पोखरा /राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजन कार्कीले आफ्नो कार्यकालमा कलाकारको हकहितलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि ढोरपाटन दैनिकसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘म मेरो कार्यकालमा कलाकारका हक हितलाई विशेष प्राथमिकता दिनेछु, किनकि म कलाकारिताबाटै बाँचिरहेको छु, कलाकारका पीरमर्का बुझेको छुँ’,उनले भने ।
अध्यक्षका प्रत्यासी पूर्ण परियारलाई ५ मतको अन्तरालमा पराजित गरेर मंगलबार विहान अध्यक्ष निर्वाचित भएका उनले अग्रजहरुले अवमुल्यन गर्दा सर्वसम्मत नेतृत्व चयन हुन नसकेको बताए । ‘हलो नअड्काउनको लागि मैले वरिष्ठ उपाध्यक्षमा चित्त बुझाउन खोजेको थिएँ, सबैको संस्था हो, मिलेर जाऊँ सबै अटाउनुपर्छ अग्रजहरुले मिलाउन त्यति धेरै पहल गर्नुभएन’, उनले गुनासो गरें ।
अध्यक्षका प्रत्यासि परियार आफ्नो मिल्ने साथी भएको बताउँदै चुनाव लड्न पटक्कै मन नहुँदा नहुँदै निर्वाचनमा होमिएको सुनाए । आफ्नो कार्यकालमा परियारलाई पनि साथमा लिएर हिँड्ने उनले बताए । कार्कीले ८२ प्राप्त गर्दा बागलुङ जन्मथलो भएका परियारले ७७ मत प्राप्त गरे ।
‘सर्वसम्मतको प्रयास सफल नभएपछि चुनावी प्रक्रियामा गइयो । जित हार स्वभाविक हो । मलाई जीत हात प¥यो । अत्यन्त खुसी छु । यो जित मात्र हैन जिम्मेवारी पनि थपिएको महशुस गरेको छु । मलाई साथ दिनेलाई निरास बनाउने छैन । म सक्षम छु गर्नसक्छु भन्दा पनि केही वाधा अवरोध आएका थिए । तर नडगमगाइकन निर्वाचन प्रक्रियामा होमिएँ’, कार्कीले भने ।
उनले संस्थाको गरिमा उच्च रहने किसिमबाट काम गर्ने वाचा समेत गरे । ‘हिजो निवर्तमान अध्यक्ष सुरेन्द्र गुरुङले सुरु गरेर पुरा गर्न बाँकी रहेका अधुरा कामहरुलाई उहाँसँगकै सहकार्यमा पूरा गर्नेछु’,उनले भने । यसका अलावा लोकदोहोरीमा भएका विकृति विसंगतिहरुलाई हटाउन समेत भूमिका खेल्ने बताए । आफूले कलाकारिताबाट आएको आम्दानीले हात मुख जोर्नेदेखि परिवार चलाउनेसम्मका सबै काम गरिरहेकोले संस्थाको नाम अनुसार कलाकारकै हितमा निरन्तर काम गर्ने उनले बताए । संस्थाको उचाई बढाउन सामाजिक पाटोका काममा समेत ध्यान दिने उनको भनाइ छ ।
वरिष्ठ उपाध्यक्षमा माया गुरुङले बाजी मारिन् । उनले १०० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी केशव देवकोटाले ५६ मत पाए । प्रथम उपाध्यक्षमा ८६ मतका साथ दिलु लामा निर्वाचित भइन् । उनका प्रतिस्पर्धी आरसी पौडेलले ६९ मत प्राप्त गरें ।
प्रेमराज अधिकारी १०७ मतका साथ द्वितिय उपाध्यक्षमा विजयी हुँदा सोही पदमा उम्मेदवारी दिएका जयनारायण लम्सालले २६ र अकल विरही गुरुङले १५ मत प्राप्त गरे । महिला उपाध्यक्षमा मञ्जु विक, सचिव पदमा रामजी पौडेल तथा महिला सचिवमा ज्योति लोहनी निर्विरोध निर्वाचित भए ।कोषाध्यक्ष पदमा ९७ मतका साथ कृष्ण सुवेदी विजयी हुँदा प्रतिष्पर्धी केशव घिमिरेले ४६ मत पाए । सहसचिवमा ६४ मतका साथ दिपक पौडेल निर्वाचित हुँदा प्रतिष्पर्धी विमल जिसीले ३५ र प्रेम बस्यालले ५० मत प्राप्त गरे । यसैगरी सह–कोषाध्यक्ष पदमा ९१ मतका साथ होम गुरुङ निर्वाचित भए । प्रतिष्पर्धी अनिता पन्त ४२ र निशा पोख्रेलले २४ मत प्राप्त गरें ।
