पोखरा – कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले कास्की क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । महादेव गुरुङले २०५६ सालमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । अहिले कास्की क्षेत्र नम्बर २ का अधिकांश भूभाग त्यो बेलाको कास्की क्षेत्र नम्बर ३ मा रहेको थियो ।
‘कांग्रेसले आफ्नो चुनाव चिन्हमा भोट हाल्न पाएनन्,आफ्नो मूल्य र मान्यता सबै बिर्सियो,बीपीको आदर्शलाई लत्यायो’,उनले भने,‘मेरो उम्मेदवारी कांग्रेसलाई सही बाटोमा ल्याउन र आम कार्यकर्ताको रुखमै भोट हाल्ने चाहनाबाट निर्देशित छ ।’ नेपाल विदेशीको क्रिडास्थल बनेको बताउने उनी हिन्दुराष्ट्रका पक्षपाती हुन् ।
कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार छन् । एमालेले सो क्षेत्रबाट विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । महादेव कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार थिए । तर,उनी पराजीत भए । कुनै समय बीपी र कोइराला परिवारको निकट मानिने महादेव पछिल्लो समय राजनीतिबाट किनारा पारिएका नेताहरुमध्ये पर्छन् ।
कास्की क्षेत्र नम्बर ३ मा एमाले र माओवादीबाट बागी उम्मेदवारी
कास्की क्षेत्र नम्बर ३ मा एमालेका नेता जगन्नाथ बास्तोलाले ‘बागी’ उम्मेदवारी दिएका छन् । जगन्नाथ तत्कालीन ल्वाङ घलेल गाउँ विकास समितिको उपाध्यक्ष हुन् । एमालेले एउटा पनि सिट नजितेको ठाउँमा उनले एकैपल्ट उपाध्यक्ष जितेका थिए । युवा अवस्थादेखि नै एमालेमा लागेका बास्तोला नेताहरुको सुरक्षा दस्ता परिचालनमा माहिर मानिन्थे ।
सबै नेताहरुसँग नजिक भएपनि उनी अवसरबाट भने बञ्चित हुँदै आएका छन् । एमालेको १० औं महाधिवेशनमा उनी जिल्ला अध्यक्षको प्रत्यासी थिए । तर, कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्रतिस्पर्धा हुने भएपछि उनले दाबी छाडेका थिए ।
‘मैले एमालेले सदस्य नजितेको ठाउँमा संगठन बनाएँ । २०६४ देखि सिफारिस तल्लो कमिटीले मेरो नाम सिफारिस गर्दै आएको छ, म पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ, मैले गाउँपालिका र प्रदेशतिर दाबी गरिन’,उनले भने,‘ म कुनै पनि गुटको नभएकाले मलाई भकुण्डो बनाइयो, मैले आफ्नो बाटो रोजेँ ।’ एमालेले सो क्षेत्रबाट दामोदर बैरागीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

यता, माओवादीको तर्फबाट पनि सो क्षेत्रबा बागी उम्मेदवारी परेको छ । पार्टीले गण्डकीका अर्थमन्त्री रामजी बराललाई गठबन्धनको तर्फबाट उम्मेदवार बनाएपछि अनिता भुर्तेलले बागी उम्मेदवारी दिएकी हुन् । अनिता शहीद परिवारकी सदस्य हुन् । उनका पिता राजविक्रम भुर्तेल र आमा सीता भुर्तेल युद्धकालमा सेनाबाट मारिएका थिए ।





