
स्याङ्जा/ आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको संख्या बढेको छ ।
निर्वाचनको लागि गरिएको म्यादी प्रहरी भर्नामा स्याङ्जामा ३१० जना महिला र एक हजार ५६६ जना पुरुष गरी एक हजार ८७६ जनाले फाराम भरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीको लागि धेरै जसो शिक्षित र युवाहरुको चाप रहेको छ भने चालीस वर्षभन्दा मुनिका ७५ प्रतिशत रहेका छन् ।
शैक्षिक हिसाबले तीनजना स्नातक, २२४ जना प्रमाणपत्र तह, ८७७ जना एसएलसी उत्तीर्ण रहेका छन् भने ७७२ जना साक्षर रहेका छन् । उमेरका हिसाबले एक हजार ४५८ जना चालीस वर्ष मुनिका रहेका छन् भने अन्य सो भन्दा माथिका रहेका छन् । म्यादी प्रहरीमा फाराम भर्नेमा एक हजार १६९ जना सर्वसाधारण, ६७१ विगतका निर्वाचनमा म्यादीमा भर्ना भएका छन् भने १८ जना पूर्वनेपाली सेना, १२ जना पूर्वनेपाली प्रहरी र तीन जना पूर्वसशस्त्र प्रहरी रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।
देशमा रोजगारी नहँुदा र विदेश नगएका शिक्षित युवा म्यादीमा भर्ना भएको बताउँदै खनालले मेडिकल, शारीरिक परिक्षण गरेपछि जिल्लामा आवश्यकलाई जिल्लामा राख्ने र अन्यलाई अर्को जिल्ला खटाउने बताए ।





