स्याङ्जा/ बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोक सम्मको १५८ किमी सिद्धार्थ राजमार्ग सडक स्तरोन्नति गर्न स्याङ्जाका नागरिकले सुझाव दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच पालिकाका पाँचै ठाउँमा गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सार्वजनिक सुनुवाइमा स्थानियले स्तरोन्नतिको सुझा दिएका हुन् ।
महाशाखाले गल्याङ, वालिङ, भिरकोट र पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिकाका नागरिकसँग सुनुवाइ गरेको हो ।वालिङमा गरिएको सुनुवाइमा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले सिद्धार्थ राजमार्ग स्याङ्जालीको जीवन भएको भन्दै राजमार्ग फराकिलो पार्न आ–आफ्नो स्थानबाट कटिवद्ध भएर लाग्नुपर्ने बताए । पटक–पटक राजमार्ग फराकिलो पार्ने विषयहरु मात्रै उठान गर्नुभन्दा छिट्टै राजमार्ग फराकिलो पारी स्याङ्जाको भविष्य सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।
पुतलीबजारमा गरिएको सुनुवाइमा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले दिर्घकालीन योजना अनुरुप सय वर्षका लागि हुनेगरी सडक विस्तार हुनुपर्नै बताए । विकाससँगै विनास पनि जोडिएकाले कम विनासमा धेरै विकास हुनेगरी प्रभावित व्यक्तिलाई उचित मुआब्जा र क्षतिपूर्ति दिनुपर्नेमा पनि उनको जोड थियो ।
उनले मुआब्जा र क्षतिपूर्तिको व्यवस्था, भूउपयोगमा परिवर्तन, भूक्षय, ध्वनी प्रदूषण वन विनास,तस्करी,घरटहरामा क्षति, सामाजिक जनजीवनमा प्रभाव, पानीका मुहान, खानी बनस्पति, पुल, खोला आदिमा परेका असरबारे ध्यान दिन उनले सरोकारवालासँग माग गरे ।
साँगुरो राजमार्गका कारण स्याङ्जाले आर्थिक, सामाजिक एवं औद्योगिक क्षेत्रमा विकास गर्न नसकेको भन्दै विभागको प्रस्तावले उत्साही बनाएको सहभागी निरज शर्माको भनाइ थियो । सिद्धार्थ राजमार्गसडक खण्ड दुई लेन, क्यारिज वे सात मीटर र सडकका दायाँबायाँ डेढ–डेढ शोल्डरसहित कालोपत्रेगरी स्तरोन्नति गरी १० मिटर कायम हुने विभागका कन्सल्टेन्ट निरिना खड्गीले जानकारी दिइन् ।
पहाड र तराईका भूभाग समेटिएको यस राजमार्ग बिस्तारमा दुई हजार ८८६ रूख काट्नुपर्ने, दुई हजार ११० व्यक्तिका घर र दुई सय संस्थागत संरचनामा क्षति पुग्ने खड्कीले उनले बताइन् । सडक ऐन २०३१ अनुसार राजमार्गका केन्द्रबिन्दुबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटर सडक मापदण्ड तोकेपनि सिद्धार्थ राजमार्गमा भने फरक–फरक मापदण्ड लागू गरिएको छ ।





