बागलुङ / संघीय मामिला मन्त्रालयले दुई वा दुईभन्दा बढी पालिका मिलेर काम गरेको खण्डमा नम्बर दिने नीति बनाएपछि बागलुङका पालिकाहरुले पनि साझा योजनाको खोजी गरेका छन् । आफ्नो पालिकालाई राम्रो बनाउन नम्बर पाउने आसमा उनीहरुले साझा मुद्दा खोजी गरेर मिलेर काम अगाडि बढाउने निर्णय गरेका हुन् । सिमानाको हिसाबले बागलुङका जुनकुनै पालिकाभित्र परेपनि महत्वपूर्ण योजनामा मिलेर काम गर्नेगरी उनीहरुले सहमति गर्दै साझा योजनाको पहिचान गरेको बताए ।
केही योजनाको खोजी भैरहेको र केही योजना अहिले पनि पहिचान भैसकेको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । हरेक पालिकाले ल्याएका योजनामा सामूहिक रुपमा प्राथमिकीकरण गर्न चरणबद्ध बैठक राख्दै लगानीका श्रोत खोज्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको स्तरोन्नती, बलेवा एयरपोर्ट र बागलुङ बसपार्क संचालन तथा पर्यटकीय गन्तव्यको सूचिकरण जस्ता बिषयमा साझा एजेण्डा बनाएर अगाडि बढ्ने निर्णय भएको हो । नियमित बैठक बसेर कार्यक्रम र योजना थप गर्ने उनीहरुको चाहना छ । ‘एक्लाएक्लै हिड्दा महत्वपूर्ण योजनाहरु पूरा नहुने भएकोले यस्ता बिषयमा साझा योजना बनाएका हौं’ श्रेष्ठले भने, ‘महत्वपूर्ण गन्तव्य बनाउन जुन पालिकामा भएपनि साझा लगानी गरौं ।’
कृषि तथा व्यवसायिक उत्पादनको ब्राण्डिङ तथा बजारीकरण, पर्यटन प्रवद्र्धन, ठूला बिकासे योजनामा साझा लगानी आबस्यक पर्नेमा पालिका प्रमुखहरुको जोड छ । फोहोरमैला व्यवस्थापनका लागि दुई वा दुइभन्दा बढी नगरपालिका वा गाउँपालिका मिलेर वातावरणमैत्री बिर्सजनको काम गर्ने र ‘फोहोरको मोहोर’ बनाउने बिषय उनीहरुको एजेण्डामा समावेश छ ।
हाल आ–आफ्ना डम्पिङ साइट बनाएर अव्यवस्थित फोहोर बिर्सजन गर्दा वातावरणमा प्रदुषण फैलिएको छ । कुहिने र नकुहिने फोहोर छुट्टाएपछि कम्पोष्ट मल बनाउने मेघा योजना बनाउन संघिय र प्रदेश सरकारमा लगानी माग गर्ने उनीहरुको योजना छ ।
‘फोहोरको दिगो व्यवस्थापन र त्यही फोहोरबाट आम्दानी लिन सकिने गरी काम गर्न साझा कार्यक्रम चाहिन्छ’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘साना लगानीले भन्दा ठूलो र एउटै लगानीले प्रतिफल पाउन सकिन्छ ।’ त्यसका लागि प्रशोधन केन्द्र बनाउने तयारीमा लागेको उनले बताए । जैमिनीले यसअघि नै उक्त निर्णय गरेर साझेदार पालिकाको खोजी गरेको थियो ।
मध्यपहाडी लोकमार्गलाई दु्रत बनाउन काठेखोलाको अक्षेतेदेखि गलकोटको नरेठाँटीसम्म सुरुङ निर्माणका लागि दक्ष प्राविधिक सहितको अध्ययन टोली झिकाउन साझा कार्यक्रम बनेको छ । यो मार्ग बनेमा झण्डै ३० किमी सडक छोटो हुनेछ । लोकमार्ग बागलुङमा मात्रै १४२ किमी लामो छ । केही वर्षदेखि रुकुम पश्चिम देखिका सवारीसाधन बागलुङ हुँदै पोखरा र काठमाडौंसम्म ग्ुड्न थालेका छन् ।
निर्माण सम्पन्न भएर पनि सडक मार्गको अभावमा बलेवा एयरपोर्ट संचालनमा आउन सकेको छैन । निर्माण सकिएको बसपार्क ठेकेदारले हस्तान्तरण नगर्दा प्रयोगमा आउन सकेको छैन । बसपार्क संचालनमा आएमा हरेक पालिकामा पुग्ने बस तथा जिपको रुट निर्धारणमा सहज हुनेछ ।
आलु उत्पादनमा अब्बल ताराखोला, बडिगाड, ढोरपाटन लगायतका पालिकाको साझा योजना भएमा भण्डारन केन्द्र निर्माण, बजारीकरण जस्ता काममा एउटै योजना बनाउन सकिने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । ‘भाँगोको व्यवसायिकीकरण र ब्राण्डीङ गर्न जरुरी छ, त्यसको लागि साझा कार्यक्रम चाहियो’ उनले भनिन्, ।
बागलुङमा संचालित मानवसेवा आश्रममा ६० बढी अनाथ मानिस आश्रीत छन् । त्यसको व्यवस्थापनका लागि सबै पालिकाले सानासाना लगानी गर्दा फरक पालिकामा बजेट गएको भन्दै बेरुजु आउने गरेको छ । त्यसका लागि बास्केट फन्टमार्फत काम गर्न पहल भएको छ ।
उस्तै प्रकृतिका योजनामा फरक फरक बेरुजु आएको भन्दै उनीहरुले समान कामका लागि समान खर्चको सिमा तय गर्ने बताएका छन् । समान शाखाका कर्मचारीको एकैपटक क्षमता बिकास तालिम संचालन गरेर खर्च घटाउने, बैदेशिक रोजागरीको कारण उत्पन्न समस्याकालागि पनि साझा योजना बनाएर जाने निर्णय समेत भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए ।





