
स्याङ्जा/ मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ एक अस्थायीसहित दुई सय मतदानस्थल मध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा रेहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रकालागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर ११ स्थानीय तहमा रहेका केन्द्रको अनुगमत पश्चात सुरक्षा योजना निर्माण गरेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।
मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको क्षेत्रीले बताए ।
क्षेत्र नं १ मा आँधिखोला, अर्जुन चौपारी, हरिनास, विरुवा, फेदीखोला गाउँपालिका, पुतलीबजार र भीरकोट नगरपालिकाको १, २, ३, ४ तथा वालिङ नगरपालिकाको ३, ४ वडा रहेका छन् । यहाँ १०९ मतदानस्थल र १६१ मतदान केन्द्र निर्धारण रहेका छन् । यस्तै, क्षेत्र नं २ मा कालीगण्डकी गाउँपालिका, गल्याङ, चापाकोट, वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९ वडा रहेका छन् भने ९१ मतदानस्थल र १५० मतदान केन्द्र निर्धारण गरिएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक अस्थायीसहित ३२१ मतदान केन्द्र रहेका छन् भने क्षेत्र नं १ मा कुल एक लाख २७ हजार ४११ र क्षेत्र नं २ मा एक लाख १६ हजार ६७८ गरी कुल दुई लाख ४४ हजार ८९ मतदाता रहेका छन् ।





