शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा –२ मा किन सुरु भएन मतगणना ?

स्याङ्जा –२ मा किन सुरु भएन मतगणना ?


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

स्याङ्जा/ एमालेसहितका दलहरुले ४ वटा बुथमा धाँधली भएको आरोपसहित पुनः मतगणनाको माग गरेपछि मतगणना रोकिएको हो ।
देशका अधिकांश ठाउँमा आइतबार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना देशका जारी छ । केही क्षेत्रका मतपरिणाम सार्वजनिक भइसकेका छन् । उम्मेदवार र दलका नेता कार्यकर्ता मतपरिणाम पर्खिरहेका छन् ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सचिव पद्मा अर्याल लडेको स्याङ्जा–२ मा भने अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । आइतबार मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले ‘बुथ कब्जा’ गरेको भन्दै एमालेले मतगणना हुन दिएको छैन । एमालेले लगाएको बुथ कब्जाको आरोपलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङसहित अन्य साना दल र स्वतन्त्र उम्मेदवारले पनि समर्थन जनाएका छन् ।

स्याङ्जा–२ मा पर्ने चापाकोट नगरपालिका–३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राममन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको एमालेको आरोप छ ।

यी चारवटा बुथ कब्जा गरेर ९८ प्रतिशतसम्म मतदान गरेको एमाले उम्मेदवार पद्मा अर्यालले आरोप लगाइन् । ‘यतिधेरै मतदान विश्वमा कहीँ पनि हुँदैन,’ उनले भनिन्, ‘निर्वाचन आयोगले पनि के रहेछ भनेर हेर्नुपर्छ ।’ मतदाताले आप्mनो मताधिकार प्रयोग गर्न नपाएको भन्दै एमाले सचिवसमेत रहेकी अर्यालले फेरि मतदान हुनुपर्ने माग राखिन् । ‘जनताका हातले खसालेको मत हामी स्वीकार्छौँ,’ उनले भनिन्, ‘बुथ कब्जा गरेर अर्कैले खसालेको मत लोकतन्त्रमा स्वीकार्य हुँदैन ।’ कांग्रेस कार्यकर्ताले यी चारवटा मतदान केन्द्रमा बुथ कब्जा र लुटपाट मच्चाएको उनले आरोप लगाइन् । चारवटा मतदान केन्द्रमा पुन मतदान गर्न माग गर्दै एमालेले सोमबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्नासमेत दिएको थियो ।

यता, नेपाली कांग्रेस स्याङ्जा–२ का सभापति दीलिपप्रताप खाँणले जिल्लाभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकाले प्रश्न उठाउने ठाउँ नरहेको बताए । एमालेले पुन मतदान गर्न माग गरेका यी ४ मतदान केन्द्रमा एमालेकै बुथ प्रतिनिधिले समेत हस्ताक्षर गरेर मुचुल्का गरेको उनले बताए । ‘शान्तिपूर्ण रुपमा निर्वाचन भएपछि अब मतगणना थाल्नुपर्छ भन्दा एमालेले उजुरी लेखेर बखेडा झिक्यो,’ खाँणले भने, ‘पुन मतदान भनेर जनतालाई दुख दिनुहुँदैन ।’

एमालेले भनेजस्तो बुथ कब्जा कहीं पनि नभएको भन्दै उनले फेरि मतदान गर्दा एमालेकै कारण जनताले दुख पाउने बताए । ‘चुनाव हार्ने देखेर एमालेले झुटको खेती गरेको छ,’ उनले भने, ‘जनतालाई दुःख दिने मनशाय हो भने फेरि जनताले जवाफ दिनेछन् ।’स्याङ्जा–२ मा बुथ कब्जाको आरोपमा मतगणना रोकिए पनि स्याङ्जा–१ मा भने मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयले मतगणना थाल्न सर्वदलीय बैठक राखेपनि सहमति नभएको जनाएको छ ।

यसैबीच मतगणनाको माग गर्दै कांग्रेस उपसभापति तथा स्याङ्जा क्षेत्र नम्बर २ का उम्मेदवार धनराज गुरुङ निर्वाचन कार्यालय अगाडि धर्ना बसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->