कार्यसमिति सदस्यमा भने सर्वसम्मत भयो । जस अुनसार महिला सदस्यमा मधु चापागाई, टौसेवा गुरुङ सविना, सुनिता नेपाली, सपना परियार चयन भए । भूगोलतर्फ स्याङजाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, बाग्लुङबाट हरी सुनार, कास्कीबाट माधव चापागाई, तनहुँबाट विष्णु पराजुली अधिकारी, लमजुङबाट टसबहादुर गुरुङ, नवलपुरबाट विष्णु कुमार वाग्ले, गोरखाबाट विकास नेपाली, पर्वतबाट सरस्वती लामिछाने निर्वाचित भए ।
यसैगरी खुल्ला सदस्यहरुमा ज्ञानेश्वर सुवेदी, प्रकाश बराल, सन्दीप परियार, विक्रम गुरुङ, धिरन थापा, कृष्ण गैह्रे, टेक क्षेत्री चयन भए । सबै पदमा सर्वसम्मत गर्ने प्रयास भाँडिदा मुख्य पदहरुमा निर्वाचन भएको हो । सर्वसम्मतको नाममा महिला कलाकारलाई पछाडि पाखा लगाउन खोजिएको भन्दै उनीहरुले विरोध जनाएका थिए । निर्वाचन प्रक्रिया लम्बिदा कतिपय प्रतिनिधि घर फर्किसकेका थिए । १ सय ९९ प्रतिनिधिमा मतदान कार्यमा १ सय ६४ प्रतिनिधि सहभागी भएका थिए ।
अधिवेशनमा गण्डकी प्रदेशका ९ जिल्लाका झण्डै ३ सय प्रतिनिधिको सहभागिता रहेको थियो । गण्डकी प्रदेशको मनाङ र मुस्ताङ जिल्लामा भने हालसम्म प्रतिष्ठानको जिल्ला शाखा गठन हुन सकेको छैन । देश प्रदेश संरचनामा गएपछि गण्डकी र धौलागिरी अञ्चल समितिलाई मर्ज गरेर गण्डकी प्रदेश समिति गठन गरिएको थियो ।
को हुन् नवनिर्वाचित अध्यक्ष राजन
बुबा पद्मबहादुर र आमा रिमाको कान्छो सन्तानको रुपमा स्याङजा जिल्लाको विचारी चौतारामा २०४५ साल मंसिर महिनामा जन्मिएका कार्की बाल्यकालदेखि नै गीत–संगीतको क्षेत्रमा रुचि राख्ने गर्दथे । गाउँमा हुने विभिन्न प्रतियोगीतामा भाग लिइ पुरस्कार जित्न सफल भएका उनी लोक तथा दोहोरी गीतको क्षेत्रमा अगाडी बढ्न चाहन्थे ।
पढाइको शिलशिलामा बाग्लुङ बस्नेक्रममा उनको यात्राको शुभारम्भ भएको हो । बागलुङबाट पोखराहुँदै उनी क्यारियर निर्माणका लागि राजधानी काठमाण्डौ छिरे, त्यसपछि उनको जीवनले कोल्टे फे¥यो ।
जब काठमाडौंको भीडमा उनको भेट विष्णु खत्रीसँग भयो, त्यसपछि उनको यात्राले नयाँ मोड लिन पुगेको हो । एकवर्ष खत्रीसँगै बसे ।
धेरै कलाकार चिन्ने मौका समेत प्राप्त गरे । साथमा धौलागिरी क्यासेट सेन्टरमा मिडिया मेनेजरको रुपमा काम गरे । जसले सांगीतिक यात्रामा अगाडि बढ्र्न सजिलो भयो । दुईवर्ष काठमाडांैको बसाईपश्चात् अध्ययन तथा आफ्नो यो यात्रालाई निरन्तरता दिन पोखरा फर्किए । २०६३ सालमा ‘कसलाई दिनु दोष’ एल्बमबाट औपचारिकरुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका उनी आफ्ना प्रस्तुतिमार्फत् दर्शक श्रोताको मन मुटुमा बास बस्न सफल भएका छन् ।
१७ वर्ष गण्डकी प्रदेशमा बसेर कलाकारिता क्षेत्रको अनुभव संगालेका उनी संस्थागत रुपमा समेत खारिएका छन् । उनीसँग तत्कालिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चलको मनोनित सदस्य, कार्यसमिति सदस्य हुँदै सचिव बनेका कार्की गण्डकी प्रदेश तदर्थ समिति सदस्य हुँदै सचिव बनेर काम गरेको अनुभव छ । सांगीतिक क्षेत्रको मात्र नभएर सञ्चारकर्मीको रुपमा काम गरेको अनुभव बटुलेका उनीसँग आफ्नो तीनवर्षे कार्यकालमा कलाकारका समस्यालाई सम्बोधन गर्दै संस्थालाई अगाडि बढाउने मूख्य चुनौती थपिएको छ ।





