पोखरा / नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ (क) को टिकट विन्दुकुमार थापाले पाएका छन् । टिकटका लागि कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री थापासँगै भौतिक पूर्वाधारमन्त्री कुमार खड्का दौडमा थिए । दुई मन्त्री आरोप प्रत्यारोपमै उत्रिएका थिए ।
उनीहरुको विचमा प्रदेशमा राम्रो मन्त्रालय कसले लिने भन्नेबाट सुरु भएको टकराव टिकटमा पनि देखिएको थियो । पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्दै कांग्रेसको सक्रिय राजनीतिमा होमिएका व्यवसायी थापालाई २०७४ मा चुनाव लड्दा पैसाकै भरमा टिकट ल्याएको आरोप लागेको थियो ।
कास्कीमा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा भने दीपक गुरुङले टिकट हात पारेका छन् । उनी २०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा सदस्यमा चुनाव लडेका थिए, पराजित भए । 
उनी तरुण दलका जिल्ला उपसभापति पनि हुन् । कांग्रेस महामन्त्री गगनकुमार थापासँग नजिक उनले अरु आकांक्षीलाई पछि पार्दै प्रदेश सभाकै टिकट हात पारेका छन् ।
उनको प्रतिस्पर्धा एमाले नेता वेदबहादुर गुरुङ ‘श्याम’सँग हुनेछ । श्याम मादी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
यसैगरी कास्की क्षेत्र नम्बर ३ को ‘क’मा कांग्रेसबाट प्रकाश बरालले टिकट पाएका छन् । जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख रहेका रहेका उनी कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा नजिक हुन् र गण्डकी पार्टी कार्यालयका प्रमुख सचिव पनि हुन् । उनको प्रतिस्पर्धा एमालेका राजीव पहारीसँग हुनेछ ।





