पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा पुलिसले प्रदेश नं.१ माथि १ सय १८ रनको सानदार जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिला व्याटिङको निम्तो पाएको पुलिसले २० ओभरमा १ सय ५८ रन बनाउन सफल रह्यो । फराकिलो जितसँगै पुलिसकी सम्झना खड्काले प्रतियोगितामा पहिलो अर्धशतक पुरा गरिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । यो प्रतियोगितामा सबैभन्दा धेरै चौका प्रहार गर्ने उनी पहिलो खेलाडी बनिन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।
प्रदेश नं. १ का लागि निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै जोड्न सक्यो । कप्तान सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए ।
बुधबारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनायो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१ रन बनाइन् । सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीकी अन्जु गुरुङले २ तथा अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।
जितका लागि १ सय २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशबीच दोश्रो खेल हुनेछ ।





