बेनी /‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आइतबार २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरी स्थापना दिवस मनाएको हो ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सर्कुलरअनुसार रचनात्मक कार्यक्रमअन्तर्गत अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको प्रेस चौतारी म्याग्दी शाखाले जनाएको छ । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई फलफूलहरु वितरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले प्रेस चौतारी व्यावसायिक र श्रमजीवि पत्रकारहरुको संगठन भएको बताए ।
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहेका एमाले उपसचिव थापाले जिल्लामा निर्माणाधीन तथा अधुरा योजनाहरुको निर्माणकार्य पुरा गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताए । उनले बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणकार्यमा भैरहेको ढिलाइप्रति आफूले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा म्याग्दीबाट निर्वाचित संघ र प्रदेशका सांसद एवं अस्पतालका अध्यक्षसँग समन्वय गरी निर्माण व्यवसायीलाई भवनको निर्माणकार्यमा फर्काउन पहल भइरहेको बताए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज तथा म्याग्दी अध्यक्षसमेत रहेका प्रकाश पौडेललेसञ्चारमाध्यममार्फत जिल्लामा सुशासन तथा विकास निर्माणमा भइरहेका ढिलासुस्तीको विषयमा आवाजहरु उठाइएको बताए ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण कार्यक्रम सराह्रनीय रहेको बताए ।प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बीचमा व्यावसायिक एकता रहेको बताए ।
कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, मानवअधिकार एलायन्स गण्डकी प्रदेश कमिटी सहसचिव दीपक पौडेल, पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, वर्तमान उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतम, प्रेस युनियनका जिल्ला सभापति राकेश शर्मा, फोनिजका अध्यक्ष साधन राम्जाली र अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खत्रीलगायत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





