पोखरा/ ६० सदस्यिय प्रदेशसभामा समानुपातिक प्रणालीबाट आउने ४० प्रतिशत अर्थात २४ सांसदको टुंगो दलहरुले लगाएका छन । दलहरुले विभिन्न क्लष्टरबाट बन्दसूचीमा रहेका उमेदवारहरुमध्येबाट प्रदेशसभा सदस्य बन्नेहरुको नाम टुंग्याएका हुन । यही नाम उनीहरुले निर्वाचन आयोगलाई बुझाउनेछन र आयोगले औपचारिक घोषणा गर्नेछ ।
गण्डकीमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३६ सांसद यसअघि नै निर्वाचित भइसकेका छन । उक्त निर्वाचनमा कांग्रेसले १८ सिट, एमालेले १२, माओवादीले ५ (नेपाल समाजवादी पार्टी सहित) र स्वतन्त्र उमेदवार राजीव गुरुङ (दीपक मनाङे) ले मनाङ (ख) बाट जितेका थिए । मनाङे हाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन ।
यता, समानुपातिक प्रणाली अनुसार भने गण्डकीमा एमाले पहिलो दल बनेको छ । उसले १० सांसद पाएको छ । दोश्रोमा रहेको कांग्रेसले ९, माओवादीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सांसद पाएको छ ।
०७४ को निर्वाचनको तुलनामा एमाले, कांग्रेस र माओवादीले समान रुपमा समानुपातिक सांसद पाउँदा अघिल्लोपटक १÷१ सांसद पाएका राष्ट्रिय जनमोर्चा र तत्कालीन नयाँशक्ति पार्टी नेपाल भने बाहिरिए । त्यस्तै, थ्रेसहोल्ड कटाएर पनि सांसद नपाउने हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत खेर जान पुग्यो ।
प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ५ मा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । यो दफामा भनिएको छ, “समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रत्येक प्रदेशको सम्पूर्ण क्षेत्रलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधीत्व गर्ने उमेदवार प्रदेशसभाको सदस्यमा निर्वाचित हुनेछन ।” भनिएको छ ।
देशका सबै वर्ग जातजातिहरूले संख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने व्यवस्था अनुसार गण्डकीमा चुनिएका नयाँ विधायकहरुमध्ये सबैभन्दा बढि बागलुङबाट चुनिएका छन । प्रदेशका ११ जिल्लामध्ये बागलुङबाट राप्रपाबाहेकका तीनै दलका सांसद समानुपातिकमार्फत चुनिएका छन ।
एमालेले बागलुङबाट लिलबहादुर थापामगर, बिनाकुमारी थापा, कृष्णप्रसाद पाठक र गोविन्द बहादुर नेपाली सांसद चुनिएका छन ।
कांग्रेसबाट चम्पादेवी खड्का र दिलमाया पौवि सांसद बनेका छन भने माओवादीबाट कुशुम बुढा सासद बनेकी छन ।
बागलुङपछि कास्कीबाट ५ जना सांसद बनेका छन । एमालेले कास्कीबाट प्रकाश बहादुर केसी, देवका त्रिपाठी, नन्दकला दमै र राजकुमारी भुजेललाई सांसद बनाएको छ ।
कांग्रेसबाट सरस्वती गुरुङ सांसद बनेकी छन ।
स्याङजाबाट ४ जना सांसद बन्दा कांग्रेसले स्याङजाको वालिङ नगरपालिकाको वडा नं. ८ का दिदीबहिनी नातेदार पर्ने कल्पना तिवारी र सरस्वती अर्याल तिवारी सांसद बनेका छन । कल्पना प्रदेश उपसभापति हुन भने सरस्वती केन्द्रिय सदस्य हुन ।
एमालेबाट भने निर्मला थापा सांसद बन्दा पहिलोपटक प्रदेशसभामा प्रवेश गरेको राप्रपाले प्रदेश अध्यक्ष पञ्चराम गुरुङलाई अगाडि सारेको छ ।
लमजुङबाट एमालेकी यशोदा रिमाल, कांग्रेसबाट टिकाकुमारी बस्याल र पार्वती तामाङ तथा राप्रपाबाट विन्दु अधिकारी पहाडी सांसद बनेकी छन ।
पर्वतबाट कांग्रेसकी रेखा गुरुङ, म्याग्दीबाट कांग्रेसकी विमला गौचन, गोरखाबाट माओवादीकी सुशिला सिंखडा र माओवादीबाटै नवलपुर दमयन्ती रुचाल सांसद बनेकी छ ।





