पोखरा/ पोखरा महानगरपालिका १३ स्थित काहुँखोलको एक घरमा जलेर गम्भीर घाइते संगीता सापकोटाको मृत्यु भएको छ ।
आइतबार बिहान मादी ताप्राङ घर भइ काहुँखोलामा स्टेसनरी पसल गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षत्री र सोही घरकी घरधनी संगीता सापकोटालाई जलिरहेको अवस्थामा छिमिकीले उद्धार गरी अस्पताल पु¥याएका थिए । संगीताको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो ।
लगत्तै संगीताको परिवारले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्त सुवास तिमिल्सिनाले सोमबार घाइते कृष्णविरुद्ध कर्तव्य ज्यानमुद्दामा जाहेरी दर्ता भएको जानकारी दिए ।
‘कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ । हामीले अनुसन्धानको प्रक्रियालाई अघि बढाएका छौं’, उनले भने ।
घटनामा दुवैजना एकै स्थानमा जलेका थिए । घटनामा कृष्णले आत्मदाह गर्न लागेको बताए पनि दुई परिवारबीच लेनदेनको समेत व्यवहार रहेको स्रोतले बताएको छ । तर, घटनाको सत्यतथ्य भने बाहिर आएको छैन् । प्रवक्ता तिमिल्सिनाले यसअघि पनि घटनाका बारेमा हरेक तरिकाले अनुसन्धान गरिने बताएका थिए । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गर्छौँ । उनीहरुको पारिवारिक सम्बन्ध, घटनास्थल लगायत विविध कुराहरु छन्’, उनले भने ।





