।

दशकअघि खुलेको सडकको ट्रयाक र खरवारीमा रहेका पानीका ट्यांकीबाट रसाएको पानीले पहिरो खसेको स्थानीयले अनुमान गरेका छन् । अनुगमन टोलीले पनि पानीकै कारण पहिरो खसेर बगेको अनुमान लगाएका छन् । सातापछि पुग्दा पनि पहिरो निरन्तर खसेको छ । निरन्तर खसेकोले आसपासमा पुग्न पनि जोखिम छ ।

पहिरोले जैमिनी नगरपालिका–१ को ओडारका घरमा पनि जोखिम बनाएको छ । नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बस्तीलाई सुरक्षित स्थानमा राख्न सके राम्रो हुने बताए । प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले एकीकृत बस्तीको अवधारणा ल्याएर बस्ती सार्न सके राम्रो हुने धारणा राखेका छन् । त्यसका लागि पहल गर्न उनले वडा अध्यक्षलाई आग्रह गरेको बताए । एकीकृत बस्ती बनाउन सकेमा खानेपानी, बिद्युत र अन्य सेवा जडानमा सहज हुने उनले बताए ।

निरन्तर पहिरो खसिरहेकोले उक्त बस्तीमा सहजै बस्न सकिने अवस्था छैन । पहिरो नियन्त्रण गर्ने अवस्था नभएको प्राविधिकको सुझाव छ । ‘पहिरो नियन्त्रणमा लाग्नु भन्दा बस्तीनै सार्दा सजिलो र सुरक्षित होला’ इन्जिनियर त्रिलोचन गिरीले भने, ‘यो पहिरोले माथिल्लो बस्तीमा पनि जोखिम बढाएको छ ।’ पानी परेमा पहिरो झनै बढ्न सक्ने उनले बताए । बिस्तारै खसेकोले समयमा घरपरिवार सार्न सकिएपनि पुन घर फर्कने वातावरण बनाउन कठिन हुने गौतमले बताए । ‘सात आठ घर त पहिरो खस्दा खस्दै सार्न लगायौं, उहाँहरु अहिले सुरक्षित स्थान खोजेर बस्नु भएको छ’ गौतमले भने, ‘पहिरोले निरन्तर दबाब दिएर बस्तीमा चिरा परेको छ ।’

तस्विरः तारानाथ आचार्य

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->